मन्त्रिपरिषद् विस्तारप्रति निर्वाचन आयोगको गम्भीर असन्तुष्टि

मन्त्रिपरिषद् विस्तारप्रति निर्वाचन आयोगको गम्भीर असन्तुष्टि


निर्वाचन आयोगले सोमबार भएको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णयप्रति गम्भीर असन्तुष्टि जनाएको छ ।

आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारको असोज २ गते दुई राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गर्ने कार्यले निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने काम भएको जनाएको हो ।

आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आचारसंहिता जारी भइसकेपछि भएको सरकारको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णयबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने, राज्यका संवैधानिक निकायबीच संवैधानिक दायित्वबमोजिमका शक्ति सन्तुलन तथा पृथकीकरणको सिद्धान्तको अवमूल्यन हुने र निर्वाचन आचारसंहिता प्रतिकूल समेत हुने भएकोले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय अविलम्ब सच्याउन आयोग सरकारसँग आग्रह गर्दछ ।’

यसअघि गत भदौ २६ गते पनि आयोगले मन्त्रिपरिषद् विस्तारले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्न सक्ने जनाउँदै यस किसिमका कार्य नगर्न नगराउन सरकारसँग आग्रह गरेको थियो ।

त्यसको उल्लघंन गदै हिजो बसेको मन्त्रिपरिषद् बैठकले दुई राज्यमन्त्रि नियुक्त गरेको थियो ।