संघर्ष समितिले माग्यो सदस्यसचिवको राजीनामा

संघर्ष समितिले माग्यो सदस्यसचिवको राजीनामा



– श्रीविक्रम भण्डारी

तत्कालीन तेक्वान्दोका मुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङले नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ विरुद्ध राष्ट्रिय खेलकुद परिषदमा उजुरी दर्ता गरेका थिए । गुरुङले उजुरी दर्ता गराएपछि राखेपले राखेपका सदस्य देववकुमार अधिकारी (बद्री) को संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । त्यसपछि उक्त छानविन समितिले महासचिव गुरुङलाई सत्यतथ्य जानकारी गराउनका लागि पत्राचार गर्‍यो । तर गुरुङले त्यसको गोलमटोल जवाफ दिँदै छानविन समितिको औचित्यमाथि नै औंला उठाइदिए । त्यतिले नपुगी उल्टै संघर्ष समिति गठन गरेर उनले खेलकुदको हुर्मत लिन खोजेका छन् । संघर्ष समितिले राखेपका सदस्यसचिव केशवकुमार विष्टलाई बुझाएको ज्ञापनपत्र हेर्दा यस्तै बुझिन्छ । परिणामतः अहिले यो विवाद भुसमा सल्किएको आगोजस्तै बनेको छ । यस प्रकरणले कतिबेला उग्र रुप धारण गर्ने हो, निश्चित छैन ।

महासचिव गुरुङले तेक्वान्दो संघलाई श्रीमतीको दाइजोसरी विगत चार दशकदेखि तानाशाही रुपमा चलाउँदै आएको घामजस्तै छर्लङ्ग छ । यो अवधिमा उनले खेलाडी, पदाधिकारी र प्रशिक्षकमाथि कति अन्याय, अत्याचार र दमन गरे त्यसको लेखाजोखा नगर्नु नै वेस होला । गुरुङकै कारणले कतिपय तेक्वान्दोका उत्कृष्ट प्रतिभा मुग्लान भासिनु परेको कसैवाट छिपेको छैन । किनकि त्यो बेला तेक्वान्दो वाक स्वतन्त्रताको कुरै छाडौं गुरुङको इशाराविना पातसमेत हल्लिन पाउँदैन्थ्यो । उनले जे गरे त्यो तेक्वान्दोको कानुन बन्थ्यो । तर विडम्वना, अहिले पनि उनी तेक्वान्दोलाई यसरी नै चलाउने दुस्साहस गरिरहेका छन् । समयले ठूलो फड्को मार्दासमेत उनको सोच र व्यवहारमा कुनै परिवर्तन आएको छैन । परिणाम, तेक्वान्दोस्तर अघोगतितर्फ लागेको छ । यसरी संघमा मौलाउँदै गएको तानाशाही, आर्थिक अनियमिता र दुव्र्यहारले सिमा नाघेपछि तत्कालिन मुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङले महासचिव गुरुङविरुद्ध राखेपमा उजुरी दायर गरेका थिए ।

संघर्ष समितिले बुझाएको उक्त ज्ञापनपत्रमा आठबुँदे माग राखिएको छ । जसमा महासचिव गुरुङ माथि राखेपले गठन गरेको छानविन समितिलाई विघटन गरि उच्चस्तरिय छानविन कमिटी गठन गर्नुपर्ने र बद्री अधिकारीको छानविन कमिटीमाथि छानविन गर्नुपर्ने माग राखिएको छ । त्यस्तै दिवाकर महर्जनले आगामी वर्ष गर्न लागेको ‘फ्रेण्डसिप गेम’ लागि राखेपले ३० लाख दिने निर्णय फिर्ता लिनुपर्ने, राखेपले कुनैपनि क्रियाकलाप गर्दा तेक्वान्दोसंग समन्वय गर्नुपर्ने, स्वयम सेवक प्रशिक्षकलाई राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागि गर्नुपर्ने, संघमाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, यी माग राखेपले भदौ २७ गतेसम्म पुरा नगरे सदस्यसचिवको पदबाट राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ । यसरी महासचिव गुरुङले जुन थालमा खायो त्यसैमा प्वाल पार्ने निर्देशन दिएर आफुलाई तेक्वान्दोको मात्र नभै खेलकुदकै नाताशाहको रुपमा प्रस्तुत गरेका छन् ।

