– हेमशंकर सिंह
राजविराज । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मधेशको मुद्दा हल गर्नका लागि राज्य पुनःसंरचना आयोगले प्रस्ताव गरेको मोडेलअनुसार प्रदेशहरुको सीमांकन गरिनुपर्ने बताउनुभएको छ । उहाँले मधेशको राजनीतिलाई स्थापित गर्नका लागि आर्थिक विकास र समृद्धिको एजेण्डालाई पनि सँगसँगै लैजानुपर्नेमा समेत जोड दिनुभएको छ ।
आगामी असोज २ गते हुन गइरहेको प्रदेश नं. २ को स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि सप्तरी आइपुग्नु भएका भट्टराईले विहिबार सप्तरीको राजविराजमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले नयाँ शक्ति पार्टीले तराई मधेशका सबै समस्याहरुको हल गरी हिमाल, पहाड, तराई, मधेशलाई जोड्ने राष्ट्रिय एकताको अवधारणा अघि सारेको बताउँदै देशको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
‘अब हामी मधेशवादी र पहाडवादी भएर हुँदैन’ उहाँले भन्नुभयो– ‘अब देशको विकास र समृद्धिका लागि राष्ट्रिय एकता कायम गर्ने इन्द्रधनुषी राष्ट्रवादको प्रवद्र्धन गर्नुपर्छ ।’
नेपालको राजनीति भ्रष्टाचारको दलदलमा फसेको र पुरानै पार्टीहरु सत्तामा फर्किन सक्ने संभावनाको आंकलन गर्दै नयाँ शक्तिले आन्तरिक रुपमा राष्ट्रिय एकता बलियो बनाई बाह्य रुपमा भारत र चीनसँगको सम्बन्धलाई समदूरीमा राख्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
त्यस्तै नयाँ शक्ति पार्टी सप्तरीले बिहीबार बिहान राजविराज नगरपालिकाको वडा नं. ७ मा पैदलयात्रासहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संयोजक भट्टराई, कार्यबाहक जिल्ला संयोजक राजेश विद्रोही, राजविराज नगरपालिका मेयर पदका उम्मेदवार मिना ठाकुर, उपमेयर पदका उम्मेदवार अनन्न लाल साह (आनन्द), कृष्णकुमार गुप्ता,सैलेन्द्र कुमार झा, सूर्य नारायण मण्डल लगायतकाहरुको सहभागिता रहेको थियो । घरदैलो पश्चात् संयोजक भटराईले राजविराजको गजेन्द्र चोकस्थित मधेशका लोकतन्त्रबादी नेता स्व. गजेन्द्र नारायण सिंहको सालिकमा माल्यार्पण गर्नुभयो ।
यसैबिच बुधबार संयोजक भट्टराईसहित नयाँ शक्ति पार्टी संसदीय दलका नेता गंगा चौधरी, सांस्कृतिक विभाग प्रमुख करिष्मा मानन्धर, सप्तरीका कार्यबाहक जिल्ला संयोजक राजेश विद्रोहीलगायतको टोलीले सप्तरीको खडक नगरपालिका, कृष्णसावरन गाउँपालिका एवं छिन्नमस्ता गाउँपालिकाका विभिन्न स्थानहरुमा आयोजित चुनावी कार्यक्रममा सहभागिता जनाएका थिए ।
जिल्लाका विभिन्न स्थानहरुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संयोजक भट्टराईले तराई मधेशको अविकास र अव्यवस्थामा पुराना दलहरुको भ्रष्ट र सत्तामुखी चरित्र जिम्मेवार रहेको भन्दै त्यसको विकल्पको रुपमा नयाँ शक्ति खडा भएको बताउनुभयो ।
उहाँले नेपालमा दुई थरी अतिवादी सोंच रहेको भन्दै एकले मधेशलाई देश नै नठान्ने र अर्कोले मधेशलाई अर्को देश ठान्ने दुवै अतिवादी सोच गलत भएको बताउनुभयो । नेपाल जातीय, भाषिक, धार्मिक, सांस्कृतिक एवं क्षेत्रीय विविधतायुक्त देश भएकोले जातीय रुपमा ३ मुख्य क्लस्टरको प्रतिनिधित्व गर्ने समुदाय र महिला, दलित, मुस्लिम तथा अल्पसंख्यकहरुलाई विशेष अधिकार दिएर सबैलाई बराबरी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया