नेपाली साहित्यमा युद्ध चेतनाको उपस्थिति

नेपाली साहित्यमा युद्ध चेतनाको उपस्थिति


प्रस्तोता -काङमाङ नरेश राई र अप्जसे कान्छा
१. पृष्ट भूमि :
इ.स. १८५३ देखि १८५६ सम्म क्रिमियन युद्ध (Crimean War) भयो । त्यही समयबाट विश्वमा युद्ध साहित्य लेखन शुरु भएको पाउन सकिन्छ। इ.स. १८५४ मा बेलायतका कवि Lord Tennyson ले The Charge of the Light Brigade शीर्षकको कविता लेखेका थिए । त्यस्तै युद्ध कविता लेख्ने अर्का कवि थिए Sir John Henry Birchenough। त्यो बेलादेखि अहिलेसम्म यद्धको बारेमा धेरै कविहरुले कविता लेखेका छन । एग्लो जुलु युद्ध (Anglo Zulu War), पहिलो विश्व युद्ध (First World War), दोस्रो विश्व युद्ध (Second World War), कोरियन 9Korean War) आदि युद्धहरुको बारेमा लेख्ने धेरै कविहरु छन् ।

पहिलो विश्व युद्धको बारेमा कविता लेख्ने कविमध्य Mc Crae ले लेखेको In Flanders Fields शीर्षकको कविताले हरेक वर्ष नोभेम्वर ११ बोकेर आउने गर्छ । जसलाई पप्पी-डेको नामले बुझ्न सकिन्छ । बेल्जियमको दक्षिण र फ्रान्सको उत्तर पश्चिममा रहेको फ्रेन्डर्स फिल्डस्मा हजारौं हजार सिपाहीहरु र सिभिलीयनहरुले पहिलो विश्व युद्धमा जीवन गुमाएका थिए । युद्ध समाप्तपछि त्यस ठाउँमा मरेकाहरुको रगतबाट रातो रंगको पप्पी फूलहरु फ्रेन्डर्स फिल्डस्लाई ढाकेर उम्रिएको थियो भन्ने मीथ अथवा कथा जोडिएर आएको छ । ११ नोभेम्वर ११ बजे ११ मिनेट ११ सेकेण्ड जाँदा हरेक वर्ष फ्रेन्डर्स फिल्डस्मा र युद्धमा जीवन गुमाउनेहरुको सम्झनामा पप्पी फूलहरु चढाएर २ मिनेट मौनधारण गरी पप्पी-डे मनाइने गरिन्छ ।

अमर सिँह थापाले लाल मोहर लगाई चन्द्र शेखरमार्फत अक्टोलोनीको हातमा पठाएको सन्धि-पत्रले इ.स. १८१५ नोभेम्वर २८ तारिखको दिन सुगौली सन्धि भयो । त्यस पछिका दिनहरुमा नेपालले कुनै अर्को राष्ट्रसँग युद्ध नगरे तापनि एक थरी नेपालीहरुले बेलायतको साम्राज्य बिस्तारको लागि सुगौली सन्धि पछि पनि पहिलो विश्व युद्ध, दोस्रो विश्व युद्ध, फोक्ल्याण्ड, ब्रुनाई, कारगील, कोसोभो, वोस्निया, इष्ट-टिमोर, सेरालीयन, इराक, अफ्गानिस्तान जस्ता ५० वटाभन्दा धेरै देशहरुमा युद्ध लडेको पाउन सकिन्छ र अहिले पनि अफ्गानिस्तानको युद्ध मैदानमा लडिरहेको छ । कवि मिजास तेम्वे यो समय, अफ्गानिस्तानको युद्ध मैदानमा लडिरहेका छन् ।

