फेरि एकपटक हङकङको सेरोफेरो (भाग तीन)

फेरि एकपटक हङकङको सेरोफेरो (भाग तीन)


यसपालि हङकङ पुगेपछि मैले तीनवर्ष पहिले छाडेर आएको हङकङलाई त्यति साह्रो ठूलो केही परिवर्तन देखिनँ । फरक केवल यहाँका नयाँ केही भौतिक संरचनाहरु निर्माण भएको देखे । खासगरी नेपालीहरुका जीवनशैली उस्तै पाएँ । सोमवारदेखि सप्ताहान्तसम्मको व्यस्तता र छुट्टीको दिनमा आफ्नै व्यवस्थामा तल्लीन रहने जस्ता कुराहरु त्यही हालतमा पाएँ । महँगाइ उस्तै बढेको पाएँ । अन्तर्राष्ट्रिय आर्थिक केन्द्र भएकोले गर्दा विश्वभरिका मानिसहरुको चहलपहल र जनसंख्याको चापले गर्दा पनि महँगाइ बढेको होला जस्तो लाग्यो मलाई । जति महँगाइ बढे पनि खरिदब्रि्रीको गति उस्तै देखेँ मैले । यतिबेला हङकङको आर्थिक स्थिति सुदृढ भएकोले गर्दा गाँस, वास र कपासको लागि हङकङमा केही समस्या भएको देखिनँ । नेपालीहरु सबैले रोजिरोटीको फिकर गर्नु परेको देखिनँ अहिले सरकारले प्रत्येक नागरिकलाई ६ हजार हङकङ डलर राहत दिने कुराले सरकारको ढिकुटी निकै दह्रो भएको संकेत दिएको छ । म स्वयंलगायत परिवारका सबै सदस्य यो राहतको हिस्सेदार बन्न पाएकोमा हङकङ सरकारलाई बधाइ र अभार व्यक्त नगरी रहन सक्तिनँ । हङकङ आएको चारपाँच दिन बितेर गयो । आफन्तहरुका घरमा दिनका दिन पाहुना बन्न पुगेकोले चिल्लोचाल्लो खानपिनचाँहि मज्जाले खाँदै ढाडिँदै थिएँ । दिनांक २२ तारिखको दिनमा मैले पनि आफन्तहरुलाई हङकङको उत्तरपूर्वतिर अवस्थित डीप वाटर बेमा पौडी खेल्ने र बीबीक्यूको पोलेर खाने कार्यक्रम राखेँ । वास्तवमा यसमा छोरीको पनि आग्रह थियो । डीप वाटर बेको तीनतिर स-साना पहाडहरु छन् । यो समुन्द्रको किनारमा अवस्थित सुन्दर पौडी खेल्नेहरुका लागि यातायातको सुविधा भएको ठाउँ हो । पर्यटकीय हिसाबमा छेवैको रिपल्सबे जतिको लोकप्रिय नभए पनि यहाँ हङकङ सरकारका लिजर एण्ड कल्चरल सर्भिस विभागले नुनिलो समुन्द्रमा पौडी खेलेर स्वच्छ पानीमा नुहाउन, कपडा फेर्नकालागि र शौचालायको निकै राम्रो व्यवस्था भएको भवन निमांण गरेको छ । बाटोमुनि समुन्द्रको किनारमा बीबीक्यू पोली-खाने चुल्हाहरु निर्माण गरेको छ । पारिपट्टि ओसियन पार्कको केबलकारहरुका लाइन र सानो पहाड त्यहाँबाट र्छलाङ देखिन्छ । बीचमा गहिरो समुन्द्र भएकोले नै डीप वाटर बे भनिएको होला भन्ने मलाई लाग्यो ।
छोटो समयकालागि डीप वाटर बेको ठीक माथितिर पर्ने यहाँका धनाढ्य मानिसहरुको कोलोनीमा वरिष्ठ सुपरभाईजरको पदमा रहेर जेनेरल सेक्युरिटी कम्पनीबाट टीम इन्चार्जको हैसियतमा काम गरेको थिएँ । त्यतिबेला मैले यहाँ एकाबिहानै चिनियाँ बूढाबूढीहरु हुलका हुल आएर यहाँको पानीमा पौडी खेल्दै गरेका देखेथेँ । किन यसरी एकाबिहानै आएका होलान भनेर मैले कारणचाँहि कहिल्यै सोधिनँ ननै जान्ने कोशिस नै गरेँ । २२ तारिखको बिहानै श्रीमती र छोरीले बीबीक्यूकालागि सौदा गरेका थिए । हामी अलि दिनढलेपछि डीप वाटर बेमा एमटीआर अनि