पचास लाखका थैली बोकेर राजपा अध्यक्ष मण्डली मधेशतिर

पचास लाखका थैली बोकेर राजपा अध्यक्ष मण्डली मधेशतिर


स्थानीय तह तेस्रो चरणको चुनावमा भाग लिएका राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरु ५० लाखका दरले भरिएका झोला बोकेर मधेश झरेका छन् । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरबाहेक प्रायः सबै प्रमुख नेताहरु मधेशतिर लागेका हुन् ।

प्राप्त समाचारअनुसार राजपा नेपालले चुनावी खर्चका लागि साढे तीन करोड जोहो गरेर मधेशतिर लागेका हुन् ।

‘बिनापैसा अध्यक्षज्यूहरु मधेश जाने कुरै भएन, सबै उम्मेदवारले आर्थिक सहयोगका लागि पर्खेर बसेका छन्’, श्रोतले भन्यो– ‘बल्ल आइतबार मध्यराति साढे तीन करोड कतैबाट प्राप्त भयो, त्यसमा रु. ५० लाख पार्टी कार्यलय खर्चका लागि छुट्याउँदै बाँकी रकमबाट ५० लाखका दरले सबै अध्यक्षहरु रकम लिएर चुनावी क्षेत्रमा लागेका हुन् ।’

श्रोतका अनुसार सबै अध्यक्षसँग उम्मेदवारहरुको लिष्ट रहेको छ, सबै उम्मेदवारको लिष्ट तयार गरेर आ–आफ्नो जिम्मा लिई आर्थिक बाँडफाँड गर्दै अध्यक्षज्यूहरु निर्वाचन क्षेत्रतिर लागेका छन्, आ–आफ्नो जिम्मेवारीअनुसार उम्मेदवारलाई उहाँहरुले चुनावी खर्च उपलब्ध गराउनुहुने छ ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक प्रायः सबै प्रमुख दलका शीर्ष नेताहरु चुनावी कार्यक्रम लिएर मधेशमा सक्रिय भइरहेका बेला राजपाका शीर्ष नेताहरूले भने काठमाडौं छाडेका थिएनन् । उनीहरुरूले बबरमहलस्थित पार्टी कार्यलयमै आफूलाई सीमित राखेपछि यसको चौतर्फी आलोचना भइरहेको थियो ।

तर आइतबार मध्यरातमा चुनावी खर्च जोहो भएपछि सोमबार दिनभर लगाएर उम्मेदवारी परेका स्थानहरु र जित्न सक्ने सम्भावना रहेका उम्मेदवारहरुको लिष्ट बनाई सबै तहकाको लागि अलग अलग हिसाबकिताब मिलाएर आ–आफ्ना जिम्मेवारीसहित अध्यक्षहरू मधेशतिर लागेका हुन् ।

यसअघि महेन्द्रराय यादव, राजकिशोर यादव, शरतसिंह भण्डारी र अनिलकुमार झालाई मधेश पठाइएको थियो भने पैसाको जोहो गर्ने जिम्मवोरीसहित महन्थ ठाकुर र राजेन्द्र महतो काठमाडौंमै बसेका थिए । श्रोतले भन्यो– ‘पैसाको जोहो भइसकेपछि महतो पनि आज मधेशतिर लागेका छन् ।’