शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी हुँदै

शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी हुँदै


नेपालको इतिहासकै सबैभन्दा ठूलो आकारको मन्त्रिमण्डल बनाएर प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई बाहिरबाट ‘सुरक्षित’ तुल्याएको भए पनि आफ्नै पार्टीभित्र भने उनीविरुद्धको आक्रोश भुसको आगोझैँ सल्किँदै गएको छ । देउवासँग असन्तुष्टहरूबीच आपसी शङ्का र अविश्वास कायम रहेकोले मात्र देउवाका विरुद्ध सङ्गठित प्रहार सुरु नभएको देखिन्छ । तर, पार्टीभित्रका असन्तुष्टहरू सबैलाई एकत्रित तुल्याउने प्रयास विभिन्न प्रकारले भइरहेको छ र उक्त प्रयास सफल भएमा देउवाले अनपेक्षित सङ्कटको सामना गर्नुपर्ने देखिन्छ ।

राजदूत नियुक्ति र आईजीपी नियुक्तिलगायतका प्रकरणमा नेतृत्व बदनाम र पार्टी रक्षात्मक हुन पुगेपछि काङ्ग्रेसभित्र देउवाविरुद्ध सङ्गठित अभियान सुरु हुनै लागेको थियो । तत्कालै स्थानीय चुनाव आएकोले असन्तुष्ट पक्ष सहेर बस्न बाध्य भएको थियो । दुई नम्बर प्रदेशको चुनावका कारण असन्तुष्टहरूले लामो धैर्य गर्नुप¥यो । दुई नम्बर प्रदेशको चुनावमा पार्टीका महत्वपूर्ण एवम् प्रभावशाली नेताहरूलाई सामान्य जानकारीसम्म नदिई उम्मेदवार चयन गरेको र यस कार्यमा विमलेन्द्र निधिलाई मुख्य जिम्मेवारी दिएको कुराले असन्तुष्टि थपेको छ । यो असोज महिनाभित्रै देउवाले समस्याको पहिचान गरी समाधान गर्ने र असन्तुष्टि मत्थर तुल्याउन कुनै विशेष अग्रसरता लिएनन् भने देउवाविरुद्ध सङ्गठित प्रहार हुने सङ्केतहरू देखिएका छन् ।

स्थानीय निर्वाचनमा उम्मेदवार चयन गर्नुअघि पार्टीको संसदीय बोर्ड गठन हुने अपेक्षा राखिएको थियो । तर, देउवाले ‘कृपा गरेर’ उपलब्ध गराएको कोटामा नेताहरूले चित्त बुझाउनुपर्‍यो । मन्त्रिमण्डलमा पनि योग्यता, क्षमता र पृष्ठभूमिलाई आधार नबनाई केही नेताका नाममा कोटा उपलब्ध गराएका देउवाले संसद् र प्रदेश सभा निर्वाचनमा उम्मेदवार निर्धारणसमेत ‘कोटा’ बाँडेर गर्ने हो कि भन्ने आशङ्का बढेको छ । नेताहरू पदाधिकारी चयन गर्न, केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन र संसदीय बोर्ड गठन गर्न विलम्ब भएकोमा चिन्तित बनेका छन् । सभापति देउवा भने आफूले चाहेको काम–कुरामा पार्टीका अरू नेताहरूले बाधा पुर्‍याउने त्रास र चिन्तामा देखिन्छन् । पदाधिकारी चयन गर्ने, कार्यसमितिलाई पूर्णता दिने र संसदीय बोर्ड गठन गर्ने कार्य सम्पन्न भइसकेपछि आफूले ‘खेल्ने ठाउँ’ नरहने र सामूहिक निर्णयबाट पार्टी सञ्चालन गर्नुपर्ने स्थिति आउने भएकोले पनि देउवाले त्यतातिर रुचि लिइरहेका छैनन् । संसद् र प्रदेश सभाको टिकट वितरणसमेत संसदीय बोर्ड गठन नगरीकन गर्दा आफ्नो हात माथि पर्ने भएकोले देउवा बोर्ड गठन गर्ने मानसिकतामा देखिएका छैनन् । असन्तुष्ट नेताहरू संसदीय बोर्ड तत्काल गठन गरेर मात्र टिकट वितरण हुनुपर्छ भन्ने अडानमा छन् । त्यसैले यही विषयलाई लिएर काङ्ग्रेसभित्र विवाद र विग्रह उत्पन्न हुन सक्ने सम्भावना छ ।

देउवाको सोच र समग्र कार्यशैलिप्रति नै असन्तुष्टि बढ्दै गएका बेला संसदीय बोर्डको गठन तथा पदाधिकारी चयनसम्बन्धी विषयले काङ्ग्रेसमा तनाव बढाउने सम्भावना देखाएको हो । अहिले देउवासँग असन्तुष्ट नेताहरूमा रामचन्द्र पौडेल, डा. रामशरण महत, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, प्रकाशमान सिंह, सुजाता कोइराला र गगन थापा मात्र रहेनन्, देउवाको टिमकै भनेर चिनिएका कतिपय नेतासमेत देउवाविरुद्ध भड्किने सम्भावना बढेको छ । खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, डा. नारायण खड्का, शङ्कर भण्डारी र देवेन्द्र कँडेललगायतले पनि देउवाका बारेमा पुनर्विचार गर्न सक्ने सङ्केत देखिएका छन् । महामन्त्री डा. शशाङ्क कोइराला यसअघि कुनै न कुनै रूपले देउवाबाट उपयोग–प्रयोग हुँदै आएका थिए । अब उनी पनि देउवाको कार्यशैलीप्रति सचेत भइसकेको बताइन्छ । उल्लिखित नेताहरूबीच परस्पर विश्वासको सङ्कट भएकोले सङ्गठित पहल हुन सकिरहेको छैन । तर, सङ्गठित पहलका निम्ति उच्च गतिमा प्रयास भने भइरहेको छ । दसैँलगत्तै देउवाविरुद्ध सङ्गठित पहल हुन सक्ने सम्भावना बढेको छ ।

विमलेन्द्र निधिलाई उपसभापति र ज्ञानेन्द्रबहादुर कार्कीलाई महामन्त्री बनाउने योजना/चाहना देउवा र आरजुको भएको बुझिन्छ । तर, केन्द्रीय समितिबाट अनुमोदन हुनुपर्ने भएकोले चाहनाबमोजिम मानिस चयन गर्न नसक्ने अवस्थामा देउवा छन् । रामचन्द्र पौडेल या खुमबहादुर खड्कामध्ये एकलाई विश्वासमा नलिने हो भने देउवाले जुन पदमा जसलाई नियुक्त गरे पनि त्यसको अनुमोदन हुनेछैन । रामचन्द्र पौडेलको टिमलाई सहमहामन्त्री पद दिएर देउवाले केन्द्रीय कार्यसमितिमा बहुमत पुर्‍याउने अनुमान एकथरीले गरेका छन् । तर, पौडेल पार्टीको भविष्यलाई लिएर ज्यादा चिन्तित भएकोले देउवासँग सानातिना कुरामा सम्झौता गरेर उनी अघि बढ्ने ठानिएको छैन । पौडेल, खड्का, सिटौला, प्रकाशमान, डा. महत, डा. शेखर, डा. शशाङ्क र गगन थापा एक ठाउँमा उभिए भने देउवाले थेग्नै नसक्ने आँधी–बेहरी काङ्ग्रेसभित्रै पैदा हुने विश्वास गरिएको छ ।