त्यसपछि वसबाट गएका थियौँ । हामी झण्डै १६, १७ जनाका समूहमा थियौ । डीप वाटर बेमा पुग्ने बित्तिकै चुल्हा ओगट्न पुग्यौँ । सबै सामानहरु ठाउँमा पुर्‍याएपछि समूह समूहमा विभाजन भएर पौडी खेल्ने र बीबीक्यू पोल्दै खाने प्रबन्ध मिलायौं । अहा ! यसपालिको पौडी र बीबीक्यूको आनन्द पनि सदा सम्झना रहने खालको थियो । पालैपालो बीबीक्यू पोल्ने, खाने र पौडी खेल्दै अबेर रातिसम्म बसेको सम्झना सदा अविस्मरणीय रहनेछ । कुखुराका पखेटा, पोर्कबेली, ससेज, फिशबाल, माछाहरु, मकै र सक्खरखण्डजस्ता सामग्रीहरु पोलेर खानलाई लगेका थियौं । पिउनका लागि विभिन्न जुस, कोक, पानी र वियर प्रशस्त लगेका थियौं । सासुलाई मधुमेहको बिमार भएकोले गर्दा उहाँलाई खानपिनमा नमज्जा भए तापनि त्यस माहौलमा बच्चाहरुको खुशीमा उहाँको अनुहारमा रौनक आएको अभाश मलाई भएको थियो । उहाँको लागि छुट्टै खाने कुरा लगेका थियौ । उहाँले भन्नुभयो .. यो रोग कस्तो रोग हो केही मीठो खानै नमिल्ने …। साँच्चै भन्नुपर्दा अपार धनको मालिक भए तापनि मधुमेहको रोग लागेपछि मिठास भन्ने वस्तु मुखमा पर्नै नहुने हुन्छ । कस्तो अचम्म, गुलियो छाडेर तीतो खानुपर्ने बिमारी । उहाँले गुलियो औधी मन पराउनु हुन्थ्यो । धेरै फोटोहरु खिच्यौं र भीडीयोमा त्यस पलको सम्झनाहरुलाई कैद गरेर राखेँ । बेलुकि घाम डुब्ने बेलाको दृष्य, समुन्द्र किनारमा बीबीक्यू पोल्दै खाने अनि पौडी खेल्दै मस्त रहने क्षण सदा सम्झना रहने छ । राति ११ बजेतिर मात्र हामी घरमा फर्केका थियौं । खुशी बटुल्न आफैले प्रयास गर्नुपर्दो रहेछ । समयको प्रत्येक पललाई कसरी आनन्दमय बनाउने भन्नेकुरा त्यो आफ्नै जीवन जिउने शैलीमा निहित रहन्छ । मेरो बुझाइमा सकारात्मक सोच राख्ने र आफन्तलाई नजिक ल्याउने प्रयास गरेमा समयमा खुशीका यस्ता क्षणहरु बिताउन पाउँदोरहेछ । हङकङ आएर धेरै ठाउँहरु घुम्ने रहर गरेर मात्र के गर्नु समयले साथ नदिएपछि मन बुझाएर फेरि अर्कोपल्टको लागि भन्दै थाँती राख्नु परेको थियो । कतिपय इष्टमित्रहरु र साथीहरुले बोलाएका निमन्त्रणालाई बाध्यतावश स्वीकार गर्न नसक्दा गुनासो पनि खेप्नुपर्‍यो । तर, हाम्रो स्थितिलाई उनीहरुले पछि बुझेर घरैमा भेट्न आएका थिए । २३ तारिखको बेलुकि पञ्चासे सहयोग समितिका साथीहरुले नाथनरोड, जोर्डनस्थित कोरियन रेस्टुरेन्टमा भेलाको आयोजना गरेका थिए । त्यस दिनभरि म १२ दिने यूरोप भ्रमणको सीडी निकाल्नलाई तिन शुइ वाइस्थित मेरो छोरा पर्ने अमृतको घरमा गएको थिएँ । दिनभरिमा २ वटा मास्टर कपी डीभीडी बनाएर बेलुकि सातबजे मात्र जोर्डन आइपुगेको थिएँ । मान्छेले लगन र मिहिनेत गरेर प्रयास गर्दै बढे कुनै पनि कलामा दक्षा हुन बेर लाग्दैन भन्ने मिशाल छोरा अमृतले गरेर देखाएको छ । हङकङ प्रवेश गर्दा फोटोग्राफीको राम्रो ज्ञान नभएको अमृत अहिले पेशागत हिसाबमा भीडीयोग्राफी र यसलाई सम्पादन गरेर सीडीहरु तैयार पार्न सक्षम भइसकेको रहेछ । एउटा भीडीयोग्राफरको हैसियतमा हङकङमा आफूलाई उभ्याउन सफल भएको रहेछ । त्यसैले म मेरा भ्रमणका चक्काहरु लिएर उसकोमा गएको थिएँ । एमटीआर स्टेशनको छेउमा रहेको काउन्सिल घरमा छोरा अमृत सपरिवार बस्दै आएको छ ।
