लण्डन । यतिखेर बेलायतमा रहेको नेपाली समुदाय संगीतमय बनिरहेको छ । कन्दरा ब्याण्डका चर्चित गायक विवेक श्रेष्ठको एकल साँगीतिक कार्यक्रम Live Musical Tour 2012 “SONGS FOREVER” को शुरुवातसँगै यो परिवेशको सृजना भएको हो । बेलायतका विभिन्न ठाउँमा गर्न भनिएको कार्यक्रमको शुरुवात २८ जनवरी सरस्वती पूजाको दिन पारी साउथ इस्थ लण्डन प्लमस्टेडबाट भएको सो कार्यक्रम यो साता निरमाया रोधीघर अल्डरसटमा अत्यधिक सफलताका साथ सम्पन्न भएको छ ।
दुई चरणमा विभाजन गरिएको सो कार्यक्रमको पहिलो चरणमा गायक श्रेष्ठले सदाबहार गीतहरु स्वर्गीय स्वर सम्राट नारायण गोपालको मलाई नसोध र तिमीले भनेका, दीप श्रेष्ठको बितेका कुराले र म त दूरदेखि आएँ, ओम बिक्रम बिष्टको म मौनतामा, डेनी डेङ्जोङ्पाको चिसो-चिसो हावामा, सुक्मित गुरुङको पल पल, गुलाम अलीको लोलाएका ती आंखा प्रस्तुत गर्दा उपस्थित दर्शकहरु मन्त्रमुग्ध भई संगीतमा झुमेका थिए । यसैगरी कार्यक्रमको दोस्रो चरणमा आफ्नै समूह कन्दरा बैण्डका चर्चित गीतहरु “हङकङ पोखरा, लेककी हे माया…….लगायतका थुप्रै गीतहरु प्रस्तुत गर्दा दर्शकहरु आफ्नो स्थान छोडी स्टेजसामु गई नाच्न पछि परेनन् । सो साँझमा गायक श्रेष्ठलाई कोरस ब्याण्डले साथ दिएको थियो जसमा गंगा थापा, रोशन गुरुङ र अमित रेशमी मगर गितारमा, तबला र मादलमा सनोज थापा र एलन श्रेष्ठ ड्रममा रहेका थिए ।
प्रतिकुल मौसमका बावजुत पनि दर्शकको बाक्लो उपस्थिति रहेको सो कार्यक्रम निरमाया रोधीघरमा बिगतका दिनहरुमा गरिएका सबै कार्यक्रमभन्दा उत्क्रृष्ट भएको र आगामी दिनमा पनि यस्तो कार्यक्रम गर्न आयोजकसँग कुरा गर्ने रोधीघरका म्यानेजर बाचस्पति रेग्मीले बताए ।
कार्यक्रममा एन.आर.एन यूकेका पूर्व अध्यक्ष सूर्य गुरुङ, तमू धिं यूकेका अध्यक्ष मुक्षेत्र गुरुङलगायत थुप्रै संगीत प्रेमीहरुको उपस्थिति रहेको थियो । यसैगरी उक्त सांगीतिक कार्यक्रममा हिमालयन वैण्डका नोर्देन तेन्जिङको उपस्थितिसमेत रहेको थियो । उनले दर्शकहरुको अनुरोधमा अस्वस्थ्य भएता पनि “मुसु मुसु हाँसी देऊ न लैलै, गाजलुले आ“खै छोप्ने…” बोलका गीतहरु प्रस्तुत गरेका थिए ।
सौहाद्रपूर्ण पारिवारिक वातावरणमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन यस टुरका संयोजक मनोज कुमार गुरुङले गरेका थिए । यसैगरी के.के. मुभिज प्रोडक्सन एवं नेपाली टी.भी का कुशल श्रेष्ठ, गंगा सापकोटा र सुदेश गुरुङले कार्यक्रमको सम्पूर्ण दृश्य लाइभ प्रस्तुत गर्नुका साथै विज्ञापनदाताहरुको विज्ञापनलाई क्रमश प्रस्तुत गरेका थिए ।
गायक श्रेष्ठको समूहले तेस्रो कार्यक्रम ब्रेकन, वेल्समा गर्दै छन् । उनले आफ्नो सांगीतिक यात्राको क्रममा बेलायतका विभिन्न ६ स्थानमा आफ्नो कला प्रस्तुत गर्ने कार्यक्रमका संयोजक मनोज गुरुङले बताए । -कुशल श्रेष्ठ,मेस
प्रतिक्रिया