यसरी पनि सोच्ने कि ?-बबिता बस्नेत

यसरी पनि सोच्ने कि ?-बबिता बस्नेत


वर्षभरिको सबैभन्दा ठूलो चाडका रूपमा मनाइँदै आएको दसैं भर्खरै सकिएको छ । दसैं सकिए पनि यसको ‘ह्याङओभर’ उत्रिएको छैन, हाम्रा लागि दसैं नै यस्तो चाड हो जो आउनुभन्दा धेरै अघिदेखि सकिएको निकै पछिसम्म चर्चामा रहन्छ । दसैंअघि साथीहरू, नातेदार जो-जहाँ भेटिए पनि पहिलो वाक्य हुन्छ, दसैं कता – दसैंमा के गर्ने ? या कसरी मनाउने योजना छ त ? तुरुन्तै हुने र सकिने काम पनि दसैंपछि गर्ने भनेर त्यसै पन्छाइन्छ, ‘एक्स्क्युज’ दिन्छ दसैंले । दसैं सकिएको हप्ता दिनभन्दा बढी बितिसक्दा जसलाई भेटे पनि हामी सोधिरहेका छौँ, दसैं कस्तो भयो – वास्तविकता जे-जस्तोसुकै होस् ‘रेडिमेड’ जवाफ आइरहेकै छन्-राम्रो भयो, रमाइलो भयो । कतिले अभावमा कटाए होला, कतिले एक्लोपनबीच अनेक तर्कनामा बिताए होला, विगतमा घरभरि छोराछोरी हुनेहरूको दसैं बाहिर गएका सन्तान एकजना पनि नआउँदा रित्तो आँगनमा बित्यो होला । तथापि औपचारिकतावश सबैले भनिरहेकै छन्- राम्रो भयो । दसैंमा किताब पढ्नेहरूका कुरा छापामा आइरहेका छन्, ज-जसले लेख्न भ्याए भविष्यमा आउने नै छन् । खासमा चाडबाड भन्ने कुरा सांस्कृतिक निरन्तरतासँगै अनुभूति पनि हो । तिहार हाम्रो आँगनमै आइसकेको छ, रमझम सुरु भइसकेको छ । दसैं र तिहारबीच फरकहरू धेरै छन्, त्यसमध्ये आश्चार्यजनक भिन्नता के हो भने दसैं जहाँ हामी बडो गर्वका साथ पशुको बलि दिन्छौँ- राँगा, बोका, हाँस, भेडा आदि । तिहार जहाँ पशुको पूजा गरिन्छ, गाई, गोरु, कुकुर र साथमा पक्षी कागको पनि । महानवमीका दिन प्रायः आँगनभरि रगत बगाएर खसीको मार हानिन्छ -हिजोआज घरमा मार नहानी बाहिरै काटेर मासु घरमा ल्याउने चलन पनि बढ्दै गएको छ) । दसैं आउनुभन्दा १५ दिनअघिदेखि काठमाडांै, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा खसी, बोका, च्याङ्ग्रालाई बाँधेर बेच्नका लागि म्याँ-म्याँ गराउँदै राखिन्छ । परम्परालाई धान्ने नाउँमा -वास्तविकतामा दसैंभरि मासु खान) हामीले पनि विगत वर्षहरूमा झैं फूलपातीका दिन खसी किनेर ल्यायौँ, छानी-छानी बडो बान्की परेको हिमाली भेगमा हर्ुर्किएको भनेर बिक्रेताले वर्णन गरेको ४० केजीको खसी भाइले ल्याएपछि पूरै दसैंले छोएको भान पनि भयो । घरमा मार नहान्ने भनेर महाअष्टमीका दिन मासु पसलमा काट्न दिने निर्णय पहिल्यै भएको थियो । दिउँसो ल्याएको खसी बेलुकासम्ममा हामीसँग झ्याम्मिन थाल्यो, हामीलाई देख्यो कि म्याँ गरेर कराउन थाल्यो, मकै, घाँस जे दियो त्यही खान थाल्यो । राति भित्र हुलेपछि भान्सामै आउन खोज्यो, हामीले निष्कर्ष निकाल्यौँ कि यो कसैले घरमै थोरै समूहमा मायाँ गरेर हर्ुकाएको खसी रहेछ । भोलिपल्ट काट्नका लागि बिहानै मासु पसलमा पुर्‍याइयो र काटियो पनि । दसैं सकिन लाग्दासम्म पक्कुलगायतको परिकारको खुब चर्चा भयो, पाहुना नातेदार सबैले तारिफ गरे । मासु सकिएपछि बुबाले भन्नुभो- तिमीहरूलाई नराम्रो लाग्ला भनेर मैले नभनेको, मैले काट्नका लागि पसलेलाई छोडेर आउँदा मलाई हेर्दै म्याँ-म्याँ गरेर खसी कराइरहेको थियो, मलाई त कस्तो नरमाइलो लाग्यो । बिनाप्रतिक्रिया मैले सोचेँ- ओहो, बिचरा त्यो खसीलाई कति ठूलो भरोसा रहेछ हामीसँग, त्यसैले त अपरिचित ठाउँमा एक्लै छोड्दा ऊ आत्तिएर करायो । तर, उसको भरोसालाई मात्र होइन हामीले उसैको हत्या गर्‍यौँ, अलिकति गहिरिएर सोच्ने हो भने यो कति धेरै ग्लानिको कुरा हो ।