कहिलेदेखि नेपाली साहित्यमा युद्ध साहित्य लेखिएको हो अथवा लेखिएको छ कि छैन ? लेखियो भने कस्तो साहित्यलाई युद्ध साहित्य भन्ने ? यसको फाल्टै अध्ययन अनुसन्धान नगरिएको, कुनै वर्गीकरण र लेखाजोखा, नियम, सिद्धान्त नभएकोले वा खोज-अनुसन्धान नगरिएकोले गर्दा कस्तो साहित्यलाई युद्ध साहित्य भन्ने ? सैन्य साहित्य र युद्घ साहित्यको बारेमा कोही फरक मतहरु रहन र आउन सक्छन् । साहित्यकार गणेश राई भन्छन्,-“सैन्य-कथानक र युद्ध-कथानकताको प्रारुप र विभिन्नता उस्तो अन्तर नलाग्न पनि सक्छ । तथापि, सैन्य-तयारीको क्लाइमेक्स युद्ध हो । नाम्चेबाट सगरमाथा हेरेर चित्त बुझाउनु र सगरमाथाको शिरमा पाइला टेक्नुको तात्विक भिन्नता जति छ त्यस्तै हो सैन्य र युद्धबीचको अन्तर पनि ।”

२. प्रस्तावनाः-
नेपाली युद्ध साहित्यको इतिहास नभए तापनि मास्टर मित्रसेनले लेखेका र गाएका कोही गीतहरु, झलकमान गन्दर्भले गाएका केही गीतरुमा युद्ध चेतना भएको पाउन सक्छौं । हर्ष ध्वज राईले लेखेको एक गोर्खाली आत्मकथा, साहित्यकार गणेश राईको कविता सँग्रह राइफलले फलाकेको जीन्दगी, नियात्रा राइफलको नालबाट जीवन निँयाल्दा, उपन्यास युद्ध एम्वुसमा राइफलको सँगीत, उपन्यास राइफलको मुर्छना, युद्ध साहित्य मानी अध्ययन गर्न सक्छौं । भीम विरही राईले लेखेका उपन्यास विदेशी सिपाहीँ, काङमाङ नरेश राईले लेखेका उपन्यास युद्ध बोकेर सिताङ्ग, काङमाङ नरेश राई, अप्जसे कान्छा र शशि लुमुम्बूले सँकलन र सम्पादन गरेका सँयुक्त कविता सँग्रह युद्घमा हराएको प्रेम लाई नेपाली सही त्यको पहिलो युद्घ कविता सँग्रह मान्न सक्छौं । यी यस्ता आदि कृतिहरु जवरजस्त युद्ध चेतनाले लेखिएको नेपाली युद्ध साहित्य हामी भन्न सक्छौं ।

३. नेपाली युद्ध साहित्यका विशेषताहरुः-
१. विषयगत विशेषता
२. प्राविधिक विशेषता

१. विषयगत विशेषता :
(।) युद्ध पूर्व (Pre War)
क. युद्घ तयारी
ख. परिवार प्रतिको चिन्ता
ग. भविष्यको अनिश्चित्ता

(।।) युद्ध काल (Real War)
क. विजयको अभिलाषा
ख. मृत्यु त्रासदि
ग. विभत्स चित्रण

(।।।) युद्ध पछि (Post War)
क. युद्धको परिणाम
ख. परिवर्तित आचरण
ग. जीवनप्रति उर्लिएको प्रेम
घ. युद्घ समाप्ति सँस्कार

(।) युद्ध पूर्व :- (Pre War) -युद्ध क्षेत्रमा सैन्य जथ्था परिचालित हुन पूर्व युद्धको बारेमा विभिन्न प्रकारका रणनीतिहरु सिकि पूर्ण तयार भइसकेपछि ब्यवस्थित रुपले सैनिकहरु युद्ध भूमिमा परिचालित हुने गर्दछ । त्यस समयमा उनीहरुलाई आफ्नो भविष्य प्रतिको अनिश्चित्ता, भयले सताउने गर्दछ ….युद्धबाट फर्केर आइँदैन कि ? म फर्केर आइँन भने मेरो परिवारको हालत कस्तो हुन्छ होला आदि कुराहरुले । कति सिपाहीहरुको लागि आफ्नो परिवार र आफन्तसँग अन्तिम भेट र अन्तिम विदाइ हुन पुग्दछ । यी विषयभित्र रही अनुसन्धन गरी लेखिएको साहित्यलाई हामी युद्ध साहित्य भन्न सक्छौं ।

