मधेशमा मतदाताको उत्साहपूर्ण उपस्थिति (तस्विरहरु)

मधेशमा मतदाताको उत्साहपूर्ण उपस्थिति (तस्विरहरु)


स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि भएको निर्वाचनअन्तर्गत आज बिहान ७ः०० बजेदेखि मतदान सुरु भएको छ।

प्रदेश नं २ मा १ महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा यो निर्वाचन भएको हो ।

मतदानका लागि निकै उत्साहका साथ मतदाता बिहान सबेरै मतदान केन्द्रमा पुगेर लामबद्ध भएर बसिसकेका निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिए ।

अहिले अधिकांश मतदान केन्द्रमा मतदाताको घुइँचो लागिसकेको छ । तराई–मधेशमा दिउँसो गर्मी हुने भएकाले पनि मतदाताको बिहान उत्साहपूर्ण सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ ।

यस निर्वाचनबाट छ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुनेछन् । गोप्य मतदानको प्रक्रियाद्वारा ‘एक पद एक मत’का आधारमा बहुमतीय निर्वाचन प्रणालीमा यो निर्वाचन हुँदैछ । तेस्रो चरणको निर्वाचनमा झण्डै छ गुणाभन्दा बढी कूल ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

ससद्धारा प्रेसित एक खबरका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदान केन्द्रमा प्रवेश गर्नुभएका मतदाताले मात्रै मतदान गर्न पाउनुहुने हुँदा सबै मतदाताले एक दिन राष्ट्रका लागि समय प्रदान गरी मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई निर्वाचित गराउन निर्वाचन आयोगले आम मतदातालाई आह्वान गरेको छ।

गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य पदका लागि यो मतदान हुन लागेको हो ।

मतदाताले कुनै कारणबसः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न आयोगले वैकल्पिक व्यवस्थासमेत गरेको छ ।

स्थानीय तह निर्वाचनमा नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई प्रदेश नं २ का जनकपुर, बर्दिवास, वीरगञ्ज र सिमरामा मतदानको दिन अवलोकन भ्रमण गर्नसक्ने व्यवस्था मिलाइएको छ ।

नेपाली नागरिकताको प्रमाणपत्र वा विसं २०७० मा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्बिरसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था आयोगले मिलाएको छ ।