सुशील कोइरालाले यिनलाई किन देखे सर्वाधिक खतरनाक ?

सुशील कोइरालाले यिनलाई किन देखे सर्वाधिक खतरनाक ?


नेपाली काङ्ग्रेसका तात्कालिक महामन्त्री महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधिलाई काङ्ग्रेसभित्र अत्यन्त खतरनाक व्यक्तिका रूपमा लिइन्छ भन्ने कुराको जानकारी सम्भवतः अन्य दलसम्बद्ध नेता तथा कार्यकर्तालाई छैन । वास्तवमा विमलेन्द्रलाई काङ्ग्रेसमा सबैले खतरनाक मानिसका रूपमा लिने गरेका छन् । सुशील कोइराला जीवित रहँदा उनी आफ्ना निकटवर्तीहरूसँग बारम्बार भन्ने गर्दथे, ‘हाम्रो पार्टीमा सबैभन्दा घातक व्यक्ति कोही छ भने त्यो विमलेन्द्र निधि हो । तपाईंहरू मेराअगाडि आएर केवल शेरबहादुरलाई यस्तो र उस्तो भन्ने गर्नुहुन्छ, विमलेन्द्रको तुलनामा शेरबहादुर केही पनि होइनन् । निधि धेरै खतरनाक मानिस हो, ऊसँग काङ्ग्रेसका हरेक व्यक्ति सचेत हुनुपर्छ ।’

यसरी सुशील कोइरालाले विमलेन्द्रका बारेमा बोलेका स्मरण काङ्ग्रेसका धेरै नेता तथा कार्यकर्तालाई हुनुपर्छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिमा मर्यादाक्रमको दशौँ स्थानमा (त्यो पनि कृपापूर्वक) राखिएका विमलेन्द्रलाई शेरबहादुर देउवाले आफू भारत भ्रमणमा जाँदा कार्यबाहक सभापतिको जिम्मेवारी सुम्पन्नुको कारण पनि निधि कति खतरनाक व्यक्ति हुन् भन्ने बुझेर नै हुनुपर्छ भन्ने अर्थसमेत कतिपयले लगाएका छन् ।

षड्यन्त्र गर्न सक्ने क्षमतामा अब्बल मानिएका निधि, जस्तो परिणाम हासिल गर्नुपर्ने हो त्यसको ठीक विपरीत धु्रवमा उभिएर आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्ने क्षमता राख्छन् । गृहमन्त्री हुँदा निधिबाट भएका दुई घटना–सन्दर्भलाई उदाहरण बनाएर हेर्दा पनि उनी कति खतरनाक व्यक्ति हुन् त्यसको अनुमान गर्न सकिन्छ । जतिबेला शेरबहादुर देउवा जयबहादुर चन्दलाई प्रहरी महनिरीक्षक बनाउन कस्सिएका थिए, त्यतिबेला विमलेन्द्र निधिचाहिँ नवराज सिलवालको पक्षमा दृढतापूर्वक उभिएको देखिन्थ्यो । आईजीपी नियुक्तिकै विषयलाई लिएर उत्पन्न विवादमा देउवा र निधिबीचको सम्बन्ध टुटेको अर्थसमेत लगाइन्थ्यो ।

त्यसबेला देउवा र निधिबीच देखिएको विवाद वास्तवमा उनीहरूले सहमतिमा खेलेको नाटक मात्र रहेछ भन्ने त्यतिबेला पुष्टि भयो जब देउवाले भारत जाने समयमा निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिए । नवराज सिलवाल र उनलाई आईजीपी बनाइनुपर्छ भन्ने पक्षलाई भ्रम दिनका लागि मात्र देउवा र निधि भिन्नभिन्न भूमिकामा देखापरेको अब छर्लङ्ग भएको छ ।

त्यस्तै, लोकमानसिंह कार्कीविरुद्ध शेरबहादुर देउवा, प्रचण्ड र केपी ओलीको संयुक्त अभियान चलेका बेला पनि निधि लोकमानको पक्षमा देखापरेका थिए । लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखबाट हटाउन आरजु राणा र शेरबहादुर देउवा भित्रभित्रै सक्रिय भइरहँदा विमलेन्द्र निधिचाहिँ लोकमानको पक्षमा देखापर्नु आफैँमा आश्चर्यको विषय थियो । लोकमानको विस्थापनपछि उनको पक्षमा एक शब्द खर्च नगर्नु र लोकमानलाई हटाउन न्वारानदेखिको बल लगाउनेहरूसँग ‘अदभूत मित्रता’ यथावत् रहनुले लोकमानको पक्षमा निधिले दिएको अभिव्यक्ति पनि एउटा नाटक मात्र भएको पुष्टि गर्दछ ।

महाभारतको लडाइँपछि आशीर्वाद दिने शैलीमा प्रस्तुत भएर घृतराष्ट्रले पाण्डव दाजुभाइलाई भष्म गर्ने दाउपेच गरेजस्तै निधि पनि जसलाई सिध्याउनुपर्ने हो उसैको पक्ष लिएजस्तो गर्ने क्षमता राख्दा रहेछन् भन्ने घटनाक्रमले सिद्ध गरेको छ । निधि जुन देशसँग सम्बन्धित मानिन्छन्, सो देशको भूमिका र दृष्टिकोणबारे भ्रम दिनका लागि विमलेन्द्र ‘यस रूपमा’ प्रस्तुत भएका हुन् या आफ्नो पक्षमा परिणाम हासिल गर्न जस्तोसुकै भूमिका निर्वाह गर्ने वंशाणुगत क्षमतालाई प्रयोगमा ल्याउँदा उनी यसरी भयानक खतरनाक देखिन पुगेका हुन् खुल्न बाँकी छ । तर, जानकारहरूले भने निधिको वंशाणुगत क्षमतालाई उनका ‘मालिक’हरूले उपयोग गरेको ठानेका छन् ।