(।।) युद्ध काल (Real War) -युद्ध मैदानमा परिचालीत हुनुभन्दा पहिले मृत्युको भयले उनीहरुलाई सताउने गर्छ तर विजयको अभिलाससँगै युद्ध भूमिमा पुग्दछ जब बमबार्ड गोला बारुद, पड्कन थाल्छ त्यसपश्चात् उनीहरुको मन, मृत्यु-भयबाट धेरै समय सम्पर्क विहीन हुन पुग्दछ तर बेला-बेलामा मृत्यु-भयले भने सताउने गर्छ नै । नीति-नियमको पालना गर्दै आफ्नो ज्यानको सुरक्षा गर्दै, सँगै युद्ध भूमिमा निस्केका साथीहरु, युद्घमा लड्दा-लड्दै आफ्नै छेउमा ढलिरहेका हुन्छन् । घाइते अवस्थामा चिच्याइरहेका साथीहरुलाई गोलाबारुदको बीचबाट उद्धार गरी सुरक्षित ठाउँमा लानु पर्ने हुन्छ । पानी माग्दामाग्दै कत्ति साथीहरुले वीरगति पाउँछन् । यस्ता हृदयविदारक वास्तविक युद्धको घाउलाई वस्तुगत ढंगले बुझेर युद्घलाई कलाले सिँगारी लेखिएका साहित्यलाई हामी युद्ध साहित्य मान्न सक्छौं ।

(।।।) युद्ध पछि (Post War) -आफ्नो समय अवधि सकिएपछि अथवा युद्ध समाप्त भएपछि बाँचेका र घाइते भएका सिपाहींहरु हारेर वा जितेर आफ्नो क्याप वा देश फर्कन्छन् । यी समयमा सकारात्मक, नकारात्मक वा प्रत्यक्ष, अप्रत्यक्ष प्रभावहरु जन्मन्छन् । सर्वेक्षणले भन्छ, -‘युद्धबाट फर्किएका सिपाहींहरु युद्धमा जस्तो गएका हुन्छन् युद्धबाट त्यस्तै फर्किएको पाइँदैन । उनीहरुको आचरण, बानी, हरेक परिवर्तन भएको हुन्छ । युद्धमा भोगेका डरलाग्दो त्रास, बमबार्ड, आफ्नै कान नजिकबाट दुश्मनले हानेको गोली सुइँञ आवाजसँगै गएको, सँगै वसेका साथीहरु मरेर आफै मात्र वाचेका घटना सम्झिँदा जीवनप्रति एक प्रकारको प्रेम उर्लिएर आउँछ ।’

युद्ध शिविरबाट फर्किएपछि ठूलो परेडको आयोजना गरी सबै सिपाहींहरुलाई युद्ध सम्मानस्वरुप तक्मा दिने गर्दछ र बहादुरी काम गर्नेहरुलाई विशेष तक्माहरुले विभुषित गर्दछ । वीरगति पाएका सिपाहींका परिवारजनलाई सहानुभूति दिने र राहतस्वरुप क्षतिपूर्ति दिने गरिन्छ । यी घटनाहरुलाई समेटेर लेखिएको साहित्यलाई युद्ध साहित्यको एउटा अंग हो हामी भन्दछौं ।

२. प्राविधिक विशेषता

क) हातहतियार (Weapon)
ख) सरसमान (Equipment)
ग) युद्घ भाषा (War Language)

क) हातहतियार (Weapon) -सँसारमा सैनिकहरुले विभिन्न प्रकारका हातहतियारहरु चलाउने गर्दछ । यी हातहतियारहरु युद्घका लागि र आफ्नो राष्ट्र सुरक्षाको लागि नै हो । विभिन्न नामहरुले ती हातहतियाहरुको नामाकरण गरिएका हुन्छन् । समयअनुकुल नयाँ अत्याधुनिक हातहतियारहरु प्रयोगमा ल्याउँछन् । जस्तै खुकुरी, टैंक, मोर्टार, S.A.80, A.2., GPMG (General Propose Machine Gun) मास्टिभ, यस्ता हात हतियारहरु सेनाले आ-आफ्नै देशअनुसार चलाउने गर्दछन् ।

