मर्निङवाक गर्दै प्रचण्ड छिरे राजविराजका चियापसल

मर्निङवाक गर्दै प्रचण्ड छिरे राजविराजका चियापसल


हेमशंकर सिंह (राजविराज)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसभित्र अझै अहंकार र दम्भ कायम रहेको आरोप लगाएका छन् ।

प्रदेश नं.२ को स्थानीय तहको निर्वाचनको क्रममा सप्तरी आइपुगेका प्रचण्डले बुधबार राजविराजमा पत्रकार सम्मेलन गरी उक्त आरोप लगाएका हुन् ।

मधेशलाई कांग्रेसले अझ पनि आफ्नो पेवा ठान्छ र एक्लैै जित्छु भन्ने दम्भका कारण प्रदेश नम्बर २ मा माओवादी केन्द्रसँग तालमेल गर्न नचाहेको खुलासासमेत उनले गरे । कांग्रेसले अझ पनि मधेशलाई नोकर ठान्ने गरेको उनको धारणा छ ।

कांग्रेसलाई खातापिता पार्टीको संज्ञा दिँदै प्रचण्डले भने– चुनावी तालमेलका लागि मैले कांग्रेसका शीर्ष नेताहरू र मधेशी मूलका नेताहरुसँग पनि कुरा गरेँ तर आन्तरिक कचचिङ्गलका कारण तालमेल हुन सकेन ।

अन्य दलका नेताले जस्तै प्रचण्डले पनि मधेशको सच्चा हिमायती आफ्नो पार्टी मात्र रहेको दाबी गरे र भने– ‘माओवादीप्रति आकर्षण बढेकै कारण ठूलो संख्यामा मधेशी नेताहरुको प्रवेश हाम्रो पार्टीमा भइरहेको छ ।’

एकैदिन दश हजार भन्दा बढी मधेशीलाई मैले आफ्नो पार्टीमा प्रवेश गराएको जनाउँदै प्रचण्डले माओवादी केन्द्रप्रति मधेशीहरूको बढ्दो आस्थाको उदाहरण हो ।

आफू दश महिना प्रधानमन्त्री रहेका बेला मधेशलाई विश्वासमा लिन र जायज माग सम्बोधन गर्न धेरै मिहिनेत गरेको भन्दै प्रचण्डले मधेशी जनताको भावनाको सम्बोधन गर्नुका साथै मधेशी दलको असन्तुष्टि सम्बोधन गर्न र निर्वाचनमा ल्याउन ठूलो भूमिका निर्वाह गरेको दाबी समेत गरे ।

तराई, पहाड र हिमाललाई जोडेर राष्ट्रिय विकासलाई अगाडि बढाउन आफूले गरेको प्रयासको परिणाम राम्रो आएको ठोकुवा गर्दै प्रचण्डले मधेशी जनता आफूप्रति संवेदनशिल रहेको पाएको बताए । उनले सप्तरीदेखि पर्सासम्म घुम्दा प्रचण्ड नै मधेशीप्रति सबभन्दा बढी संवेदनशिल हो भन्ने अनुभुति मधेशी जनताले गरेको मैले पाएँ समेत भन्न भ्याए ।

सप्तरी सदरमुकाम राजविराजलाई सुन्दर र विकशित बनाउने आफ्नो पार्टीको योजना रहेकाले नगरपालिकाको नेतृत्व माओवादी केन्द्रको हातमा गए यहाँको विकासको लागि बजेट व्यवस्थापन गर्नुका साथै विकासको प्याकेज राजविराजलाई उपलब्ध गराउने आश्वासन समेत प्रचण्डले दिए ।

आफ्ना अभिव्यक्तिमार्फत् कांग्रेसको खोइरो उतारे पनि प्रचण्डले एमालेको भने प्रत्यक्ष–परोक्ष कुनै तवरले पनि विरोध गरेनन् । यसलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रचारप्रसारको क्रममा मंगलबार सप्तरी आइपुगेका प्रचण्डले हिजो बेलुका सप्तरीको कञ्चनपुर र रुपनगरमा चुनावी सभालाई सम्बोधन गरेका थिए । हिजै राति राजविराजमा प्रचण्डले मारवाडी समुदायसग अन्तरक्रिया गर्नुका साथै उनले त्यहीँ खाना खाएका थिए ।

बुधबार मर्निङवाकमा निस्केका प्रचण्डले स्थानीय वासिन्दासँग भेटघाटका साथै चिया पसलहरूमा छिरेर चिया–गफ गर्दै रमाएका थिए । प्रचण्डसँगै उनका पुत्र प्रकाश दाहाल पनि चुनाव प्रचार अभियानमा जुटेका छन् ।