अन्ततः मौनअवधि सुरु हुनुअघि केपी ओली मधेस जाने

अन्ततः मौनअवधि सुरु हुनुअघि केपी ओली मधेस जाने


सबै दलका प्राय सबै शिर्ष नेताहरु यतिबेला मधेश केन्द्रित भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले पनि मधेश जाने निर्णय गरेको छ । उनीमात्र अहिलेसम्म मधेश चुनावी कार्यक्रम लिएर मधेश नगएको भन्दै राजनीतिक बृतमा उनको निकै चर्चा भइरहेको थियो ।

केपी ओली अन्ततः २ नं प्रदेशको चुनावमा भोट माग्न महोत्तरीको बर्दिबास जान लागेका हुन् ।  ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार अध्यक्ष ओली शुक्रबार दिउँसो बर्दिवास जान लागेका हुन् । ओलीले शुक्रबारै बर्दिवासमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

मधेश आन्दोलनको समयमा ओलीले बोलेका केहि विवादास्पद शब्दहरुले अहिलेपनि मधेशका मतदाता ओलीप्रति सकारात्मक नरहेको एमालेको बुझाइ छ ।  ओलीबाहेक एमालेका अन्य नेताहरु २ नम्बर चप्रदेशको चुनाव प्रचारमा खटिरहेका छन् । नेता माधबकुमार नेपाल, महासचिव ईश्वर पोख्रेल,सचिव योगेश भट्राई, पृथ्वीसुब्बा गुरुङ लगाएतका नेताहरु चुनाव प्रचारप्रसारमा लामो समयदेखि खटिएका छन् ।

बर्दिबास नगरपालिकामा एमालेका तर्फबाट सुरेश बहादुर रावत मेयरका उम्मेदवार बनेका छन् । राउत नायिका बर्षा राउतका बुबा हुन् । अन्य दलका प्रमुख नेताहरु दुई नं प्रदेशको चुनावमा खटिरहेका समयमा ओली भने राजधानीमा व्यस्त बनेपनि मौनवधि सुरु हुनुभन्दा केही घण्टा अघि बर्दिवास जान लगेका हुन् ।

बर्दिबास नगरकमिटीका सचिव गुन्जबहादुर खडकाले जिल्ला र प्रदेशसँग सल्लाह गरेर बर्दिबास नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओलीलाई बोलाएको बताए ।  उनले सभामा १० हजार बढि मानिस उर्ताने तयारी भएको पनि बताए ।

ओली मधेश नजानुमा एमालेभित्रकै नेताहरुको फरक फरक धारणा आएको छ । ओली पक्षका नेताहरु ठूला आमसभा नहुने भएकाले नबोलाएको बताउँछन् भने माधवकुमार नेपाल पक्षधर नेताहरु ओलीका कारण बिग्रेको मधेशको माहोल बल्लबल्ल सहज बनेकाले पुन विवाद नआवस भनेर ओली नबोलाएको बताउँछन् ।