ख) सरसमान (Equipment) -दैनिक युद्घ मैदानमा प्रयोग गर्ने ड्रेसहरु, उनीहरुले बोक्ने बर्गनरझोला, गोली बोक्ने बेबिङ्ग, पोचेसजस्ता सरसमानहरु सैनिकले प्रयोग गर्ने गर्दछ । सिपाहींले युद्घ भूमिमा चलाउने सरसमानहरुलाई काब्यमा प्रयोग गरिएका छन् भने हामी युद्ध साहित्य भन्दछौं ।

ग) युद्घ भाषा (Language Terminology) -सैनिकहरुले पनि मूलतः आममान्छेले बोली आएको भाषा बोल्छन् तर पनि उनीहरुले युद्घ मैदानमा छुट्टै भाषा (Code Word) द्वारा समाचार अथवा खबर आदानप्रदान गर्ने गर्दछन् । अर्कोतिर आफ्नो छुट्टै खालको भाषा प्रयोग गर्दछन् । ती भाषा साहित्य लेखनमा प्रयोग गरिएको साहित्यलाई हामी युद्ध साहित्य मान्दछौं । जस्तै किलो सेरा टु, ब्राभो टु जिरो ।

४. वर्तमान समयमा नेपाली युद्ध साहित्यको अवस्था :- नेपाली साहित्यमा युद्ध साहित्यको इतिहास नभए तापनि बेलायतमा बसोबास गर्दै आउनु भएका अवकास प्राप्त ब्रिटिस आर्मी साहित्यकार गणेश राईले लेखेका उपन्यास ‘युद्ध एम्वुसमा राइफलको सँगीत’ र ‘राइफलको मूर्छना’, काङमाङ नरेश राईले लेखेका उपन्यास ‘युद्ध बोकेर सिताङ्ग’, काङमाङ नरेश राई, र नरेश राई, अप्जसे कान्छा र शशि लुमुम्बूले सँकलन र सम्पादन गरेको सँयुक्त कविता सँग्रह ‘युद्घमा हराएको प्रेम’ लाई अहिले सम्मको उदाहरणीय युद्ध चेतनाले लेखिएको नेपाली उपन्यास भन्न सक्छौं किनभने युद्ध साहित्यको विषयगत विशेषता र प्राविधिक विशेषतासँग मिल्दाजुल्दा छन् । युद्ध चेतनानजिक रहेर लेखिएका कृतिहरुमा -सीमाहीन बिम्वहरु, बालुवामा अर्को नेपाल, इश्वरको मलामी, साँगुरी र बूढा सुब्बा, अनुहारमा लुकाएका चोटहरु, अर्थ अवतरण, हरियो पर्खाल, बाटो खोज्दाखोज्दै, सम्झनाको आलिङ्गनमा बाँधिएर, सालिक उभिएर गोर्खाली, काँचो मुद्दा, एथेन्सको झरी, अनुभूतिका रंगहरु, विछोड अघिको रात आदि हुन् भने बेलायतबाट नेपाली युद्ध साहित्य लेख्ने लेखकहरुमा गणेश राई, दयाकृष्ण राई, रक्ष राई, मिजास तेम्वे, देवेन्द्र खेरेस, अप्जसे कान्छा, दिपा लिम्बू राई, लारा, काङमाङ नरेश राई, नरेश नाति, मुकेश राई, केदार सँकेत, जगत नवोदित, विजय हितान, इश्वर चाम्लिङ् भरुपल, अन्जु अन्जलीले नेपाली सही त्यमा कहिँनकहिँ ठाउँमा अथवा कृतिहरुमा युद्ध साहित्य लेख्दै आएका छन् त्यसैले गर्दा पनि नेपाली साहित्यमा युद्ध साहित्यको उपस्थिति दिनानु दिन विकास हुदै गईरहेको छ । हामी विश्वास गर्र्छौ नेपाली युद्ध साहित्यले नेपाली साहित्यमा ठुलो टेवा पुर्‍याउने छ ।

