बृहत् प्रभातफेरिका साथ मुटु दिवस सम्पन्न

बृहत् प्रभातफेरिका साथ मुटु दिवस सम्पन्न


विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बरदेखि मनाउन थालिएको विश्व मुटु दिवस यस वर्ष सेप्टेम्बर २९ का दिन विश्वभर अर्थात् विश्व मुटु महासंघका १ सय ५० भन्दा बढी सदस्य राष्ट्रहरूमा मनाइँदै छ ।

विश्व मुटु महासंघको सन् २००५ को तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष १ करोड ७५ लाख भन्दा बढी मानिसहरूले रक्तनली, पक्षाघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन् । हाल उक्त संख्या बढेर २ करोड नाघिसकेको अनुमान छ । तसर्थ, मुटुरोगलाई संसारकै एक नम्बरको ज्यानमारा मानिन्छ ।

हाल विश्वमै मानव मृत्युको प्रमुख कारण हुँदै त्यसले सिर्जना गर्ने सामाजिक र आर्थिक बोझमा पनि मुटुजन्य रोग जस्ता नसर्ने रोगको हिस्सा एक नम्बरमै रहेको छ । त्यसखाले विकराल समस्याबाट जोगिने भनेकै मानिसहरूलाई रोग लाग्नबाट कसरी बचाउने भन्ने हो । यसमा जनचेतनाको अत्यन्तै ठूलो भूमिका रहन्छ ।

विश्व मुटु विदसका अवसरमा संसारभर नै वृहत् मुटु परीक्षण शिविरहरू, वैज्ञानिक गोष्ठी तथा कार्याशालाहरू एवम् जनचेतनाको अभिवृद्धि गराउने खालका प्रवचनलगायत प्रभातफेरि जस्ता कार्यक्रमहरू गरिन्छन् ।

यसै सिलसिलामा नेपाल हार्ट नेट (मुटुजन्य रोग रोकथाम र उपचार गर्ने-गराउने १९ संघ संस्थाहरूको छाता संगठन) लगायत बिरामी चिकित्सकसहित नर्भिक इन्टरनेशनल हस्पिटलको संयोजकत्वमा शनिबार काठमाडौंमा एक वृहत् प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको छ । प्रभातफेरिमा नर्भिक हस्पिटलका मुटुरोग विशेषज्ञहरू, कर्मचारीहरू लगायत अन्य हस्पिटलका मुटुरोग विशेषज्ञहरू, संघ संस्थाका पदाधिकारीहरू गरी करिब ४०० जना सहभागी थिए ।