चन्द्रगिरिमा उभिए पृथ्वीनारायण, राष्ट्रपति विद्याद्वारा शालिक अनावरण

चन्द्रगिरिमा उभिए पृथ्वीनारायण, राष्ट्रपति विद्याद्वारा शालिक अनावरण


काठमाडौंको चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा निर्मित नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रागिरि हिल्समा आयोजित विशेष समारोहकाबीच अनावरण गर्नुभएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित ५ फिट ८ इन्च उचाइको सो शालिक मुर्तीकार नवीन सुवेदीले निर्माण गर्नुभएको हो ।

पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणको अभियानका क्रममा राजनीतिक र धार्मिक रुपले सम्बन्धित रहेको यस चन्द्रागिरिमा उहाँको शालिक राख्नु नेपाली इतिहासको संरक्षण र सम्बर्धनमा एक महत्वपूर्ण योगदान पुग्ने भएकोले शालिक निर्माण गरिएको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ ।

नेपालको एकीकरण अभियानकै क्रममा पृथ्वीनारायण शाह मकवानपुर र नुवाकोटको यात्रा चन्द्रागिरिको बाटो हुँदै गर्नुभएको र उहाँले काठमाडौंं उपत्यकाको सुन्दरताका साथै असोज महिनामा यहाँ फलेको लहलह धानदेखि लोभिएर बडो खेतीयोग्य जमिन रहेछ भनी आफ्नो राज्य विस्तारका क्रममा यस काठमाडौँ उपत्यकामाथि नै विजय प्राप्त गर्ने अभियानस्वरुप योजना बनाउनुभएको इतिहास छ ।

त्यस्तै उहाँले हाल भालेश्वर मन्दिर रहेको स्थानमा बसेर यति काठमाडौं उपत्यकामाथि विजय प्राप्त गर्न सकौँ भनी कामना गर्नुभएको तथ्य पनि इतिहासमा भेटिन्छ । यी दुई पक्षको ऐतिहासिकताको सम्बर्धनका लागि यो शालिक निर्माण गरिएको जनाइएको छ । यसले गर्दा यो क्षेत्र नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पक्षको संगमस्थलका साथै एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ ।

उक्त अनावरण कार्यक्रमलाई सम्बोधनगर्दै सम्माननीय राष्ट्र विद्यादेवी भण्डारीले वर्तमान विशाल नेपालको जग एकीकरणको समयमै बसालिएको प्रसंग उल्लेख गर्दै तत्कालीन अन्तर्राष्ट्रिय परिस्थिति र सामाजिक परिवेशमा सबै जातजाति, भाषाभाषी र स साना सामन्ती राज्यरज्यौटाहरुलाई एकताको सुत्रमा बाँधेर सबल र एकीकृत राज्य निर्माण गर्नु तत्कालीन आवश्यकता भएको र त्यस ऐतिहासिक कार्यलाई पृथ्वीनाराण शाहले सम्पन्न गर्नुभएको बताउनुभयो ।

उहाँले प्राकृतिक सौन्दर्यले सुशोभित यस पुण्यभूमिको पर्यावरणीय संवेदनशीलतालाई कायमै राखी स्थानीय जीवनस्तर उकास्ने तथा पर्यटनको विकासमार्फत नेपालको समृद्धि हासिल गर्ने काममा यस संस्थाले अहम भूमिका निर्वाह गर्नसक्ने अपेक्षा आफुले गरेको धारणा पनि राख्नुभयो ।

सो समारोहलाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायाण देवले यस चन्द्रागिरि हिल्सले केवलकारको निर्माणमात्र नभएर सांस्कृतिक एवम् धार्मिक पर्यटनको विकासका एकीकृत योजनाहरु ल्याई प्रसंशनीय काम गरेको चर्चा गर्नुभयो ।

सो सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नाराणकाजी श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, पूर्व अर्थमन्त्री डा.रामशरण महत, राजपाका नेता शरतसिंह भण्डारी, सभासदहरु विनोद श्रेष्ठ, सुवाससिंह ठकुरी, प्रेमबहादुर सिंह लगायतले यस ऐतिहासिक स्थलमा पृथ्वीनारायण शाहको शालिक निर्माण गरेर इतिहासको संरक्षण र सम्बर्धनका लागि यस चन्द्रागिरि हिल्स लिमिटेडले प्रशंसनीय कार्य गरेको बताउनुभयो ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले छोटै समयमा यो पर्वत काठमाडौं र समग्र देशबासीकै आकर्षक पर्यटकीय एवम् धार्मिक गन्तव्यका रुपमा स्थापित भइसकेको जानकारी दिनुभयो । उहाँले यस लिमिटेडले यस क्षेत्रलाई आगामी दिनमा एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने विभिन्न कार्यक्रमहरुको पनि जानकारी गाराउनुभयो ।

लिमिटेडका एक लगानीकर्ता मीनबहादुर गुरुङले राष्ट्रपति भण्डारीसहित आमन्त्रित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । आइतबार चन्द्रागिरि हिल्समा आयोजित विशेष समारोहमा मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता, सांसदलगायत विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति थियो ।