समस्याको जड होइन पौडेलको उम्मेदवारी

समस्याको जड होइन पौडेलको उम्मेदवारी


माधव नेपालको राजीनामा नआएसम्म राजनीतिक निकासको कुनै बाटो खुल्न नसक्ने माओवादीको अडानपछि प्रधानमन्त्री माधवकुमार नेपालले पदबाट राजीनामा दिएको पनि चार महिना बितिसकेको छ । यसबीच सत्तारोहणको भरपूर प्रयत्न गरेर असफल बनेको माओवादी नेतृत्व यतिबेला रामचन्द्र पौडेलले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नलिएसम्म मुलुकले कुनै निकास पाउन नसक्ने रटानमा निर्लिप्त छ । जुन शैलीमा एकपछि अर्को गर्दै अन्य राजनीतिक दलहरूप्रति ढङ्ग-बेढङ्गका र्सत र आग्रह-दूराग्रहहरू माओवादीले थोपर्दै आएको छ, सहमति र सम्झौताहरूको कार्यान्वयनमा जुन ँकुटिल उदासीनता’ उसले दर्शाइरहेको छ, यसको निहितार्थ भनेको अन्य सबै पक्षलाई गलाएर सम्पूर्ण रूपमा आफ्नो सोचअनुरूपको ँसत्ता’ स्थापना गर्न माओवादी हदैसम्म उद्यत् रहनु नै हो भन्ने अब झन् प्रस्ट हुँदै छ ।
नेपालको राजनीतिमा एकपछि अर्को गर्दै अङ्कुराउन थालेको राजनीतिक विडम्बना तथा जटिलताहरूको शृङ्खला यसरी कायम रहनुमा जनतालाई भेडा-बाख्रा तुल्याएर शासन गर्न खोज्नेहरूको मनोबलले जति भूमिका खेलेको छ यस राजनीतिक दूरावस्थासँग प्रतिरोधका निम्ति आवश्यक चेतना एवम् स्वप्रयत्न जनस्तरमा विकसित हुन नसकेको यथार्थले पनि यसमा उत्तिकै बल पुर्‍याइरहेको छ ।
निश्चय पनि प्रधानमन्त्री छनोटको निर्वाचनमा रामचन्द्र पौडेलको एक्लो उम्मेदवारी अनौठो र अस्वाभाविक प्रतीत भइरहेको छ । तर, पौडेलको उम्मेदवारी फिर्तापछि सबै समस्यामा सहमति बन्ने र मुलुकले व्यहोरिरहेको विषम परिस्थितिको अन्त्य हुने ग्यारेन्टी एनेकपा माओवादी र वर्तमान परिस्थिति सिर्जना गर्नमा निकै हदसम्म जिम्मेवार एमाले अध्यक्षलगायतका नेताहरूले दिन सक्छन् – माधव नेपालले राजीनामा दिएको दुई दिनमा समस्या हल गर्ने दाबी गर्नेहरू यस चार महिनाको अवधिलाई कुन कालको खोकिलामा लुकाउन सक्छन् र – रामचन्द्रले उम्मेदवारी फिर्ता लिएको निमेषभित्रै ँअबको प्रधानमन्त्री को -’ भन्ने सवालले त फणा उठाइहाल्छ । त्यस सवालको जवाफ खोज्ने जिम्मेवारी यिनै दलका नेताहरूको हो । त्यसका लागि दलका नेतृत्वहरूबीचमै छलफल आवश्यक पर्छ । जब यसबारे सहमति खोज्नु नै छ भने पौडेलले उम्मेदवारी फिर्ता लिनुअघि नै खोजिनु राजनीतिक बुद्धिमत्ता ठहरिन्छ । रामचन्द्रको उम्मेदवारीले यस्तो सहमति बनाउने बाटोमा कहाँनेर पर्खाल खडा गर्‍यो – बरु संवैधानिक मान्यता कायम गर्ने या संवैधानिक रिक्तताको अवस्था आउन नदिनकै लागि पौडेलको उम्मेदवारी अभेद्य पर्खाल बनिरहेको छ । यो कुरा पौडेलको उम्मेदवारीका पछाडि हात धोएर लागिपर्नेहरूले पनि राम्रैसँग बुझेका छन् । यो बुझ्दाबुझ्दै एकोहोरो रूपमा पौडेल-उम्मेदवारीले टाउको दुखाएको प्रलाप गरिरहनुको रहस्य सोझो र सामान्य त हुनै सक्दैन । आमजनताले यो बुझ्नु अत्यावश्यक छ ।
सत्ताकाङ्क्षी प्रमुख दल नै मुलुक र देशवासीप्रति यति कठोर रूपमा प्रस्तुत भइरहेको छ कि राज्य चलाउने बजेटसमेत आउन दिइरहेको छैन । राजनीतिक मामलासँग बजेटजस्तो विषयलाई जोडिदिँदा आर्थिक रूपमा राष्ट्र तहसनहस बन्ने अवस्थाको सन्निकट पुगेको छ । एकीकृत नेकपा माओवादी नै हो बितेको वर्ष ँकठपुतली सरकारलाई बजेट ल्याउन दिइँदैन’ भन्दै सदनमा बजेट प्रस्तुत हुने बाटो छेकिरहेको थियो र आज ऊ ँकामचलाउ सरकारलाई बजेट ल्याउने अधिकार छैन’ भन्ने अर्को तर्क पेस गरिरहेको छ । यसरी बहाना फेरिएको छ तर नियत उहीको उही नै छ । जबसम्म दुरि्नयत त्यागेर मुलुक र जनताप्रति उत्तरदायी बन्ने अभ्यासमा जिम्मेवार राजनीतिक दलहरू प्रतिबद्ध हुँदैनन्- देश ओह्रालो लाग्ने क्रमले विराम पाउन सक्दैन । कदम-कदममा अवरोध खडा गर्ने दुष्प्रवृत्ति भोलि आफ्नै गलाको पासो बन्न सक्छ । जनताले आश गरेका राजनीतिक दलका साख यस्तै-यस्तै कारणले बेस्सरी खस्किरहेको छ । साख जोगाएर भविष्यका लागि आफ्नै स्थान सुरक्षित गर्नका लागि पनि माओवादीलगायतका दल या सत्ताकाङ्क्षी नेताहरू बेलैमा सचेत हुनु आवश्यक छ ।