‘प्रदेश नं. २ को निर्वाचन मधेशपक्षधर र मधेशविरोधीबीचको जनमत सङ्ग्रह’

‘प्रदेश नं. २ को निर्वाचन मधेशपक्षधर र मधेशविरोधीबीचको जनमत सङ्ग्रह’


हेमशंकर सिंह (राजविराज) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रिय प्रचारप्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले स्थानीय तह प्रदेश नं. २ को तेश्रो चरणको निर्वाचन मधेश पक्षधर र मधेशविरोधीबीचको जनमत संग्रह भएको बताएका छन् ।

प्रधानमन्त्री तथा केन्द्रीय नेताहरूको प्रदेश न. २ मा तय भएको कार्यक्रमबारे जानकारी दिने उद्देश्यले सप्तरीको राजविराजमा मंगलबार मिडिया सेन्टरले अयोजना गरेको पत्रकार सम्मेलनमा नेता लेखकले नेकपा एमालेप्रति लक्षित गर्दै तराई मधेशको विरोध गर्ने पक्ष र तराईको पक्षमा वकालत गर्ने नेपाली कांग्रेसबीचको जनमत संग्रहको रुपमा असोज २ गतेको निर्वाचन हुने दाबी गरे ।

मधेसको माग र एजेण्डालाई पुरा गर्ने कामको नेतृत्व कांग्रेसले गर्ने बताउँदै लेखकले अहिलेको राष्ट्रिय एजेण्डा भनेको संविधानलाई सर्वस्वीकार्य बनाउने र संविधान कार्यान्यवन गर्ने रहेकोमा जोड दिए । उनले भने, ‘तराई मधेशको माग समेट्न संविधान संशोधन हुन नदिने पार्टी नेकपा एमालेको पक्षमा मधेशी जनताले आफ्नो मत दिँदैनन् ।’ उनले संविधानमा तराई मधेशको भावना समेट्न नसकिएको स्वीकार्दै संविधानमा भएको त्रुटी सच्याउन नेपाली कांग्रेसले भविष्यमा पनि पहल गर्ने बताए ।

तराई–मधेशको भावना समेट्न नसकिएको संविधान संशोधनको प्रस्ताव असफल भए पनि तराई–मधेशको मुद्दा जिवितै रहेको लेखकले स्वीकार गरे । लेखकले भने– ‘तराईको आवाज भनेकै नेपाली कांग्रेस पार्टीको आवाज हो ।’

नेता लेखकले फास्ट ट्रयाक, हुलाकी राजमार्गको निर्माण कार्य नेपाली कांग्रेसकै सहकार्यमा सरकारले अगाडि बढाएको दाबी गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेपाली कांग्रेका केन्द्रीय पदाधिकारीहरु प्रदेश नम्बर २ मा निर्वाचनलाई आफ्नो पक्षमा पार्न विभिन्न स्थानमा राखिएको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी पनि सो अवसरमा लेखकले दिए ।