‘चीन भन्छ भारतसँग सम्बन्ध राख्नुपर्छ’ : ज्ञवाली

‘चीन भन्छ भारतसँग सम्बन्ध राख्नुपर्छ’ : ज्ञवाली


– हेमशंकर सिंह (राजविराज)

स्थानीय निकायको चुनाव नजिकिँदै जाँदा नेकपा एमालेका नेताहरू पनि प्रदेश नम्बर २ मा झर्न थालेका छन् । सप्तरीमा चुनावी अभियान अघि बढाउन स्थायी कमिटी सदस्य प्रदिप ज्ञवालीसहित उच्च तहका एमाले नेताहरू आइपुगेका छन् ।

सप्तरीमा पार्टीको अवस्था बारे जिल्लाका केन्द्रिय, प्रादेशिक तथा जिल्लास्तरीय नेताहरूसँग जानकारी लिनुका साथै बौद्धिक विभिन्न समुहसँगको अन्तरक्रियालाई एमाले नेताहरूले तीव्रता दिएका छन् ।

अन्तरक्रियाका क्रममा सप्तरीका बुद्धिजीवीहरूले फागुन २३ गते मेची–महाकाली अभियानका दौरान मलेठमा भएको घटनाको निष्पक्ष छानविन गराउन पार्टीले बल लगाउन नसकेको कारण अहिले बदनामी व्यहोर्नु परेको गुनासो पोखे । नेपाल बुद्धिजीवी परिषद सप्तरीले बुधबार राजविराजमा आयोजना गरेको ‘बुद्धिजीवी परिषदको आह्वान सुर्यमा मतदान किन ?’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरूले त्यस्तो गुनासो पोखका हुन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सचिव प्रदिप ज्ञवालीले वर्तमान सरकारले प्रदेश नं. २ को जनतासँग दोश्रो दर्जाको व्यवहार गरिरहेको बताए । २ नं. प्रदेशको निर्वाचनलाई पर सारेर सरकारले २ नं. प्रदेशका जनतासँग दोश्रो दर्जाको व्यवहार गर्न खोजेको भन्दै ज्ञवालीले हिजो यस प्रदेशलाई हिंसाको थलोको रुपमा प्रयोग गर्नेहरू पछि जातीय र अहिले आएर पहाड–मधेशबीच खाडल खन्ने थलोको रुपमा प्रयोग गनै उद्यत रहेको आरोप लगाए । नेपालको विविधता नै राष्ट्रिय सम्पदा भए पनि देशलाई जातीयतामा विभाजित गर्न खोजिएको उनको दाबी थियो ।

राष्ट्रिय राजनीतिमा २ नं. प्रदेशको ठूलो महत्व रहेकोमा जोड दिँदै ज्ञवालीले राष्ट्रिय राजनीतिको शक्ति सन्तुलनलाई २ नं. प्रदेशले प्रभावित पार्न सक्ने बताए । अहिले भइरहेको चुनावमा को जित्छ भन्दा पनि देशको राजनीतिक मुद्दाका लागि निर्वाचनलाई जनमत संग्रहको रुपमा एमालेले हेरेको तर्क उनले गरे ।

३५ वर्षको अवधिमा छिमेकी चीनले अकल्पनीय विकास गरेर विश्वलाई चकित पार्दा हामीकहाँ भने बहुदल आएको २७ बर्ष बित्दा समेत राजनीतिक अस्थिरता कायम रहि पछि परेकोमा उनले दुःखेसो गरे । राजनीतिक अस्थिरताका कारण देशले विकासको मुहार फेर्न नसकेको भन्दै उनले नेपालको विकासको लागि भारत र चीन दुवैको सहयोग आवश्यक रहेको तर्क गरे ।

एमालेको राष्ट्रियताको बारेमा अनावश्यक र नकारात्मक भ्रम फैलाइएको प्रस्ट्याउँदै नेता ज्ञवालीले भने– ‘एमाले दुवैदेशसँग समान सम्बन्ध राख्न चाहन्छ ।’ भारतसँग धेरै नजिकको साइनो रहेको र यो सम्बन्धलाई तोडेर पनि टुटाउन नसकेको भन्दै ज्ञवालीले सबै आन्दोलनमा भारतको सहयोग छ, त्यसका लागि हामी आभारी छौं तर हामी सार्वभौम राष्ट्र हौँ, हाम्रो आन्तरिक मामिलामा भारतले हस्तक्षेप नगरोस् भन्ने आग्रह गरे ।

भारतसँग सम्बन्ध राख्दा चीनले र चीनसँग सम्बन्ध राख्दा भारतले अन्यथा लिन नहुने भन्दै उनले भने– ‘हामीले चीनलाई पनि भनेका छौँ कि हामी भारतसँग सम्बन्ध राख्छौँ, त्यसमा चिनियाँ पक्ष सहमत मात्र होइन भारतसँग सम्बन्ध राख्नुपर्छ भन्ने सुझाव समेत दिइएको छ ।’

मधेशको विकास र समृद्धि अबको राष्ट्रिय एजेन्डा बन्नुपर्नेमा जोड दिँदै ज्ञवालीले सामाजिक सद्भाव राष्ट्रियता, आर्थिक विकास र समृद्धिको बहसको एजेन्डालाई पार्टीले अघि बढाएको जानकारी दिए । तराईमा एमालेविरुद्ध फैलाउन खोजिएको भ्रमको तुवाँलो प्रदेश नं. ५ को परिणामले दिएको भन्दै उनले भने– ‘हामीलाई मधेशी र थारुविरोधि भनियो, तर त्रियुगा, दाङ, इटहरी जस्ता ठाउँमा पनि हामीले थारुलाई पनि मेयर बनायौं ।’

सो कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका स्थायी कमिटी सदस्य भीम आचार्यले संविधान संशोधनको मुद्दा मधेशी जनताको माग नभई विदेशी नागरिकलाई नागरिकता दिएर रातारात राष्ट्रपति बनाउने खेलअन्तर्गत आएको दाबी गरे । उनले भने– ‘वैवहिक अंगिकृत नागरिकलाई देशको संवैधानिक पदमा पु¥याउनुपर्ने व्यवस्था गर्ने हो भने भोली युपी, बिहारबाट आउने मधेशी होस् वा सिक्कीम दार्जिलिङबाट आउने बाहुन क्षेत्री, उनीहरुले देशको प्रमुख स्थान ओगट्न पुग्नेछ ।’ एमालेलाई बदनाम गर्न सप्तरीको मलेठमा तत्कालीन सरकार र अहिलेको राजापा मिलेर घटना गराएको आरोप समेत उनले लगाए ।

नेपाल बुद्धिजीवी परिषद सप्तरीका कार्यवाहक अध्यक्ष भुपेन्द्रनारायण मण्डलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा परिषदका केन्द्रिय सदस्य नथुनी दास, राजविराज नगरपालिकाका मेयरका उम्मेदवार सुखराम यादव र उपमेयरकी उम्मेदवार ममता चौधरी लगायतले एमाले विरुद्ध फिजाइएको भ्रम जनताले आफ्नो मत मार्फत चिर्ने दाबी गरे ।