महासचिव गुरुङको निर्देशनमा संघर्ष समितिले यस्ता माग राखे पनि नेपाल तेक्वान्दो संघ दीपराज गुरुङको हो कि राष्ट्रिय खेलकुद परिषदको ? त्यो कुरा संघर्ष समितिले भुसुक्कै बिर्सिएको छ । तेक्वान्दो संघ राखेपमा दर्ता भएको विशुद्ध खेल संघ हो । उ राखेपको नितिनियम र निर्देशन अनुसार चल्नुपर्छ । यसर्थमा कि तेक्वान्दो पूर्णरुपमा राखेपको अनुदानवाट चल्ने संघ हो । खेलाडीको उत्पादन, प्रशिक्षण र भत्ता सवै सरकारले व्यहोर्छ । त्यस्तै प्रशिक्षकको तलब पनि सरकारले व्यवस्था गर्छ । यसरी सवै कुरोको व्यवस्था सरकारले गर्ने, रजाईचाहि कस्ले गरिरहेको छ, त्यो सोझै अनुमान लगाउन सकिन्छ । साँचो रुपमा भन्नुपर्दा महासचिव गुरुङले बाघको छाला ओडेर तेक्वान्दोमा रजाई गरिरहेका छन । यस्तो तीतो सत्यको ज्ञात हुँदाहुँदै पनि तेक्वान्दो संघका पदाधिकारी, खेलाडी र प्रशिक्षकले ‘चुँ’ समेत गर्न नसक्नुको पछाडि के रहस्य छ ? त्यो अहिले चर्चाको विषय बनेको छ ।

प्राप्त जानकारीका अनुसार लोभिपापीहरूको झुण्डका कारण तेक्वान्दो यो हविगत भएको बुझिएको छ । गुरुङ इशारामा पुच्छर हल्लाउने र भुक्नेहरूको अहिले पनि संघमा कमि छैन् । तर यो वाहेकका व्यक्तिहरू पनि तेक्वान्दोमा छन, जो मौन धारण गरेर बसेका छन् । उनीहरूलाई सत्यताको बोध भएपनि प्राविधिक कारणले मुख खोल्न सकिरहेका छैनन् । जुन तेक्वान्दोको लागि दुर्भाग्य बनेको छ ।

संघर्ष समितिले राखेपलाई भदौ २७ गतेसम्म सम्पूर्ण मागहरूको लिखितरुपमा सम्वोधन गर्नुपर्ने समय दिएको थियो । प्रतिउत्तरमा छानविन समितिले भदौ २६ गते तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्सेर राणा र महासचिव दीपराज गुरुङलाई पत्राचार गरेर नराम्रो झापड हानेको छ । एउटासंघको हैसियत के हो ? त्यो देखाइदिएको छ । दादागिरीको पनि सीमा हुन्छ, पोथी बासेपछि के हुन्छ, त्यसको जवाफ छानविन कमिटीले राणा र गुरुङसँग मागेको छ । छानविन कमिटीले राणालाई पत्राचार गर्दै सोधिएको प्रश्नको अनर्थ लाग्ने र भ्रमपूर्ण तवरबाट जवाफ पठाई छानविन कार्यमा अवरोध खडागरि छानविन समितिलाई असहयोग गर्नेगरि जवाफ पठाएको रोष प्रकट गरेको छ । त्यस्तै राणालाई पठाएको पत्रमा माग गरिएको विवरण, कागजात उपलब्ध नगराएमा तपाई सम्वद्ध संघ उपर गम्भिर कारवाही गर्नका निमित्त राखेपमा सिफारिस गर्ने जानकारी समेत गराएको छ ।

छानविन समितिले भदौ २६ गते गरेको पत्राचारमा अध्यक्ष राणासँग तेक्वान्दो संघको विगत पाँच बर्षको लेखापरीक्षणको प्रतिलिपी मागेको छ । यो भन्दा अघि पनि छानविन कमिटीले लेखाप्रशिक्षणको प्रतिलिपी उपलब्ध गराउन संघसंग अनुरोध गरेको थियो । तर संघले विभिन्न बाहना बनाउँदै, तोकिएको समयको सारणी गर्दै अन्त्यमा राखेपमा बुझाई सकेको जवाफ पठाएको थियो । त्यस्तै तेक्वान्दो संघको बैङ्क खाताको अतिरिक्त सो खाताको बैङ्क स्टेटमेन्ट नपठाउनुको कारण के हो ? राणालाई प्रश्न गर्दै २४ घण्टाभित्र उक्त खाताको शुभारम्भदेखि अहिलेसम्मको स्टेटमेन्ट सक्कलै उपलब्ध गराउन निर्देशन दिएको छ । विवरण उपलब्ध नगराए वा सत्यतथ्य लुकाए कारवाहिको भागिदार हुने समेत जानकारी गराएको छ ।

त्यस्तै छानविन समितिले महासचिव गुरुङलाई पत्राचार गर्दै तपाईं विरुद्ध विभिन्न उजुरी परेको भन्दै विगतमा पत्राचार गरिएको र तपाईले स्पष्ट जवाफ नपठाएकोले पुनः पत्राचार गरेको छ । पत्रमा छानविन कार्यमा अवरोध खडा गर्ने र असयोग गर्नेगरि जवाफ पठाएको खण्डमा गम्भिर कानुनी कारवाहिको लागि सिफारिस गर्ने जानकारी गराएको छ । अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले गे्रडिङ गर्दा निश्चित रकम तोकेको छ । तर तेक्वान्दो संघले त्यो भन्दा बढी रकम उठाएको देखिएको भन्दै समितिले त्यसको जवाफ महासचिव संग मागेको छ ।

