आज माघे संक्रान्ति पर्व मनाइँदै

आज माघे संक्रान्ति पर्व मनाइँदै


काठमाडौँ । आज परम्परागत माघे संक्रान्ति पर्व मुलुकभर घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सूर्य धनु राषीबाट मकर राषीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्तिको अवसरमा चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारालगायतका स्थानमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको हुन्छ । ती स्थानमा हिजो राति नै जाग्राम बसेर दर्शनार्थीले पाठपूजा गर्छन्। आजको दिन पारिवारिक सदस्य, आफन्त तथा साथीभाई सँगै बसेर गएराति नै पकाइएको तरुल, चाकु, लड्डु तथा घिउलगायतका मीठामीठा परिकार खाएर रमाइलो गर्ने चलन छ ।

थारु, मगर र छन्त्याल समुदायल भने नयाँ वर्षको रुपमा माघी पर्व धुमधामसँग मनाउँछन् । पश्चिम तराइका दाङ, बाँके, बर्दिया र कैलालीलगायत जिल्लामा माघीको विशेष रौनक छाउँछ । माघी पर्वकै अवसर पारेर राजधानीको टुँडिखेलमा थारु महोत्सवको आयोजना गरिएको हुन्छ । सरकारले यसै वर्षदेखि माघे संक्रान्तिलाई राष्ट्रिय पर्व घोषणा गरेको छ । राष्ट्रिय पर्व घोषणासँगै आज मुलुकभर सार्वजनिक बिदा दिइएको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वको मान्यता दिने निर्णय गरेका थियो ।-देब, मेस, काठमाण्डौं