एबरडिन (स्कटल्याण्ड) । हिजो, स्कटल्याण्डका नेपाली समुदायले चर्चित गायकद्वय दीप श्रेष्ठ र नवीन के. भट्टराईलाई सम्मान गरेको छ । अर्गनाइजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयर -ओएनसीडब्लू) स्कटल्याण्डले आयोजना गरेको “फ्युजन २०१२” सांगीतिक कार्यक्रममा गायकद्वय श्रेष्ठ र भट्टराईलाई स्कटिश टाटन गलबन्दी पहिराइदिएर सम्मान गरिएको थियो ।
सो कार्यक्रममा गायक दीप श्रेष्ठले “कति कमजोर रहेछ भाग्य”, “हर रात सपनीमा”, “बितेका कुराले”, “साइली बरै चियाबारीमा”, “मेरो आँखामा भरदिन”, “म त दूरदेखि आएँ” लगायत सन् १९६९ देखि २००० सम्मका आफ्ना चर्चित गीतहरु गाएका थिए । त्यस्तै अर्का गायक नवीन के. भट्टराईले “साँझ पख”, “रात बित्यो हेर”, “आँखामा तिमीलाई”, “सम्झना तिम्रो मीठो छ”, “सायद तिमी नै हौ”, “तिमीलाई मन पराउँछु” जस्ता चर्चित गीतहरुले दर्शकलाई मन्त्रमुग्ध पारेका थिए । दुवै गायकहरुलाई वाद्यवाद्यकहरु सुनील राई र अजय राईले साथ दिएका थिए । गायक श्रेष्ठले स्कटल्याण्डका नेपाली दर्शकहरुको सम्मानले प्रभावित भएको बताउँदै भविष्यमा एकल सांगीतिक कार्यक्रम गर्न चाहेको बताएकाथिए ।
कार्यक्रममा सहभागी हुन दुई तीन घण्टा टाढाको यात्रा दुरी रहेका ठाउँहरु इन्भरनेस, डण्डीबाट समेत नेपालीहरु समूह बनाएर आएका थिए । कार्यक्रमस्थल स्थानीय तीनतारे होटल समरहिलको हल खचाखच भरिएको थियो । गायक नवीन के भट्टराईका बुढानीलकण्ठ स्कूलका सहपाठी डा. चन्द्र पौडेलले कार्यक्रम ऐतिहासिक रहेको प्रतिक्रिया दिए । करिब १०३ किलोमिटर टाढा डण्डीबाट कार्यक्रम हेर्न आएकी सिर्जना देवकोटाले आफ्ना प्रिय गायकको गीत प्रत्यक्ष सुन्न पाउँदा निकै खुशी लागेको बताइन् । यस्तै नेपाल स्कटल्याण्ड फ्रेण्डशीप सोसाइटीका अध्यक्ष ब्रुस एण्डरसनले नेपालका चर्चित गायकहरुको सांगीतिक कार्यक्रम निकै उत्कृष्ट रहेको प्रतिक्रिया दिए ।
बेलायतको लण्डन लगायतका शहरहरुमा नेपाली गीत संगीतका कार्यक्रमहरु प्रशस्त हुने गरे पनि स्कटल्याण्डमा भने कमै मात्रामा हुने गरेको छ । गत वर्ष स्थापना भएको अर्गनाइजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयर (ओएनसीडब्लू) यस अवधिमा नेपाली कलाकारहरु सम्मिलित चारवटा सांगीतिक कार्यक्रमहरु गरिसकेको छ भने स्थानीय स्कटिश समुदायसँग मिलेर नेपाली गीत संगीत र संस्कृतिको उन्नयनमा क्रियाशीलरुपमा लागिरहेको छ । -भाष्कर अर्याल, मेस
प्रतिक्रिया