कहिलेसम्म पच्छ्याइरहने आडम्बरी नेपाली प्रवृत्ति ?

कहिलेसम्म पच्छ्याइरहने आडम्बरी नेपाली प्रवृत्ति ?


– शैलेश श्रेष्ठ

हामी नेपाली अक्सर आडम्बरमा बाँच्छौँ । भनाई एउटा अनि गराई अर्कै हाम्रो पुरातानिक पहिचान हो भन्दा अत्युक्ति नहोला। दोहोरो मापदण्डमा आफुअनुकुल बाँच्नु हाम्रो नेपाली तरिका हो ।

विदेश (अमेरिका)मा रेस्टुरेन्टमा काम गर्छु, गाडी चालाउँछु, बेबी सिटिङ गर्छु, शारीरिक तथा मानसिक रुपले अशक्तहरुको सेवा गर्ने काम गर्छु, नेल शैलुनमा काम गर्छु भनेर सगर्व ठुलो स्वरले भन्ने नेपाली मान्छे भेटिँदैन अथवा बिरलै भेटिन्छन् ।

बरु आईटीमा काम गर्छु, वाल स्ट्रिटमा कारोबार गर्छु अनि म्यानह्याटनमा आफ्नै एउटा ब्यबसाय सुरु गरेको छु भन्ने अमुक हावादारी गफ डबलीमा चुटेर आत्मरतीमा रमाउँछौं तर त्यो र त्यस्तै सपनाहरु साकार पार्ने कर्ममा हामी निष्ठापुर्वक लाग्दैनौँ ।

अरुले जहाज चढेको सुन्नासाथ हाम्रा मान्छेलाई धुरी चढ्न हतार हुन्छ, किनकि हाम्रो अर्धसामन्ती पुरातानिक समाजले काम गर्नेलाई सानो अनि काम ठग्नेलाई ठुलो भनेर परिभाषित गर्यो । त्यसैको सिको गर्दै आफु र आफ्ना सन्तान अनि वरपरकालाई पाल्ने र धान्ने उपरोक्त कामलाई हामी ‘डर्टी जब’ भनेर परिभाषित गरिदिन्छौँ अनि भाषणमा चाहिँ श्रमको सम्मान गरौँ भनेर थाक्दैनौँ ।

तर त्यस्तो आडम्बरी भीडमा अहिले पछिल्लो चरणमा अमेरिकी प्रवासी समाजमा केही उर्जाशील, ईमान्दार, कर्मबीर, पेशाकर्मी उद्यमीहरु देखिन थालेका छन् जो आफ्नो श्रममा गर्व गर्छन् र आफ्नो सिपमा गर्विलो जीवन बाँच्छन् । उनीहरु जीवन मात्र जिउँदैनन बरु समाजमा प्रेरक उद्यमीका रुपमा चिनिन्छन् । अनि आफुले गरेको कर्मलाई उपल्लो स्तर र दर्जाका साथ सम्मान समेत गर्छन् ।

तिनै र त्यस्तै कर्मबीरहरुको छोटो लाममा अग्रपंक्तिमा आउने एउटा नाम हो, पासाङ्ग स्ट्राईकिङ्गका पासाङ्ग शेर्पा फिनासा । सरल र नेपाली ठेट बोलीचालीको भाषामा भन्नुपर्दा एकजना नेपाली हजाम । ज्याक्सन हाईट्सकै केहि आडम्बरी जमात बेला कुबेला यिनको साहसिक कर्मको कटु आलोचना समेत गर्छन् तर सामाजिक तथा राजनैतिक रुपले सुशिक्षित र सचेत पासाङ आफुले टेकेको अडिलो धरातलबाट डेग हल्लँदैनन् ।

म आफु आफ्ना नेपाली जातिले प्रारम्भ गरेको व्यवसायलाई सघाउनुपर्छ भन्ने मान्यता र बढी आदर्श छाँट्ने भए पनि पासाङको सैलुनमा सेवा र उनको ब्यवसायिक पारख लिन जान सकेको थिइनँ । बर्सौंपछि उनको जादुगरी छरितो कपाल कटाईको लाभ लिने अहोभाग्य जुर्यो। उमेर र सम्मान दुवैको योगफलले उसले मलाई ‘दाइ’को आत्मीय सम्बोधन गर्छ । त्यसदिन पनि त्यहि सम्बोधनमा उसले सोध्यो, दाइलाई कस्तो स्टायल मन पर्छ ? मेरो निश्चिन्त अनि विश्वाशिलो प्रतिउत्तर थियो, पासाङ स्टायल ।

म लामो कपाल त्यतै छाडेर पासाङ स्टायलमा चंगा भएर गृहराज्य न्युजर्जी फर्किएँ । एनजे ट्रान्जिटबाट घर फर्कंदा बाटोभरि तर्कना गरिरहें, यदि डबली गफ र बोक्रे आडम्बरी आदर्श बोलेझैं हामी चालीसौं हजारको संख्यामा रहेको प्रवासी नेपालीहरुले हाम्रा नेपाली उद्यमीहरुकहाँ गएर उनीहरुले स्थापना गरेको ब्यवसायमा सामान किनिदिने, सेवा लिइदिने अनि खाइदिने मात्र गर्ने हो भने अबको हाम्रो प्रवासी नेपाली पुस्ता जागिरेबाट उद्यमशील हुने थियो तर हामी बायाँको क्याफे चिया पसललाई नदेखें झैं गरी अर्को ब्लकको डंकिन डोनटको गन्तब्य तय गर्छौं अनि हाम्रै एभरेष्ट ग्रोसरी र हिमालय ग्रोसरीहरुमा हाम्रा आँखा पर्दैनन् बरु आँखा चिम्लिएर सब्जीमण्डी अथवा पटेल ब्रदर्समा ठोकिन्छौँ ।

हामीलाई दुःखमा साथ दिने आफ्नै कानुनविदलाई गाली गर्दै अर्को बिरानो अमुक कानुनविदको पक्षपोषण गर्छौं । चार ब्लक परको ह्याप्पी किचेन रेस्टुरेन्टसम्म पुगेर शुशी परिकार चाख्ने अभिलाषा हुँदैन हामीलाई बरु पल्लो ब्लकको पिजा पसलमा पुगेर पेट भर्छौँ । गहुँगो ऋणभार बहन गरेर पढेका अनि आफ्ना बन्द ब्यबसाय सुरु गरेका तन्नेरी उद्यमीहरुलाई शुभकामनाका दुई शब्द व्यक्त गर्न हामीसँग समय हुँदैन बरु अरु कहीं कतैको मानिसको बखान गरेर थाक्दैनौं । डंकिन डोनटमा पन्द्र मिनेट भन्दा बढी ठाउं कब्जा गरेर बस्न पाईंदैन भन्ने चेतना हामीलाई हुन्छ तर हाम्राहरुकोमा गएर हातमा एक कप चिया बोकेर दिनभर पँधेरे गफ हाँकेर बस्न हामी अप्ठेरो मान्दैनौं ।

समग्रमा अझैं पनि हामी र हाम्रो पुस्तामा हाम्रा आफ्नै उद्यमी र ब्यबसायीहरुलाई प्रोत्साहन र प्रबर्धन गर्ने उदार मन र चेतना छैन । यो विडम्बना कहिलेसम्म ?