माओको देशमा-श्रीधर शर्मा

माओको देशमा-श्रीधर शर्मा


माओवादी नेताहरूको चीन भ्रमणको क्रम र चिनियाँहरूसँगको सर्म्पर्क बाक्लिएको छ । यसै क्रममा माओवादी सेनाका कमाण्डरहरूले हालै चीन भ्रमण सकेर फर्के भने त्यसलगत्तै अध्यक्ष कमरेड प्रचण्ड फेरि चीन पुग्नुभयो । हुनत राजा महेन्द्रले मित्रराष्ट्र चीनको सहयोगमा काठमाडौं-कोदारी राजमार्ग बन्दा भारतले नेपालको चीनसँगको निकटताप्रति आशङ्का गरिरहेको बेला कतै भनेका थिए रे, ‘साम्यवाद मोटर चढेर आउँदैन ।’ जवाफ त ठेट थियो तर उनका कामकारबाहीचाहिँ लोकतन्त्र मास्ने र निरङ्कुशता लाद्नेमै केन्द्रित रहे । अझ महेन्द्रको कार्यकालमा लोकतन्त्रवादीहरू अनेक किसिमका प्रताडना खेप्न बाध्य भए, तिनको खेदो खनियो भने धेरैजसो कम्युनिस्ट भनिनेहरूचाहिँ संरक्षित भइरहे । अहिले माओवादीको तौरतरिका पनि झन्डै-झन्डै त्यस्तै छ । लोकतन्त्रवादीहरूलाई किनारा लगाउने, दरबारिया, राजतन्त्रवादीहरूसँग हिमचिम बढाउने, बहुलवादमा सहमत नहुने अनि पार्टीहरूलाई फुटाउने योजनाका साथ ऊ अघि बढिरहेको छ । अर्थात् गफ जनवादको पृष्ठपोषण राजावादको, निरङ्कुशताको । यसैले उसको चीनसँगको बढ्दो निकटतालाई लोकतन्त्रवादीहरूले शङ्काको दृष्टिले हेर्नु स्वाभाविक छ ।
त्यसो त ओलम्पिककै बहानामा भए पनि लामो समयदेखि चलिरहेको नेपालका नयाँ प्रधानमन्त्रीले भारतबाटै विदेश भ्रमण प्रारम्भ गर्ने परम्परा र प्रचलन तोड्दै कमरेड प्रचण्ड प्रधानमन्त्री भएपछि प्रथमपटक चीनको भ्रमणमा जानुभएको थियो र धेरै चर्चा-परिचर्चा हुन थालेपछि चीनबाट फकर्ंदा विमानस्थलमै ‘पहिलो राजनीतिक भ्रमण भारतको हुने’ भनेर रिसाएको भनिएको भारतलाई खुसी पार्ने प्रयत्न गर्नुभएको थियो । तर, त्यसपछिका दिनमा पनि माओवादी निरन्तर भारतसँग दूरी बढाउने र चीनसँग नजिकिने कसरत र क्रियाकलापमा लागिरहेको कुराचाहिँ सबैले अनुभव गरेकै हो ।
ज्ातिसुकै ढाकछोप गर्न खोजिए पनि माओवादी नेताहरू पटकपटक माओको देश चीनको भ्रमण गर्न लालायित हुनुको कुनै न कुनै उद्देश्य पक्कै छ । चीनमा मावली-ससुराली छैन, कुनै लडाकाको दसैं मान्न जानका लागि । यसैले ‘पार्टीको योजनाअनुसार नभई आफ्नै कार्यक्रमअनुसार नेताहरू चीन गएको हुनसक्ने’ भन्ने माओवादीको स्पष्टीकरण यत्तिकै स्वीकार गर्न सकिने अवस्था छैन । फेरि कृष्णबहादुर महराले सभासद् खरिदका लागि चिनियाँसँग गरेको कुराकानी सार्वजनिक भएपछि त्यसको ढाकछोप गर्न ठूलै कसरत गर्नुपरेको थियो माओवादीले । सम्भवतः यसैकारण टेलिफोन वार्ताभन्दा प्रत्यक्ष भेटघाट र संवादको उपाय अपनाउनु उचित ठानिएका कारण पनि यो भागदौड चलिरहेको हुनसक्छ उत्तर्रतर्फको प्रभुको दर्शनमा भन्ने अनुमान पनि उचितै हुनसक्छ । भ्ाारतसँगको सम्बन्ध चिसो छ माओवादीको यतिखेर । आफ्ना राजदूतको माओवादीबाट भएको अपमानको भारतले दिल्लीस्थित नेपाली राजदूतसमक्ष विरोध जनाइसकेको कुरा सार्वजनिक भएको छ । भारतीय माओवादीलाई नेपाली माओवादीले लस्करे तोयवासमेतको सहयोगमा तालिम प्रदान गरिरहेको बताउँदै भारतले त्यस कुराको विरोध गरेको छ । भारतले माओवादीमाथि विभिन्न आरोप लगाइरहेको छ भने माओवादीले सबै किसिमले भारतलाई दुश्मन ठानिरहेको बेला यसरी माओवादी नेताहरू दलबलसहित चीन भ्रमणमा जानु पक्कै पनि संयोग मात्र होइन । योजनाबद्ध तरिकाले नै यी भ्रमणहरू भइरहेका छन् भन्ने अनुमान हुनु पनि अनुचित होइन ।
