सरकारलाई ताल्चा बुझाउने व्यवसायीको चेतावनी

सरकारलाई ताल्चा बुझाउने व्यवसायीको चेतावनी


  • विजय दमासे

म्यानपावर व्यवसायी आन्दोलित बनेका छन् । सरकारले आफूखुसी म्यानपावर व्यवसायीमाथि अनुगान गरेको, सरकार र व्यवसायी बिच भएको ३१ बुँदे कार्यान्वयनबाट सरकार पछिहटेको भन्दै म्यानपावर व्यवसायी आन्दोलित बनेका हुन ।

यसैक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज वैदेशिक रोजगार विभागमा धर्ना दिने जनाएको छ ।
संघले यसअघिनै विभागका महानिर्देशक विश्वराज पाण्डेलाई पत्र पठाउँदै धर्नाको जानकारी दिएको बताउँदै यथाशक्य माग पुरा नभए व्यवसाय बन्द गरि सरकारलाई ताल्चा चाबी बुझाउने व्यवसायीहरुले बताएका छन् ।

संघले महानिर्देशकलाई पठाएको पत्रमा श्रम तथा रोजगार मन्त्रालय र संघबीच २०७२ साउन ८ गते भएको ३१ बुँदे सहमति पालना नगरेको, सोही वर्ष जेठ २६ गतेको अव्यवहारिक निर्णय परिमार्जन नगरिएको र विभागका महानिर्देशकले विगत केही दिनदेखि पटक–पटक व्यवसाय र व्यवसायी विरोधी अभिव्यक्ति दिने क्रम यथावत राखेको उल्लेख छ ।

पत्रमा भनिएको छ– अव्यबहारिक निर्णयहरु संशोधन गराउन मन्त्रालयसँग छलफल भइरहेको अवस्थामा व्यवसायीहरुलाई अनुगमनको नाममा आतंकित बनाइरहेको प्रति संघले गम्भीर खेद प्रकट गर्दछ ।

त्यसैगरी, संघले महानिर्देशकबाट ईजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थाहरुको संंख्या धेरै भएको भन्दै व्यवसायीहरुको धरौटी बृद्धि गरी १ करोड बनाउनुपर्छ भनि विभिन्न सञ्चार माध्यमहरुमा अभिव्यक्ति दिएको भन्दै त्यसमा पनि आफ्नोे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले व्यवसायीहरुको धरौटी रकम २०६४ को ऐनमा व्यबस्था भए अनुरुप नगद ७ लाख र २३ लाखको बैंक ग्यारेन्टी यथावत हुनुपर्ने, यस अघि मन्त्रालयद्वारा गठित कार्यदलले पेश गरेको मस्यौंदा अनुसार ऐन संशोधन गरिनुपर्ने माग गरेको छ ।

संघले वैदेशिक रोजगार नियमावली २०६४ को नियम ६ को उपनियम (च), (छ) र (झ) तथा वैदेशिक रोजगार विभागको कार्य सञ्चालन निर्देशिकाको दफा १२ को उपदफा ७, ८ र ९ बमोजिमको प्रक्रिया पूरा गरेका आवेदकलाई मात्र नयाँ ईजाजतपत्र प्रदान गरिनुपर्ने लगायत माग राखेको छ ।

मन्त्रालयले २०७२ साउन ८ गते भएको ३१ बुँदे सहमति पालना नगरेको दावी गर्दै आएको संघले खाडीका ६ राष्ट्र र मलेसिया तथा अन्य मुलुकमा जाने कामदारहरुले दक्षिण एशियाली राष्ट्रहरुले अबलम्बन गरे बमोजिमको नीतिगत व्यबस्था अनुरुप रोजगारीमा जान पाउनुपर्ने लगायतका माग राखेको छ ।

संघले उल्लेखित समस्या समाधान नगरिएको खण्डमा चरणबद्धरुपमा कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी समेत दिएको छ । उता विभागका प्रवक्ता मोहन अधिकारीले व्यवसायीका जाहेज माग पुरा गर्न सरकार क्रियाशिल रहेको बताउँदै आन्दोलनको अर्थ नरहेको स्पष्ट पारे ।

त्यस्तै, निड म्यानपावरमा पनि छापा मारेको छ । राजधानीको बसुन्धरास्थित नीड इम्प्लोईमेन्ट सर्भिस प्रालिकी प्रतिनिधि सुमिना गुरुङले एक कामदारसँग १ लाख २० हजार असुल्दै गर्दा वैदेशिक रोजगार विभागले रंगेहात पक्राउ गरेको थियो ।