तातोपानी नाका खोल्न चीन गम्भीर रहेको खुलासा

तातोपानी नाका खोल्न चीन गम्भीर रहेको खुलासा


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल–चीन सडक यातायात सम्झौता कार्यान्वयन गर्ने दस्तावेज (प्रोटोकल) संशोधन गरी थप नाका खोल्ने तयारी गरेको छ । २३ वर्षअघि दुई देशबीच सडक यातायातसम्बन्धी सम्झौता भएको थियो । यस विषयमा वार्ता गर्न चीनको सरकारी प्रतिनिधिमण्डल यतिबेला नेपाल आएको छ ।

नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गरी सीमा जोडिएका १३ नाका खोल्न नेपाल सरकारले चीनसँग प्रस्ताव गर्ने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले नेपालका लागि चिनियाँ राजदूतलगायत अधिकारीसमक्ष हिजो सोमबार मन्त्रालयमै भएको भेटघाटका अवसरमा प्रस्ताव गरेका छन् ।

बताइएअनुसार भोली बुधबार मन्त्रालयका अधिकारी र चिनियाँ अधिकारीबीच वार्ता गरी निष्कर्ष निकालिने छ । यसअघि चीनसँग खासा–यारी (हुम्ला), खासा–रसुवागढी, खासा–ओलाङ्गचुङगोला नाका खोल्ने सम्झौता भइसकेको छ भने मन्त्री बलायरले रसुवागढी–हिल्सा, रसुवागढी–कोरला, खासा–कोरला, रसुवागढी–डोल्पा, खासा–डोल्पा, रसुवागढी–दार्चुला, रसुवागढी–ताक्लाकोट, खासा–ताक्लाकोट, रसुवागढी–ओलाङचुङगोला र रसुवागढी–किमाथांका नाका खोल्न चिनीयाँ प्रतिनिधिमण्डलसमक्ष प्रस्ताव गरेका हुन् ।

मन्त्रालय सुत्रका अनुसार तातोपानी नाकासमेत खोल्न चिनियाँ सरकार गम्भीर रहेको खुलासा नेपालका लागि चीनका राजदूतले गरेका छन् ।