आचारसंहिता पालनामा सरकार प्रतिबद्ध : देउवा

आचारसंहिता पालनामा सरकार प्रतिबद्ध : देउवा


प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताका कारण सरकारलाई कुनै अप्ठेरो नपरेको स्पष्ट पार्दै कार्यान्वयनका निम्ति आफू प्रतिबद्ध रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीहरुसँग संंक्षिप्त कुराकानी गर्दै उनले सरकारलाई आवश्यक कामकाजमा कुनै अप्ठेरो पर्न गएमा निर्वाचन आयोगको सहमतिमा मात्र गरिने जानकारी गराए ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई सरकारले उल्लंघन नगरेको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले भने, ‘आचारसंहिता पालना गर्न सरकार प्रतिबद्ध रहेको छ ।’

संविधान संशोधनको सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले मुलुकको संविधान गतिशील रहेको र संसदीय निर्वाचनपछि संविधान संशोधनको सम्भावना प्रचुररुपमा रहेको उल्लेख गरे ।

नेपाल आयल निगमद्वारा जग्गा खरिदमा अनियमितता भएको भनिएको सम्बन्धमा उनले यस विषयमा छानबिन भइरहेको जानकारी गराए ।
नेपाली काँग्रेसको सभापतिसमेत रहनुभएका देउवासमक्ष पत्रकारको जिज्ञासामा उनले पार्टीको विधानअनुसार उपसभापति नियुक्ति चाँडै हुने स्पष्ट पारे ।

मन्त्रिमण्डल विस्तारको सम्बन्धमा प्रधानमन्त्री देउवाले आवश्यकताअनुसार नै मन्त्रिमण्डल विस्तार गरिएको बताए ।