मानिस र पशुबीच धेरै फरक छन्, मानिस बोल्न सक्छ पशु सक्दैन, मानिसमा विवेक छ पशुमा छैन । आकार-प्रकार जे-जेमा भिन्नता भए पनि पशुलाई उनीहरूको चारित्रिक विशेषताका आधारमा परिभाषित गर्न सकिन्छ तर मान्छेलाई सकिन्न । पशुले के खाने, के नखाने, कहिले बच्चा पाउने, कसलाई मित्र मान्ने, कसलाई शत्रु ठान्ने सबै निश्चित छ । तर, यी सब कुराहरू मानिसका सवालमा लागू हुँदैनन् । सिंहले मृगलाई खान्छ भन्ने पहिल्यै थाहा हुन्छ त्यसैले परैबाट सिंहलाई देख्नेबित्तिकै मृग-हरिणहरू ज्यान छोडेर भाग्छन् । हरिणले हरिणलाई क्षति पुर्‍याउँदैन, भैंसीले भैंसीलाई हानेर मार्दैन । तर, मानिस — विश्वासका साथ सँगै हिँडेको साथीले कहाँ कतिबेला भित्रभित्रै सखाप पारिरहेको हुन्छ थाहै हँुदैन । शत्रु भनेर चिनिएकाहरूसँग भन्दा आफ्नै मित्र भनिनेहरूसँग जोगिन गाह्र्रो छ मान्छेलाई, मानिसले जस्तो बेइमानी पनि पशुले गर्दैनन् । मानिसमाथि घरपालुवा जनावरको ठूलो भरोसा रहेको देखिन्छ, कुकुर, गाई, गोरु, खसी, बाख्रा, राँगा, भैंसी आदि । तर, लामो समय दूध खाएर बुढेसकाल लागेपछि गाई-भैंसीलाई हामी सजिलै बेचिदिन्छौँ, गल्लीमा बेसाहारा छोडिदिन्छौँ या कतिपय जातिमा त काटेर खाने चलन पनि छ । गोरु, राँगा, गधाजस्ता कामदार जनावरहरूको अवस्था त झनै दयनीय छ । गोरु र राँगालाई खेतबारी जोत्नमा प्रयोग गरिन्छ, औंसी र पूरि्णमाका दिनबाहेक गोरुले कहिल्यै फुर्सद बस्न पाउँदैनन्, कामको बोझअनुरूपको उनीहरूको खानामा ध्यान दिइँदैन । जोत्दाजोत्दै गोरु ढिलो हिँडे भनेर मानिसले तिनलाई कुटेको देख्दा लाग्छ गोरु होइन मान्छेचाहिँ पशु हो । गोरुको काँध हेर्ने हो भने जुवाले रगड्दारगड्दा रगत नै आउन नसक्ने भइसकेको हुन्छ तर त्यहाँ औषधि लगाइदिऊँ भनेर सोचिएको पनि हुँदैन । वर्षायाममा जोत्न प्रयोग हुने गोरु र राँगाको दुर्दशा हेर्न नसकिने प्रकारको हुन्छ तर मानिसलाई उनीहरूलाई गाह्रो भएको महसुस पनि भएको पाइँदैन । यस्तै अर्का कामदार पशु हुन् गधा र घोडा । भारी बोक्ने काममा सक्रिय गधाहरू पीप, रगत बगुन्जेल काम गरिरहेका छन् तर काम लगाउने मानिस तिनको दुखाइमा अलिकति पनि संवेदनशील छैनन् । घोडाका दुर्दशा हेर्न नेपालगञ्जलगायतका अन्य सीमाक्षेत्रहरू काफी छन् जहाँ घोडाले बिहान उज्यालो नहँुदैदेखि बेलुका अँध्यारोसम्म टाँगा तानिरहेका हुन्छन् । कामकै बीचमा पनि तिनको पुच्छरमा घोच्ने, पिट्नेलगायतका यातना त्यत्तिकै दिइन्छ, कतिपय घोडाका खुट्टाभरि घाउ हुन्छन्, कतिका जीउभरि खटिरा देखिन्छन् तर तिनका मालिकहरूलाई त्यसको मतलब छैन, केवल काम खान पाए पुग्यो । भुस्याहा कुकुरलाई गर्ने व्यवहार त झनै वर्णन गरिनसक्नुको छ । हामी मानिसलाई जति दुख्छ पशुहरूलाई पनि त्यत्ति नै दुख्छ भन्ने कुरा मान्छेले बुझ्न नसकेका भन्दा बुझेर पनि संवेदनशील हुन नसकेका हुन् भन्न सकिन्छ । जे होस्, तिहारमा कम्तीमा गोरु, गाई र कुकुरको पूजा गरेर हिन्दू धर्मावलम्बीहरूले केही जनावरहरूप्रति सम्मान प्रकट गर्ने गरेका छन् । यसप्रकारको सम्मान यी र अन्य पशुहरूप्रतिको व्यवहारमा पनि वर्षभरि नै देखाउन पाए मानव विवेकशील प्राणी हुनुको केही र्सार्थकता हुने थियो कि –