डा. गोविन्द केसी १२ औँ पटक अनसनमा, यस्ता छन् माग !

डा. गोविन्द केसी १२ औँ पटक अनसनमा, यस्ता छन् माग !


त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी १२ औँ पटक अनसन बस्नुभएको छ ।

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर संसदले सोमबार नै पारित गर्ने तयारी भएको भन्दै उहाँले अनसन थाल्नु भएको हो ।

यसअघि उहाँले दसैँपछि अनसन बस्ने बताउँदै आउनु भएको थियो । नागरिकमुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन आउन लागेको पुष्टि भएकाले आफूले अनशन थालेको केसीले बताउनुभएको छ ।

विगतमा पटक पटक कागजी सहमतिमा आफूले अनसन तोडेको तर ती सहमति कार्यान्वयन नभएको भन्दै डा. केसीले अब सहमति कार्यान्वयन भएपछि मात्र अनसन तोड्ने बताउनुभएको छ । केदारभक्त माथेमा नेतृत्वको कार्यदलको प्रतिवेदनको मर्म अनुसार चिकित्सा विधेयक आउनु पर्ने उहाँको माग छ ।

एमबिबिएसका लागि सरकारले तोकेको भन्दा बढी शुल्क लिने काठमाडौं विश्वविद्यालयको निर्णय फिर्ता हुनु पर्ने, काठमाडौं उपत्यकामा एमबिबिएसका लागि साढे ३८ लाख र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ भन्दा बढी शूल्क लिन नपाइने उहाँको माग छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन अध्यापन सुरु गर्नु पर्ने र त्यसका लागि बजेट तथा अन्य व्यवस्था हुनु पर्ने, कैलाली र दाङमा सरकारी मेडिकल कलेज स्थापनाको काम अघि बढाउनु पर्ने, डोटी डडेलधुरा, धनुषा महोत्तरी, उदयपुर, पाँचथर तेह्रथुममा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन पनि डा केसीले माग गर्नुभएको छ ।

भ्रष्टाचारको आरोपमा सरकारले बर्खास्त गरेको आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि छानबिन गरेर उनले हिनामिना गरेको रकम असुल गरी कारवाही गर्नु पर्ने, खड्कालाई भ्रष्टाचारमा सहयोगीलाई पदच्युत गरेर कारवाही गर्न पनि डा. केसीले माग गर्नुभएको छ ।

पटकपटक अनसनमा बस्दैआउनुभएका केसीले यो अनसनलाई निर्णायक अनसन बनाउने बताउनुभएको छ ।

यस्ता छन् माग..