‘ज्याक अफ अल मास्टर अफ नन्’ प्रचण्ड

‘ज्याक अफ अल मास्टर अफ नन्’ प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले खेलाडीका रुपमा आफू ‘ज्याक अफ अल मास्टर अफ नन्’ भएको बताएका छन् । अखिल नेपाल खेलकुद महासंघले २०७४ सालको विजयादशमी, शुभ दिपावली, छठलगायत पर्वहरूको उपलक्ष्यमा हालै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा दाहालले उक्त कुरा बताएका हुन् ।

‘मैलै आफ्नो बेलामा धेरै खेल खेलेँ । फुटबल, भलिबल, दौड, कराते, घोडचढी, बक्सिङ, टेबलटेनिस खेलेँ तर कुनैमा पनि पोख्त छैन म । टेबलटेनिस त म अहिले पनि स्वास्थ्य मेन्टेन गर्न नियमित खेल्छु । एल्बोमा समस्या देखिएकोले २-३ महिना भयो टेनिस खेलेको छैन । यसो भनेर मैले खेलकुदप्रति मेरो सद्भाव र लगाव छ भन्न खोजेको हुँ,’ प्रचण्डले भने ।

शान्तिप्रक्रियामा आएदेखि खेलकुद जगतलाई जसरी व्यवस्थित र विकसित गर्न सकिन्थ्यो त्यो नभएकोमा प्रचण्डले चिन्ता व्यक्त गरेका थिए । सो अवसरमा खेलकुद कुनै पनि देशको संस्कृति, सभ्यता र योग्यता चिनाउने माध्यमका साथै एकताको मध्यम भएको बताउदै स्वस्थ जीवनका लागि मात्र नभई स्वस्थ राष्ट्र निर्माणका लागि खेलकुद अपरिहार्य भएको धारणा व्यक्त गरेका थिए ।

गृहमन्त्री जनार्दन शर्माले खेलकुदमा रहेको विवादलाई अन्त्य गरी खेलाडीलाई ढुक्कसंग खेल्ने वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिए । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले पार्टीको स्वार्थका लागि नभई खेलकुदको विकासमा टेवा पुऱ्याउने उद्देश्यले राजनीतिक पार्टीले खेलकुद संगठन खोल्नु राम्रो पक्ष भएको विचार व्यक्त गरे ।

अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइरालाले खेलकुदको विकास र खेलाडीको हितमा महासंघ एक ढिक्का भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम महासंघका उपाध्यक्ष एवं राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव राजकुमार कार्कीले सञ्चालन गरेका थिए ।