स्वतन्त्र तराईको नाउँमा मुलुक पुनः अस्थिर बन्ने खतरा

स्वतन्त्र तराईको नाउँमा मुलुक पुनः अस्थिर बन्ने खतरा


आफूलाई जनतान्त्रिक तराई मुक्ति मोर्चाको अध्यक्ष एवम् सर्वोच्च सैन्य कमाण्डर दाबीका साथ भूमिगत गतिविधि गर्दै आएका ज्वाला सिंहले पूर्व मेचिदेखि पश्चिम महाकाली र पूर्व महाभारतको श्रृङ्खलादेखि दक्षिण भारतको सीमासम्मको समतल भूभाग स्वतन्त्र रहेको दाबी गरेका छन् ।

निकै समयदेखि चुपचाप रहेका ज्वाला सिंह नयाँ संविधानअन्तर्गत भइरहेका निर्वाचनमार्फत् देश स्थिरताको दिशामा गइरहेको अनुभूति गरिँदै गर्दा अचानक अराजक अभिव्यक्तिका साथ प्रकट भएका हुन् ।

यही भदौ २३ गते (विज्ञप्तिमा ‘२३-६-२०७४’ लेखिएको) एक विज्ञप्ति जारी गर्दै उनले दाबी गरेअनुसार स्वतन्त्र तराईको एकाधिकार तराईका मधेसी तथा थारुलगायत तराईमा बसिरहेका मुलवासी मधेसीमा निहित छ ।

उनले विज्ञप्तिमा अगाडि भनेका भनेका छन्– ‘तराइविरोधि एवम् जातीवादी, भ्रष्टाचारी, पहाडिया वंशवादी र पहाडियाका संरक्षकहरूले तराईका जनताको प्यारो एवम् गौरवशाली मोर्चा जनतान्त्रिक तराई मुक्ति मोर्चालाई कमजोर पारेर तराईको जनताको अधिकारलाई पूर्ण रूपले वञ्चित गरिदिने सोचमा रहेको छ ।’

यसैगरी अगाडि भनिएको छ– ‘मोर्चा सैद्धान्तिक रूपले स्वतन्त्र तराई अलग देश निर्माणको पक्षधर थियो र छ । अब संसारका कुनै पनि शक्तिले हाम्रो मोर्चालाई डगाउन सक्दैन । किनभने अब हामी मित्र र दुश्मनको पहिचान गरिसकेका छौँ । पहाडिया दुश्मनले हामी मधेसी र थारुलाई प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्ने काम मात्र गरे ।’

ज्वाला सिंहले मधेसीको पक्षमा संविधान नबनेको आरोप लगाउँदै अहिलेसम्मको गतिविधि तराईको पक्षमा नभएकोले तराईमा ‘सेना’को गठन कार्यलाई तीव्रताका साथ अघि बढाइने चेतावनी दिएका छन् । ‘आफ्नो सेना गठन गरेर तराईका मुलवासीका दुश्मन पहाडियालाई स्वतन्त्र तराईबाट लखेटेर पुनः तराईको मूल सत्ता स्थापना गर्न’ भन्दै उनले उग्र र अराजक शब्द प्रयोग गरेका छन् ।

अझ गम्भीर एवम् विचारणीय कुरा के छ भने यसअघि तराईभूमिबाट विरोध या विद्रोहको आवाज उठाउने व्यक्ति, समूह, मोर्चा या दलविशेषले प्रयोग गर्दै आएको ‘मधेस’ र ‘मधेसी’ शब्दको साटो ज्वाला सिंहले ‘तराई’ ‘तराईवासी’ शब्द प्रयोग गरेका छन् । यसको तात्पर्य मेचिदेखि महाकालीसम्मको तराईको समग्र भूभागलाई गोलबन्द गरी विद्रोह चर्काउन लागिएको प्रतीत हुन्छ । माओवादी द्वन्द्वबाट थिल्थिलिएर विस्तारै बौरिने क्रममा रहेको ठानिएको परिवेशमा पुनः अर्को द्वन्द्वले टाउको उठाउन लागेको सङ्केतका रूपमा यसलाई लिन सकिने राजनीतिक विश्लेषकहरूको भनाई छ ।