न्ायाँ सरकार बन्न सकिरहेको छैन, त्यसको दोष माओवादी भारतलाई दिइरहेको छ । आफू नेतृत्वको सरकार हुँदा कुनै कुरा उठाउन नसके पनि सीमा मिचिएको कुरा र नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेपको कुराको पछिल्ला दिनमा माओवादीले खुलेरै विरोध गरेको छ । तर, कुनैबेला ‘अबको वार्ता दिल्लीसँग’ भनेर भारतलाई ठाडै चुनौती दिने प्रचण्डले भोलिपल्टै ‘त्यसको आशय यस्तो थिएन’ भनेर स्पष्टीकरण दिनुपरेको कुराले माओवादी कहीँ न कहीँ भारतसँग भयभीत छ भन्ने पनि प्रस्टै हुन्छ । जेहोस्, अन्य दलका नेताहरू भारत जाँदा ‘विदेशीको दलाली’ र ‘प्रभुको आशीर्वाद लिन’ भनेर आलोचना गर्ने माओवादीको यसखालको चरित्रले माओवादीले अरूलाई लगाउने गरेको आरोप मात्र गलत सावित हुँदैन खुसामद र चाकडीको मामलामा माओवादी झनै माहिर छ भन्नेसमेत पुष्टि हुन्छ । अझ माओवादीले त झन् विदेशीकै चाहनाअनुरूप सिंगापुर, मलेसिया, हङकङ वा उनीहरूले जहाँ भन्यो त्यहीँ पुग्ने अनौठो परम्परा सुरु गरेको छ । त्यतिमात्र होइन भारत त भौगोलिक अवस्थिति र खुला सिमानाका कारण पनि विभिन्न रूपमा विभिन्न ढङ्गमा नेपाल पसेको छ, माओवादी त चुपचाप बसेको चीनलाई बोलाएरै नेपालमा हस्तक्षेप गराउन पो लागिपरेको छ त । कस्तो राष्ट्रवाद हो यो माओवादीको – विदेशीबाट हस्तक्षेप भयो भने त्यसलाई कम गर्नेतर्फ लाग्ने कि अर्को विदेशीलाई पनि हस्तक्षेपका लागि उक्साउन मतियार बन्ने –
यदि भारतमा नेपाली राजदूतमाथि जुत्ता प्रहार भएको भए यहाँ उपद्रो हुने थियो, कति दिन बन्द हुने थियो, कति सरकारी सम्पत्तिको क्षति हुने थियो तर आफ्ना कार्यकर्ताले सोलु पुगेका भारतीय राजदूतलाई जुत्ता हान्दा माओवादी ‘यो पार्टीको नीति होइन’ भनेर चुपचाप बसेको छ जब कि कूटनीतिक मर्यादाविपरीतको त्यस्तो लज्जास्पद कार्य माओवादीको उच्च तहका नेताको नेतृत्वमै भएको थियो । भारतलाई गाली गर्नुलाई बहादुरी ठान्ने माओवादीको एउटा समूह नै छ । त्यो समूह भारतसँगको सम्बन्धलाई नयाँ ढङ्गले लैजानुपर्ने नारा लगाउँछ जब कि भारत विश्वमानचित्रमा कत्रो देश हो – ऊसँगको हाम्रो सम्बन्ध कहिलेदेखिको, कस्तो हो भन्ने कुरा सबैलाई जानकारी नै छ । उसलाई चिढ्याएर चीनलाई रिझाए पनि हामीले भारतसँग सर्म्पर्क र सम्बन्ध नराख्न वा जे जति कुरामा हामी भारतसँग निर्भर छौँ त्यो सबलाई चीनतर्फ सार्न असम्भव छ । यति हुँदाहुँदै पनि माओवादी नेताहरू भारतसँगको दूरी घटाउनुभन्दा त्यसलाई झन्झन् फराकिलो गराउन कुन मानसिकताले लागिरहेका छन् गजबको विषय छ ।
यसपालि माओवादी स्थायी समितिका सदस्य वर्षमान पुन अनन्तसहितका १० जना नेता र माओवादी सेनाका कमाण्डरहरूले दसैंको मौकामा एकसाता चीनको भ्रमण गरे । उनीहरू स्वदेश र्फकनासाथै कमरेड प्रचण्ड त्यस्तर्फ लाग्नुभयो विदेश विभाग प्रमुख कृष्णबहादुर महरालाई साथमा लिएर । माओवादी कमाण्डरहरूले त्यहाँ उच्च भेटघाट गरेको कुरा आइसकेको छ भने प्रचण्डको भ्रमण पनि सामान्य पक्कै होइन । यसप्रति धेरैतिरबाट धेरै किसिमका अनुमान अडकल भइरहेका पनि छन् तर माओवादी भने यसलाई हल्काफुल्का र सामान्य बनाउन प्रयत्न गरिरहेको छ । यदि माओवादी साँच्चै राजनीतिक शक्तिका रूपमा स्थापित हुन चाहने हो भने उसले गोप्य मन्त्रणा र शङ्कास्पद गतिविधिभन्दा खुला र पारदर्शी व्यवहार प्रदर्शन गर्न सक्नुपर्छ । लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न सक्नुपर्छ । अन्यथा ऊ नागरिक पार्टीमा रूपान्तरण हुनुपर्ने माग उठि नै रहनेछ र सत्तामा पुगेर निरङ्कुशता लाद्ने उसको सपना सपनैमा सीमित रहनेछ ।