बढी भाडा असुल्ने यातायातकर्मी साधा प्रहरीको निशानामा

बढी भाडा असुल्ने यातायातकर्मी साधा प्रहरीको निशानामा


दशैँको समयमा सरकारले निर्दिष्ट गरेको यातायात भाडाभन्दा बढी लिने व्यवसायीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कडा कारबाही गर्ने भएको छ । सर्वसाधरण यात्रुलाई ठगी गर्ने व्यवसायीमाथि निगरानी गर्न सादा पोसाकमा प्रहरी तथा कर्मचारीलाई परिचालन गरिएको सो मन्त्रालयकी राज्यमन्त्री सीता गुरुङले खुलासा गरेकी हुन् ।

नेपाल यातायात महिला चालक समूहले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा राज्यमन्त्री गुरुङले चाडबाडको मौका छोपेर चलनचल्तीभन्दा दोब्बर भाडा लिएको समाचार आएपछि सरकारले त्यस्ता व्यापारीलाई कारबाही गर्ने निर्णय गरेको बतायन् । ठगीमा संलग्न सम्बन्धित व्यवसायीको सवारीलाई दिइँदै आएको सडक इजाजतसमेत खारेज गर्न सकिने उनको दाबी छ ।

पेट्रोलियम पदार्थको खरिदमा ठूलो धनराशि विदेशिएकाले यसको प्रयोगलाई न्यूनीकरण गर्न विद्युतीय सवारीसाधनको प्रयोगकर्तालाई विभिन्न सहुलियत उपलब्ध गराइने नीति रहेको पनि राज्यमन्त्री गुरुङले जानकारी दिइन् । उनले काठमाडौँमा करिब दुई हजार टेम्पो चालक महिला रहेको उल्लेख गर्दै उनीहरुको आयआर्जनको वैकल्पिक व्यवस्था नगर्दासम्म टेम्पो सञ्चालनलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन् ।

सो अवसरमा नेपाल यातायात महिला चालक समूहका अध्यक्ष मीना चन्दले समाजमा महिला सशक्तीकरणका लागि उनीहरुलाई उत्पादनसँग जोड्न व्यावसायिक तालिम जरुरी रहेको बताउँदै आफ्नो संस्थाले महिलालाई चालक तालिम उपलब्ध गराएर दक्ष बनाउने गरेको र उनीहरुलाई सरकारी सवारीसाधन सञ्चालनमा प्राथमिकतामा राख्नुपर्ने माग गरिन् ।