प्रदेश नं २ जितेर देशकै पहिलो बन्ने दाबी

प्रदेश नं २ जितेर देशकै पहिलो बन्ने दाबी


नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचारप्रसार समन्वय समितिका संयोजक रमेश लेखकले यही असोज २ गते प्रदेश नं २ का जिल्लाहरूमा हुने स्थानीय तहको निर्वाचनमा कम्तिमा सय तह जित्ने दाबी दोहो¥याएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय समितिले बिहिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो दाबी गरेका हुन् ।

यही असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा स्थानीय निर्वाचन हुँदैछ । जसमा एक महानगरपालिका (वीरगञ्ज महानगरपालिका), तीन उपमहानगरपालिका (कलैया,जीतपुर–सिमरा र जनकपुर), ६९ नगरपालिका र ६३ गाँउपालिकामा रहेका छन् ।

नेपाली कांग्रेसले स्थानीय स्तरमा तीन स्थानीय तह (गौर, मिथिला र निजगढ नगरपालिका)मा प्रमुख र उपप्रमुख पदमा अन्य राजनीतिक दलसँग तालमेल गरेको छ ।

प्रदेश नं २ का सबै जिल्लाहरुको प्रचारप्रसारमा सहभागी भएर राजधानी फर्किएका समन्वय समितिका संयोजक लेखकले निर्वाचन प्रचारप्रसारको तयारी र प्रदेश नं २ का मतदाताको अपेक्षा, भावना र झुकाव हेर्दा यस चरणको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने र त्यो परिणामले स्थानीय तहको समग्र निर्वाचनमा नै नेपाली कांग्रेस पहिलो हुने दाबी गरे ।

नेता लेखकले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सितादेवी यादवसहित पूर्व पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु र पूर्व केन्द्रीय सदस्यहरु, सांसदहरु र पूर्व सांसदहरुसहित जिल्ला, नगर र गाउँका विभिन्न तहका पार्टी पदाधिकारी, सक्रिय कार्यकता र समर्थकहरु सम्पूर्ण शक्तिका साथ प्रदेश नम्बर २ को निर्वाचनमा परिचालन भएको जानकारी दिए ।