पहिरोमा पुरिएकी छोरीको सम्झनामा पुरस्कार

पहिरोमा पुरिएकी छोरीको सम्झनामा पुरस्कार


२०७१ मा सिन्धुपाल्चोकको जुरे पहिरोमा परि मृत्यु भएकी छोरीको सम्झनामा विद्यालयको उत्कृट विद्यार्थीलाई पुरस्कृत गरिएको छ । वनसाँघु माध्यमिक विद्यालयका एक विद्यार्थीलाई स्व. जया श्रेष्ठको सम्झनामा हरेक वर्ष गरिने पुरस्कारमा यो वर्ष पुजा गोलेलाई गरिएको हो ।

५ हजार ५ सय ५५ रुपैयाँ राशी रहेको सो पुरस्कार यो वर्ष बालदिवशको अवसरमा प्रदान गरिएको विद्यालयले जनाएको छ । जुरे पहिरोमा परि मृत्यु भएकी जयाकी पिता रमेशकुमार श्रेष्ठले आफ्नी छोरीको सम्झनामा पुरस्कार स्थापना गरेको विद्यालयका प्रधानाध्यापक बलराम तिमिल्सिनाले जानकारी दिए । जया त्यसबेला कक्षा ७ मा अध्ययनरत थिइन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पढाईमा थप लगाव हुने उद्धेश्यले सो पुरस्कार राशीको घोषणा गरेको विव्यस अध्यक्षसमेत रहेका जयाका बाबु रमेशकुमारले बताए । ‘वर्षभरिका उत्कृष्टमध्ये एक विद्यार्थीलाई सो पुरस्कार हस्तान्तरण गरिन्छ,’ उनले भने, ‘पुरस्कारले विद्यार्थीमा अध्ययनका लागि थप हौसला पुग्ने विस्वास गरेको छु ।’ उनले सो पुरस्कारलाई ‘स्टुडेन्ट अफ दि इएर’का रुपमा हस्तान्तरण गर्ने बताए ।

विद्यालयमा अध्ययन गर्ने कक्षा एकदेखि दस कक्षा सम्मकालाई यो पुरस्कार दिइनेछ । लगनशी, अध्ययनमा उत्कृष्ट र अतिरिक्त क्रियाकलापमासमेत अब्बल हुने विद्यार्थीलाई सो पुरस्कार हरेक वर्षको बाल दिवशको अवसरमा प्रदान गरिने विद्यालयले जनाएको छ । जुरे पहिरोमा जयासहित वनसाँघु माविका ३३ बालबालिकाको मृत्यु भएको थियो ।

विकट गाउँमा पशु स्वास्थ्य शिविर
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकास्थित हगाममा दुईदिने पशु स्वास्थ्य शिविर सम्पन्न छ । जनहित ग्रामीण सेवा समिति र अक्सफामको साझेदारीमा नेपाल भूकम्प पुनर्लाभ २०१७ परियोजना शिविर सञ्चालन गरिएको हो ।

भदौ अन्तिम साता गाउँपालिकाअन्तर्गत वडा नं. ६ र ७ का पशुपंक्षीका लागि उपचारका साथै निःशुल्क औषधि वितरण गरिएको जनहितका जिविकोपार्जन अधिकृत भरतविक्रम थापाले जानकारी दिए । ‘पशुहरुमा लाग्ने बाह्य तथा आन्तरिक परजिबी नियन्त्रण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको हो’, थापाले भने ।

पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. कल्याणकुमार श्रेष्ठको नेतृत्चमा नायव पशु स्वास्थ्य प्राविधिक रमेश घिमिरे र नायव पशु स्वास्थ्य प्राविधिक सन्जिव लामा शिविरमा उपचार भएको थियोे । शिविरमा २ सय २६ घर धुरीका ३ हजार ८ सय ४१ पशुपन्छीको उपचारका साथै निःशुल्क औषधि वितरण गरिएको वरिष्ठ पशु विकास अधिकृत डा। कल्याणकुमार श्रेष्ठले जानकारी दिए । शिविरमा धेरै पशुहरुमा लाग्ने नाम्ले, जुका, उपियाँलगायतका रोगहरूकोे लागि औषधि वितरण गरिएको उनले बताए ।

‘आजसम्म पशुको उपचारका लागि गाउँमा शिविर आएको थाहा थिएन’, जुगल गाउँपालिका–७ कि शंखलक्ष्मी तामाङले भनिन्, ‘आज आँगनमै आफ्नो पशुको उपचार गर्न पाइयो ।’ उनले निशुल्क औषधिसमेत पाएकाले आफू खुशी भएको प्रतिक्रिया दिइन् ।

आफ्नो पशुको उपचार गराएकी सुनिता विकले पशुलाई आवश्यक औषधि लिन जलवीरसम्म जानुपर्ने बाध्यताबाट मुक्ति पाएको बताइन् । ‘यो अलि कमी भयो, कम्तीमा सात दिनसम्म शिविर चलाएमा गाउँका सबैले आफ्नो पशुको उपचार गर्न पाउने थिएँ’, उनको सुझाव थियो ।