अहिले हङकङको यातायात सुविधा आजदेखि १५वर्ष पहिलेको भन्दा धेरै राम्रो छ । शुरुमा हङकङ आउँदा हामी युनलोङको ओइनाम स्ट्रिटमा बसेका थियौं । त्यहाँबाट कामको लागि काउलुनतर्फ आउँदा ६८एम नम्बरको बस र एमटीआर भएर आउनुपथ्र्यो । अहिले जोर्डनबाट २० मिनटमा नै एमटीआरले युनलोङ पुर्‍याएको देख्दा खुशी लाग्यो । म ती दिनहरु सम्झन्छु बिहानै उठेर कैयौ नेपालीहरुका जमात चेकलाप कोककालागि चोर बस चढेर चुनमून फेरीसम्म जान्थे अनि त्यहाँबाट फेरीमार्फत अहिलेको हङकङका अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकालागि काममा जान्थे । त्यस्तै ठाउँ-ठाउँमा भइरहेका निर्माण क्षेत्रहरुमा त्यसताका नेपालीहरुले खुबै पसिना बगाए अनि त्यही अनुसार दाम पनि कमाएका थिए । तीन शुइ वाइ र युनलोङ क्षेत्रमा अहिले अग्लो-अग्लो भवनहरुले चारैतिर ढाकिएको छ । हङकङको क्षेत्रफल कम भएकोले गर्दा अग्ला अग्ला भवनहरुले आकाश नापिरहेका छन् ।
म जोर्डन घरमा पुगेर केहीबेर बसेपछि पञ्चासे सहयोग समिति हङकङका साथीहरुले निमन्त्रणा गरेको कोरियन रेस्टुरेन्टतर्फ लागेँ । श्रीमती घरमा आएका अरु पाहुनाहरुसँग व्यस्त रहेकीले म एक्लै गएँ । नाथनरोड हङकङको एकदमै व्यस्त रहने सडकहरुमा पर्दछ । नाथनरोडमा ठूलठूला रेस्टूरेन्ट र होटलहरु छन् । काउलुन क्षेत्रमा सबैभन्दा पहिले बनेको मुख्य सडकहरुमा पर्छ नाथनरोड । मुख्य मोङकोकदेखि चिम शा चुइसम्मको यस सडकलाई हङकङका १३ओ गभर्नर म्याथियू नाथानको नाममा राखिएको हो । शुरुमा १८६१ ताका यस सडकको पहिलो भाग मात्र निर्माण गरिएको थियो । यस सडकलाई गोल्डेन माइलको नाउँले पनि बोलाउने गर्दथ्यो । हङकङमा शपिङका लागि यो सडक प्रख्यात छ । म अहिले यही व्यस्त सडकको एउटा भवनको पाँचतल्लामा रहेको कोरियान रेस्टूरेन्टमा साथीहरुका अतिथ्यमा खुशी बाँडिरहेको थिएँ । साथीहरु धेरै थिएनन, तर, सानो समूहले मलाई कोरियन खानपिन र केहीघण्टा भलाकुसारी गरेर एउटा सम्झनाको डोरोभित्र बाँधेर राखेका थिएँ । मेरो आफ्नै सोल्टी नाता पर्ने कल्पना सोल्टी पनि सेप्टेम्बरको आठ तारिखमा बेलायत आउने योजना रहेको कुरा त्यहाँ नै थाह पाएँ । त्यसरी त्यो साँझ पुरानो साथीहरुसितको जमघटमा बितेको थियो । जीवन एउटा यात्रा झै लाग्छ मलाई । यस जीवन यात्रामा धेरै साथीहरु भेटिन्छन, केहीसमय सँगै हिँड्छौ अनि फेरि बिछुड्छौं । जीवनको अन्तिम समयसम्म यही क्रम निरन्तर रहन्छ । म एउटा मीठो सम्झना लिएर कोरियन रेस्टूरेन्टबाट साथीहरुबाट बिदा भएर फर्केको थिएँ । घर र्फकँदा टेम्पल स्टि्रटको झिलिमिलि प्रकाशमा मैले रेस्टुरेन्टहरुमा लामका लाम मानिसहरु गोलाकार टेबलहरुमा मस्त सीफुडमा (समुन्द्री खाना) रमाइरहेका देखेको थिएँ । मलाई यी दृष्यहरुले एउटा अनुभूति प्रदान गरिरहेको थियो । जीवन पक्का नै भोगाइ हो र यो भोगाइको क्रमिक यात्रा पनि हो किनभने कुनै पनि वस्तु भोग गर्न पाउँदा मानिस अवस्य नै खुशी हुन्छन् ।
