वीरगञ्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीको स्थापना र स्थायित्वको नेतृत्व गरेको नेपाली कांग्रेसले आर्थिक विकास र समृद्धिको पनि नेतृत्व गर्ने बताउनुभएको छ ।
पर्साको पोखरीयामा आयोजित चुनावीसभालाई सम्बोधन गर्ने क्रममा नेता पौडेलले नेपालका विभिन्न कालखण्डमा देशबाट जहाँनिया शासक राणादेखि लिएर राजालाई समेत हटाई मुलुकमा लोकतन्त्र ल्याउनका लागि ऐतिहासिक आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले गरेको र कांग्रेसका कारणले लोकतान्त्रिक पद्धति स्थापित भएको दाबी गर्नुभयो ।
देशको विकासका लागि कांग्रेसको नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले विकास र समृद्धिको परिकल्पना र कार्यक्रम नेपाली कांग्रेससँग मात्र भएकोले यस अभियानको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्ने तर्क राख्नुभयो ।
शुक्रबार आयोजित सो कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्रबहादुर अमात्य, केन्द्रिय सदस्य अजय चौरसिया, पूर्व जिल्लासभापति जनार्दन सिँह क्षेत्रीलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया