बंशज नागरिकले मात्र राष्ट्रपति बन्न पाउने, बराबर मत ल्याए गोलाप्रथा

बंशज नागरिकले मात्र राष्ट्रपति बन्न पाउने, बराबर मत ल्याए गोलाप्रथा


राष्ट्रपति बन्न दुई तहका संसदको कम्तिमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था सहितको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धी बिधेयक संसदमा दर्ता भएको छ । विधेयकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कुल मत ५२ हजार ७८६ निर्धारण गरिएको छ ।

यो हिसाब प्रदेश संसद र संघीय संसदका कुल सांसदहरुको संख्या र उनीहरुको मतभार गणना गरेर निकालिएको हो । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिइएको छ ।

सरकारले बिहीबार दर्ता गरेको उक्त विधेयकमा संघीय संसद र प्रदेश सभा सदस्यहरुको बहुमत पाउनुपर्ने उल्लेख छ । यदि तीनजना उम्मेदवार भएर कसैको पनि ५० प्रतिशत मत नपुगेमा बढी मत पाउने दुईजनाबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

यदि दुई उम्मेदवारले बराबर मत पाएमा भने गोलाप्रथाबाट राष्ट्रपति चुन्ने व्यवस्था विधेयकमा छ ।प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ सदस्य गरी कुल ३३४ सदस्यीय संघीय संसदका प्रत्येक सदस्यको मत ७९ हुन्छ । सो ७९ मतभारलाई कुल सदस्य संख्या ३३४ सँग गुणन गर्दा आउने योगफल २६ हजार ३८६ हुन्छ ।

त्यस्तै प्रदेश सभा सदस्यको मतभार ४८ र कुल सदस्य संख्या ५५० गुणन गर्दा २६ हजार चार सय योगफल हुन आउँछ । यी दुवै योगफल जोडेर आउने ५२ हजार ७८६ मत नै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा गणना हुने मत हो ।

राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पुगेको हुनपर्ने विधेयकमा प्रस्ताव छ । त्यस्तै राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायको हुनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न देशभरका कुनै पनि नगरपालिका वा गाउँपालिकाको मतदाता नामावलीमा नाम समावेश हुनुपर्नेछ । तर संघीय संसद वा प्रदेश सभाको सदस्य भने नभए पनि हुनेछ ।

अंगीकृत नागरिकले राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेवार बन्न नपाउने संवैधानिक प्रावधान नै विधेयकमा राखिएको छ । उम्मेदवार बन्नका लागि वंशजको नागरिक पनि हुनुपर्नेछ ।