एमालेले हलो अड्कायो, झगडा चर्कायो : देउवा

एमालेले हलो अड्कायो, झगडा चर्कायो : देउवा


‘आफूलाई मधेशवादी भन्नेहरू झगडा गर्न व्यस्त छन् । आफै झगडा गर्नेहरू मधेशवादी हुन सक्दैनन् ।’ यो भनाई हो प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको । प्रदेश नम्बर २ का मतदाता रिझाउन मधेस झरेका देउवा हिजो बुधबार नेपाली काङ्ग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै थिए । काङ्ग्रेसलाई ‘एक नम्बर पार्टी’ बनाउने अभियानमा होमिएको दाबी गर्दै आएका देउवाले भने– ‘मधेशको पक्षमा संघर्ष गर्ने पार्टी कांङ्ग्रेस मात्रै भएकोले जनताको अधिकार प्राप्त गर्न र विकासको लक्ष्य हासिल गर्न नेपाली काङ्ग्रेसलाई जिताउन आवश्यक छ ।’

‘मधेशलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन नभई हुन्न, संविधान संशोधनको प्रयास काङ्ग्रेसले बाहेक अरुले मन लगाएर गरेकै छैनन्’– देउवाको दाबी थियो । काङ्ग्रेसले मधेशको भावनाअनुसार समस्या समाधान गर्न चाहे पनि एमालेले अल्झाउने काम मात्र गरेको आरोप उनले लगाए । मधेशको भावनाअनुसार आफूहरूले संविधान संशोधनको प्रयास गरे पनि एमालेले हलो अडकाउँदा सफल हुन नसकेको पुरानै रपट उनले लगाए । एमालेले मुलुकमा मधेशी र पहाडीबीच झगडा लगाउने षयडयन्त्र गरेको भन्न समेत देउवा हिच्किचाएनन् ।

सो आमसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि नेपाली कांग्रेसको स्थापनाकालदेखि लोकतान्त्रिक आन्दोलनलाई साथ दिँदै आएको तराई र मधेश कहिल्यै कम्युनिष्ट तानाशाहीको पक्षमा जाने कल्पना समेत गर्न नसकिने दाबी गरे । उनले पनि संविधान संशोधनको प्रयास एमालेलगायतका केही दलले सफल हुन नदिएको आरोप लगाए ।

यस्तै, कांग्रेस महामन्त्री शंशाक कोइरालाले नेपाली कांग्रेस विजयी भए मात्रै अधिकार र विकासले सम्पन्न हुने मधेशको परिकल्पना पूरा हुने बताए भने कोषाध्यक्ष सितादेवी यादवले एमालेले मधेशवासीलाई विदेशीको जस्तो व्यवहार गरेको गुनासो गरिन् ।

नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा, विमलेन्द्र निधि, कृष्ण सिटौला, मन्त्री महेन्द्र यादव, मनत्री रामकृष्ण यादव, नेता प्रदिप गिरी, सांसद प्रेमकिशोर साह, लिला कोइराला, नेता बालकृष्ण खाँड, जनकपुर उपमहानगरपालिकाका मेयर पदका कांग्रेस उम्मेदवार मनोजकुमार साहलगायतले कांग्रेसको पक्षमा मत मागेका थिए ।