राहदानी खारेज गरि अभियुक्त खोज्दै ‘सीआईबी’ !

राहदानी खारेज गरि अभियुक्त खोज्दै ‘सीआईबी’ !


बैकिङ कसुरमा परेकाहरुको राहदानीनै खारेज गर्ने तयारी गरिएको छ । अपराधी भागेर कतै नजाओस् र भागेकालाई पक्राउ गर्न सहज होस् भन्ने हेतुले प्रहरीले यस्तो तयारी गरेको हो ।

पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले बैकिङ कसुरका घटनामा विशेष एक्सन चलाइरहेको छ ।

प्रहरीले बैकिङ कसुरमा भागेर उन्मुक्ति पाउनेहरुको संख्या बढेपछि आर्थिक अपराध गरेर विदेशिनेहरुको राहदानीनै खारेज गरी अनुसन्धान जारी राख्ने तयारी गरेको हो ।

कर्जा अपचलन गरेको आरोपमा अदालतबाटै दोषी ठहर भैसकेका तत्कालीन किष्ट बैंकका प्रबन्ध संचालक कमल ज्ञवालीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले खोजी गरेको वर्षैं भैसके पनि उनी विदेशमा लुकेर बसेका छन् ।

ज्ञवाली मात्रै होइन बैंकिङ कसुरकै अर्का आरोपी कैलाश विकाश बैंक पोखराका तत्कालीन ब्रान्च म्यानेजर रवीचन्द्र खनाल पनि विदेशिएका छन । उनीजस्तै धेरै अभियुक्त विदेशमा लुकेर बसेकाले प्रहरीले राहदानी खारेज गरी अनुसन्धान गर्ने भएको जनाइएको छ । यसका निम्ति प्रक्रिया अघि बढि सकेको बताइन्छ ।

सीआइबी स्रोतले भन्यो,‘आर्थिक अपराधका दोषीहरु अधिकांश विदेशिने गरे पछि कार्वाहीको दायरामा ल्याउन राहदानी नै खारेज गर्ने प्रक्रिया अघि बढाइएको हो ।’

पछिल्लो समय सीआइबीमा सबै भन्दा बढी आर्थिक अपराधसंग जोडिएकै उजुरी आउने गरेको बताएको छ ।

सीआइबीका अनुसार बैंक कसुरमा मात्रै सात वर्षमा एक सय ७१ जनालाई कार्वाहीको दायरामा ल्याइसकेको छ ।