प्रधानन्यायाधीश पराजुलीद्वारा सयदिनका काम सार्वजनिक

प्रधानन्यायाधीश पराजुलीद्वारा सयदिनका काम सार्वजनिक


प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफूले प्रधानन्यायाधीशको जिम्मेवारी बहन गरेको सय दिनमा गरेको कार्य विवरण सार्वजनिक गर्नुभएको छ । गत जेठ २४ गते कार्यवाहक प्रधानन्यायाधीश हुँदै साउन २ गते प्रधानन्यायाधीशमा नियुक्त पराजुलीले सर्वोच्च अदालतमा शुक्रबार आयोजित विशेष कार्यक्रममा आफूले सय दिनमा गरेका मुख्य कामको तीस बुँदा सार्वजनिक गर्नुभएको हो ।

प्रधानन्यायाधीशबाट प्रस्तुत गरिएका कार्यबुँदामा प्रधानन्यायाधीश पराजुलीले सर्वोच्चमा आफूले पुराना मुद्दा फछ्र्यौट गर्नमा प्राथमिकता दिएकोदेखि संवैधानिक इजलास गठन, पारिवारिक अदालतको स्थापनाका लागि अध्ययन समूह गठन भएको, अदालतलाई समयानुकुल प्रविधिमैत्री तुल्याउने दिशातर्फ अघि बढाएको उल्लेख गर्नुभएको छ ।

यस्तै, सर्वोच्च अदालत नियमावली २०७४, न्यायपरिषद् तथा न्यायसेवा आयोग नियमावली पारित, मुख्य रजिष्ट्रारको दरबन्दी सिर्जना गरी नियुक्त गरिएको, सर्वोच्चमा समूहगत सुनवाई पद्धति पनि सय दिनका उपलब्धिमा समेटिएका छन् ।

सय दिनको कार्यमा प्रधानन्यायाधीश पराजुलीले आफ्नो सचिवालयबाट मातहतका अदालतका काम कारबाहीको निरन्तर निगरानी गरिरहेको उल्लेख गर्दै अदालतमा हुनसक्ने अनियमितता रोक्न र कारबाहीको दायरामा ल्याउने सूक्ष्म निगरानी गरेको समेत उल्लेख गर्नुभएको छ ।

यसअघि सर्वोच्च अदालत परिसरमा आयोजित फरक कार्यक्रममा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले कानून व्यवसायी समाजको अभियन्ता बन्नुपर्ने धारणा राख्नुभयो । हालै वरिष्ठ कानून व्यवसायीको दर्जा पाएका कानुनव्यवसायीहरुलाई प्रमाणपत्र वितरण गर्न आयोजित समारोहमा उहाँले देशको काँचुली फेर्न कानून व्यवसायीको योगदान महत्वपूर्ण भएको चर्चा गर्नुभयो ।

२७२ जनालाई वरिष्ठ कानून व्यवसायीको प्रमाणपत्र वितरण गर्दै प्रधानन्यायाशीध पराजुलीले कानूनी व्यवसाय स्वार्थमा लाग्न नहुने भन्दै अप्ठ्यारो पर्दा पनि कत्ति पनि विचलन नहुन आग्रह गर्नुभयो ।

सो अवसरमा मुख्य रजिस्ट्रार नहकुल सुवेदीले अहिलेसम्म १९ महिलासहित ४ सय ४८ जना कानून व्यवसायीलाई वरिष्ठ कानून व्यवसायीको प्रमाणपत्र वितरण गरिएको जानकारी दिनुभयो ।

शुक्रबार नै सर्वोच्च अदालत परिसमै निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनद्वारा विजयादशमीको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा समेत उपस्थित भई प्रधानन्यायाधीश पराजुलीले शुभकामना मन्तव्य दिनुभएको थियो ।