प्रदिप गिरि भन्छन्– कसैले भन्दैमा मधेशी बिहारी नागरिक बन्दैन’

प्रदिप गिरि भन्छन्– कसैले भन्दैमा मधेशी बिहारी नागरिक बन्दैन’


के प्रदेश नम्बर २ का जनताले नेपाली काङ्ग्रेसलाई मतदान नगरे मुलुक २५ वर्ष पछि धकेलिन्छ ? प्रश्न अस्वाभाविक प्रकृतिको छ । तर, काङ्ग्रेस नेता प्रदीप गिरीको कुरा पत्याउने हो भने स्थानीयदेखि संघीय चुनावमा काङ्ग्रेसलाई भोट नदिए देश २५ वर्ष पछि पर्ने छ ।

काङ्ग्रेसका बौद्धिक नेता गिरीले सिरहा नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै त्यति मात्र बताएनन, ‘ओली–राष्ट्रवाद’लाई निरुत्साह गर्न र देशका सबै नागरिकको मन छुने अवधारणा लिएर काङ्ग्रेस अगाडि बढेको दाबी गरे । उनले भने– ‘यसपल्ट काङ्ग्रेसलाई मतदान गर्न हामी चुक्यौँ भने पच्चिस वर्ष झुल्नुपर्छ त्यसैले काङ्ग्रेसलाई बहुमतको सरकार बनाउने जनमत स्थानीयदेखि केन्द्रसम्म दिनुस्, देशको चौतर्फी विकास निश्चय छ ।’

अधिकारवादी आन्दोलन चलिरहेको बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनकारीलाई लक्षित गर्दै दिएका अभिव्यक्ति उद्धरण गर्दै गिरिले भने– ‘ए, समथर चाहिएको छ ? बिहार गए हुन्छ । संविधान संशोधन चाहियो भने लखनउ गए हुन्छ, रुखबाट दुई÷चार आँप झर्दैमा केही फरक पर्दैन । यस्तो अभिव्यक्ति दिने पार्टीबाट देश र जनता कसरी सुरक्षित हुन सक्छन् ?’

यति भनेर गिरिले थपे– ‘उत्तेजक र मनस्थिति भड्काउने कुरा काङ्ग्रेस गर्दैन, सबैलाई मिलाएर अगाडि बढ्ने पार्टी हो यो ।’

दशगजाको भूमिमा हिन्दुस्तान क्षेत्रबाट केही भयो भने मधेशी र उत्तरी सीमा चीनतिरबाट कुनै बितण्डा भयो भने हिमालीले खबरदारी गर्ने यथार्थ औंल्याउँदै उनले भने, ‘देशका लागि रक्षाकवचको रुपमा रहेका मधेशीलाई दोश्रो दर्जाको नागरिक भन्नु र हिमाली भेगमा अर्को नारा दिनु उचित छैन ।’

आर्थिक र आधुनिक दृष्टिले अगाडि बढिरहेका चीन र भारतसँग निहुँ खोजेर देशलाई फाइदा नहुने सुझाव दिँदै उनले दुबै देशको सहयोगलाई सदुपयोग गर्दै आफ्नो खुट्टामा उभिने प्रयास गर्नुपर्ने बताए । उनले कहिले भारत त कहिले मधेशीलाई गाली गर्दै आफूलाई राष्ट्रवादी प्रदर्शित गर्ने ओली प्रवृत्ति देशका लागि राम्रो नभएको अभिव्यक्ति दिए ।

उनले राष्ट्रियता कसैको विर्ता नभएको उल्लेख गर्दै भने– ‘कसैले भन्दैमा मधेशी बिहारी र दोश्रो दर्जाको नागरिक बन्दैन । तपाईंहरू गर्वसँग आफु मधेशी छु भन्नुस् ।’

मधेशका क्षेत्रीय पार्टीलाई पनि उनले बाँकी राखेनन् । ‘स्थापना दिवस पनि मनाउन नपाउँदै टुक्रा हुने पार्टी जनताको हितमा काम गर्छु भन्नु सपना मात्र हुनेछ’, उनले गजबको तर्क दिए ।

काङ्ग्रेसले पूर्ण बहुमत पायो भने भाषा, संस्कृतिक र नागरिकता लगायतका सबै खाले माग पूरा गर्ने बताउँदै अहिले पनि मधेशका मुद्दामा केही काम भएको तर अझ धेरै गर्न बाँकी रहेको उनले जिकीर गरे ।