आज २४ तारिखको दिन थियो, बिहानै हल्का पानी परेकोले अलि शीतल महशुस भइरहेको थियो । आज बजारमा गएर केही समानहरु किनमेन गर्ने कुरा श्रीमतीले गर्दै थिईन् । मिस्टर लीको प्रशिक्षण केन्द्रमा धेरैवर्ष अघिदेखि काम गरिरहेकी अञ्जली बहिनी र दुर्गा बहिनीले धेरै पटक फोन गरका रहेछन् । मसित आज बेलुकि केही समयका लागि भेटघाट गर्ने आग्रह गरेका रहेछन् । त्यसै दिन युनलोङबाट एकजना नाताले साली पर्ने भेट्न आउने खबर गरेकी थिईन् । समय मिलाउन गाह्रो भईरहेको थियो । हामी खाजा खाईसकेपछि त्यहि नाथान रोड, चिम शा चुइ र जोर्डनका दुकानहरुमा बेलायत लिएर आउने समानहरु किन्यौं । श्रीमतीको समानको लिस्ट यति धेरै थियो कि ती समानहरु किन्नका लागि कम्तीमा पूरा दिन नै लाग्ने थियो । हतारहतार समानहरु किनेर दिनको २ बज्न आँटेको बेलामा घर आइपुग्दा केहीबेर पछि भुन्टी साली पनि हामीलाई आफ्नो पाँच महिने छोरी काखमा च्यापेर आइपुगिन् । दिनको खाना खाएर कुराकानी गर्दा दिन त्यसै बितेर गयो । दिनभरिको शपिङले निकै पसिना बगेको थियो । मैले कान्छी सालीलाई २ वटा फूलको गुलदस्ता किनेर ल्याउनलाई अह्राएँ अनि म स्नान गर्नलाई बाथरुममा पसेँ । म नुहाइसकेर तैयार भइसक्दा २ वटा गुलदस्ता लिएर शान्ति पनि आइपुगिन् । मैले ती २ वटा गुल्दस्ता अञ्जली बहिनी र दुर्गा बहिनीलाई भेट दिनको लागि किन्न पठाएको थिएँ । ती बहिनीहरुसँग मेरो गहिरो अपनत्व सम्बन्ध थियो । म मिस्टर लीको प्रशिक्षण केन्द्रमा प्रशिक्षकको हैसियतमा काम गर्दा ती बहिनीहरुले धेरै मद्दत गरेका थिए । मलाई खुशी यसकुरामा लागेको थियोकि ती दुबै बहिनीहरु म हङकङमा रहँदा नै विवाह बन्धनमा बाँधेका थिए । यतिबेला दुबैले एकदमै सुन्दर छोराहरु जन्माएर उनीहरुका काखमा छोराहरु खेल्दै गरेका देख्दा साह्रै खुशी लागीरहेको थियो । केही दिन नसके पनि मेरोतर्फबाट मायाको एक-एक गोटा गुल्दस्ता र खादा ओर्ढाईदिने धोको थियो । म यस्तै ६ बजेतिर अञ्जली बहिनीले खोलेकी र्साईबरमा गुलदस्ता र खादाहरु लिएर गएँ । बहिनीहरु, उनीहरुका श्रीमानहरु र बच्चाहरुलाई भेटेर केहीबेर भलाकुसारी गरे, बहिनीहरुलाई मायाको चिनो गुल्दस्ताहरु दिएँ र खादा ओढाएर बधाइ दिएँ । उनीहरु साह्रै खुशी थिए । मैले बच्चाहरुलाई पनि लाइसी (चिनियाहरुले रातो खाममा ठूलाबडाले साना बच्चाहरुलाई पैसा दिने चलन) दिएँ । बहिनीहरुलाई अलिबढी समय दिन नसकेकोमा गुनासो गर्दै थिए,तर, केहीबेर त्यहा खानपिन गरेर उनीहरुसँग रमाइलो गरेर कुरा गर्दै बसेँ । समय बाँड्दा बाँड्दा ठिक्क भएको थियो । भोलि हामी मकाउ घुम्न जाने योजना भएको हुनाले म छिट्टो नै बहिनीहरुबाट बिदा मागेर घर फर्केको थिएँ । फेरि अर्को श्रृङखलामा …..