ऊर्जा क्षेत्रको पारस्परिक सहयोगसम्बन्धी चीनसँग सम्झौता

ऊर्जा क्षेत्रको पारस्परिक सहयोगसम्बन्धी चीनसँग सम्झौता


नेपाल र चीनबीच ऊर्जा क्षेत्रको पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको नेपाल सरकारले जनाएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको सय दिन पुगेको अवसरमा काठमाडौंमा आज बिहिबारआयोजना गरिएको पत्रकार सम्मेलनमा ऊर्जा क्षेत्रको विस्तृत विकास र विकासका लागि चीन सरकारसँग समझदारीपत्रमा हस्ताक्षर भएको बताइएको हो ।

उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको केही दिनअघि सम्पन्न चीन भ्रमणका समयमै उक्त समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सो समझदारीपत्र अनुसार नेपाल र चीनबीच अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा नेपालको जलविद्युत् क्षेत्रमा थप लगानी भित्रने विश्वास सरकारले लिएको राससले जनाएको छ ।

मुलुकका विभिन्न नदी जलाधार क्षेत्रमा अध्ययन गर्नसमेत उक्त समझदारीपत्रमा भएको हस्ताक्षरपछि मार्गप्रशस्त भएको उल्लेख गर्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सम्झौता नेपालको सन्दर्भमा महत्वपूर्ण भएको बताए ।

यस्तै विद्युत् उत्पादन कम्पनीले आयोजना विकासका लागि किमाथांका अरुण, जगदूल्ला, फूकोट कर्णाली लगायतका विद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढाएको समेत सो अवसरमा जानकारी दिइयो भने प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा रक्सौल–परवानीपुर र कुशाहा–कटैया १३२ केभी क्षमताको प्रसारण लाइनको संयुक्तरुपमा उद्घाटन भएको समेत सरकारको १०० दिनको प्रगतिमा समेटिएको छ ।

ती दुवै प्रसारण लाइनबाट थप ५०÷५० मेगावाट विद्युत् आयात गर्न सकिने र आगामी हिउँदमा हुनसक्ने विद्युत्को उच्च मागलाई सम्बोधन गर्न सकिने सरकारको विश्वास लिइएको छ ।

ती प्रसारण लाइन विगत छ महिना पहिल्यै निर्माण भएको भए पनि भारतसँग सम्झौता नहुँदा विद्युत् आयात गर्न सकिएको थिएन ।