आगामी असोज २ गते हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचन प्रचार–प्रसारका लागि यतिबेला नेकपा (एमाले)को सिङ्गै नेतृत्व मूलतः प्रदेश नं. २ का आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा केन्द्रित भइरहेको देखिँदै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ ३० गते जितपुर–सिमरा उपमहानगरपालिका तथा बर्दिबास नगरपालिकालगायतका चुनावी सभा तथा विविध कार्यक्रमलाई सम्बोधन गर्ने एमालेले जनाएको छ ।
बताइएअनुसार एमालेका वरिष्ठ नेता झलनाथ खनालको भदौ ३० गते बाराका विभिन्न स्थानीय तहका कार्यक्रममा सहभागी भई नेतृत्व र सम्बोधन गर्ने कार्यक्रम छ भने पार्टी नेता माधवकुमार नेपाल प्रदेश नं. २ का विभिन्न जिल्लामा सक्रिय रहँदै आएका छन् ।
गृहजिल्ला रौतहटका साथै नेता नेपालले बारा, पर्सा, महोत्तरीलगायतका जिल्लाका चुनावी भेला, सभालाई सम्बोधन र उम्मेदवारहरूसँग घरदैलो पनि गरिरहेका छन् । उनले भदौ ३० मा सिरहाको गोलबजार नगरपालिका लगायतमा सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै, पार्टी उपाध्यक्ष वामदेव गौतम र भीम रावल पनि प्रदेश नं. २ का विभिन्न जिल्लाका चुनावी कार्यक्रममा खटिरहेका छन् ।
यस्तै, पार्टी महासचिव ईश्वर पोखरेल मूलतः वीरगञ्ज महानगरपालिकामा बढी केन्द्रित हुँदै बारा र पर्साका विभिन्न कार्यक्रममा सक्रिय भएर अहिले महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी छन् । उनी ३० भदौका दिन सिरहा र सप्तरीका कार्यक्रममा केन्द्रित रहने बताइन्छ ।
पार्टी सचिव प्रदीप ज्ञवाली भदौ २८ देखि सप्तरीका विभिन्न कार्यक्रममा सहभागी हुँदै सिरहामा केन्द्रित हुन पुगेका छन् भने पार्टी सचिव भीम आचार्य मूलतः सप्तरीमा केन्द्रित रहेका छन् । पार्टी सचिव गोकर्ण विष्ट भदौ ३० गते सर्लाहीका विभिन्न कार्यक्रममा पुग्ने कार्यक्रम रहेको बताइएको छ ।
यसैगरी, पार्टीसचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई सप्तरी, सिरहा, धनुषा र महोत्तरीका कार्यक्रममा सक्रिय रुपमा सहभागी हुँदै भदौ ३० मा सर्लाहीका नगरपालिकाकेन्द्रित चुनावी कार्यक्रमहरुलाई सम्बोधन गर्न पुग्ने कार्यक्रम छ । प्रदेश नं. २ का संयोजक सत्यनारायण मण्डल एक महिनादेखि मधेसमै रहेका छन् भने उनको गृहजिल्ला सप्तरी रहेको हुनाले मण्डलले त्यहीँका चुनावी अभियानमा नेतृत्व प्रदान गरिरहेका छन् । प्रदेश नं. २ का सहसंयोजक नागेन्द्र चौधरी विशेषगरी गृहजिल्ला पर्सा र बाराका चुनावी गतिविधिमा सक्रिय छन् ।
एमालेका कुन नेता कहाँ खटिँदै छन्, हेर्नुहोस् तालिका–
सर्लाही – माधवकुमार नेपाल
बारा– वामदेव गौतम, वलवीरप्रसाद चौधरी, दिनेश राई
महोत्तरी – ईश्वर पोखरेल, योगेश भट्टराई, रामदयाल मण्डल, सरोज यादव
सिरहा – प्रदीप ज्ञवाली, लीलानाथ श्रेष्ठ, ममता गिरी, रामचन्द्र यादव, धर्मनाथप्रसाद साह, गंगा यादव
सप्तरी– भीम आचार्य, सत्यनारायण मण्डल, रामप्रित पासवान, शान्ता चौधरी, सुमन प्याकुरेल
धनुषा – शत्रुघन महतो, रघुवीर महासेठ, श्रीप्रसाद शाह, यदुवंश झा, रत्नेश्वरलाल गोइत, जुलीकुमारी महतो, सुधीर साह
पर्सा– नागेन्द्र चौधरी, रामचन्द्र साह
सर्लाही – लालबाबु पण्डित, लक्ष्मण पौडेल, रविन्द्र बैठा, कमलादेवी महतो
रौतहट – डा. वंशीधर मिश्र, कल्याणी खड्का, सरला यादव, मेटमणि चौधरी
प्रतिक्रिया