५.निकर्ष :- सैन्य साहित्य र युद्घ साहित्य एउटै लागे तापनि फरक विषय हुन् जस्तो कि नङ्ग र मासु । सबै मासुमा नङ्गसँग जोडिएको साइनो हुँदैन त्यस्तै सबै सैनिकहरुले युद्घ गरेका हुँदैनन् । पुनः एक पटक साहित्यकार गणेश राईको वाक्यलाई यहाँ सापट लिऊँ, उनी भन्छन्, -“सैन्यकथानक र युद्ध कथानकताको प्रारुप र विभिन्नता उस्तो अन्तर नलाग्न पनि सक्छ । तथापि, सैन्यतयारीको क्लाइमेक्स युद्ध हो । नाम्चेबाट सगरमाथा हेरेर चित्त बुझाउनु र सगरमाथाको शिरमा पाइला टेक्नुको तात्विक भिन्नता जति छ त्यस्तै हो सैन्य र युद्धबीचको अन्तर पनि ।”

बेलायती सेनामा कार्यरत गोर्खाहरु र भारतीय सेनामा कार्यरत गोर्खालीहरुबाट लेखिँदै आइरहेको साहित्यलाई नेपालमा भएका लेखक, समालोचक, प्राध्यापकहरुले निक्कै महत्वको रुपमा हेरिरहेको र सैन्य पेसामा आवद्ध प्रतिभाशाली साहित्यकारहरुले भोगेका जीवनप्रति निक्कै चासो देखाइरहेको अवस्था छ । यी युद्धसम्वन्धी लेखिएको साहित्यलाई सही तरिकाले वर्गीकृत गर्नको लागि, सही तवरले परिचित गराउनको लागि, नेपाली साहित्यमा फरक दृष्टिकोण र फरक ढंगले आफ्नै खालको परिचय स्थपित गराउनको लागि पनि युद्ध साहित्यलाई सिद्धान्तकृत र वर्गीकृत गर्नुपर्ने बेला आएको छ । नेपाली युद्ध साहित्यको विषयगत विशेषता र प्राविधिक विशेषतालाई पहिचान गरिसकेपछि मात्र सही ढंगबाट नेपाली युद्ध साहित्यको मूल्यान्कन गर्न सकिन्छ । भावी लेखकहरुले यही विशेषताहरुलाई मनन गरेर सही ढंगले नेपाली युद्ध साहित्य लेख्न सक्छन् । यो एक प्रकारको सिद्धान्त र दृष्टान्तको विकास हो । यसको उद्देश्य भनेको नेपाली साहित्यमा युद्ध साहित्यलाई आधिकारिक तवरले स्थापित गराउनुको लागि प्रस्तावना राख्नु हो । पहिले पनि युद्ध साहित्य, नेपाली साहित्यमा थोरै मात्रामा थियो, अब पक्का प्रमाणका साथ नेपाली साहित्यमा युद्ध साहित्य छ । अब नेपाली साहित्यले, युद्ध साहित्यलाई वर्गीकरण गर्नु पर्ने, त्यसको उपर खोज-अनुसन्धान गर्नु पर्ने, सही तरिकाले परिचय दिनु पर्ने बेला आएको छ र अहिलेको नेपाली साहित्यमा युद्ध साहित्यलाई यी नै २ वटा विशेषताको आधारमा मूल्यांकन गरी बुझन सकिन्छ । अबको आउँदो युद्ध साहित्यको बारेमा लेख्ने साहित्यकारहरुले यी कुराहरुलाई पक्रेर समातेर लेख्नु भयो भने, त्यसलाई हामीले विशुद्ध युद्ध साहित्य भन्न सक्छौं । युद्ध साहित्यको विषयगत विशेषता र प्राविधिक विशेषताको पहिचानबिना अहिले लेखिएको नेपाली युद्ध साहित्यको सही मूल्यांकन हुन सक्दैन । सही मूल्यांकन हुनको लागि विषयगत विशेषता र प्राविधिक विशेषताको ज्ञान र पहिचान हुन जरुरी छ । नेपाली युद्ध साहित्यसम्वन्धी यो घोषणा पत्र एउटा प्रयास हो, यो घोषणा पत्र एउटा आवाज हो र यो नेपाली साहित्यमा युद्ध साहित्यको पहिलो प्रस्तावना हुन सक्छ ।