महासंघ ग्रेडिङ वाफत फस्ट डान १० डलर, सेकेन्ड डान १५ डलर, थर्ड डान २० डलर, फोर्थ डान ४० डलर, फिप्थ डान १०० डलर र सिक्स डान १५० डलर तोकेको छ । तर तेक्वान्दो संघले फस्ट डान ३ हजार, सेकेन्ड डान ४ हजार, थर्ड डान ५ हजार, फोर्थ डान ७ हजार, फिप्थ डान ११ हजार पाँचसय, सिक्स डान १६ हजार पाँचसय रुपैया उठाउँदै आएको खुलासा गरेको छ । यसरी महासंघले निर्धारण गरेको ग्रेडिङ शुल्कमा कसरी भिन्नता आयो ? उक्त बचत रकम कस्को जिम्मामा छ ? लेखापरिक्षणमा उक्त समावेस नहुनुको कारण के हो ? यो आर्थिक अनियमिततामा संघका कोको पदाधिकारी समावेस छन त्यसको स्पष्ट जवाफ गुरुङसंग मागेको छ ।

त्यस्तै गुरुङको दोहोरो नागरिकता बारेमा समेत ठोस प्रमाण पेश गर्न समितिले निर्देशन दिएको छ । स्मरण रहोस्, गुरुङले झापा जिल्लावाट दुईवटा नागरिकता लिएका थिए । उनको दुईवटा नागरिकताको नम्वर ४३५३ र ४६५४ रहेका छ । दुईवटा नागरिकता लिने कार्य नागरिकता ऐन २०६३ को दफा १५ बमोजिम गैरकानुनी हुन्छ । यदि लिएको खण्डमा सजायको भागिदार समेत बन्नुपर्छ । यसैगरि १२ औं सागमा खेलाडीको दुई दिनको भत्ता सहायक प्रशिक्षक गोविन्द शर्माले बुझिलिएपनि खेलाडीलाई नदिई भरपाई कागजमा हस्ताक्षर गराईएको बारेमा पनि सोधखवर गरेको छ ।

तेक्वान्दो संघमा दीपराज गुरुङले तानाशाही चलाई खेलाडी, प्रशिक्षक र खेलकुदको हुर्मत लिएपछि यो वारेमा अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइराला (ज्वाला) संग सम्पर्क गर्दा उनले यो राखेपको कमजोरी भएको वताएका छन । राखेपले राष्ट्रिय संघहरूलाई आफ्नो दायरमा राख्न नसक्नुको परिणाम हो भनेका छन । ज्वालाले संघमा २० देखि ४० वर्ष नेतृत्व गर्नु आफैमा विडम्वना भएको वताउँदै त्यसको अन्त्य हुनुपर्ने दावी गरेका छन् । उनले राष्ट्रिय प्रशिक्षण कसरी रोकियो भन्दै प्रश्न गरे ? के संघ व्यक्तिले चाहेमा चल्ने, नचाहेमा नचल्ने हो ? यो राखेपको नालायकिपन हो । भोलि अन्य संघले यस्तै गरे के हुन्छ ? प्रतिप्रश्न गरेका थिए । जहाँसम्म ध्रुव गुरुङको कुरा छ, उहाँले न्याय पाउनु पर्छ, अन्यथा न्याय कसरी दिलाउन सकिन्छ त्यो आफुले जानेको बताएका छन् । ज्वाला राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष पनि हुन् ।

त्यस्तै राष्ट्रिय तेक्वान्दो संघका महासचिव राजकुमार कार्काीले नेपाली खेलकुदमा ध्रुव गुरुङको गर्विलो लगानी रहेको चर्चा गरेका छन् । स्थापना कालदेखि अहिलेसम्म निरन्तररुपमा प्रशिक्षण गर्दै आएका, विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गरेका गुरुङ खेलकुदको धरोधर भएको कार्की वताए । अहिले उहाँमाथि तेक्वान्दो संघले अन्याय गरेको छ, त्यो सवैलाई थाहा छ । अति भयो भने खति हुन्छ, अरु अन्याय अत्याचार भयो भने चुप लागेर नबस्ने चेतावनी दिएका छन । उहाँले न्याय नपाए विभिन्न कोणवाट अर्थात राजनितिक उपचार गर्नपनि आफु पछि नपर्ने दावी गरे । ध्रुव गुरु सक्षम गुरु हो, घुँडाभन्दा माथि किक हान्न नजान्ने प्रशिक्षक होइन । त्यो दीपराजले बुझ्नुपर्ने सल्लाह दिएका छन् ।