सशस्त्र प्रहरीको एपीएफ क्लब झापाको शिवसताक्षी नगरपालिकामा जारी दूधे गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । यो जीतसँगै एपीएफले उपाधिका लागि चर्च ब्वाइज युनाइटेड, काठमाडौंसँग प्रतिष्पर्धा गर्नेछ । सोमबार अन्तिम सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोल अन्तरले हराउँदै एपीएफले फाइनल यात्रा तय गरेको हो ।
पहिलो हाफको १५ औं मिनेटमा हिमालयन शेर्पाका विदेशी खेलाडी अब्बाको क्रस पासलाई सदुपयोग गर्दै विके लामाले हेडमार्फत गोल गरेका थिए । उनको प्रहारले एपीएफका गोल रक्षक राजु नगरकोटीको हातमा छोएर पोष्टको जाली चुमेको थियो ।
पहिलो हाफको इन्ज्यूरी समयमा एपीएफका कप्तान मिलन राईको पासमा हरि कार्कीले हेडमार्फत गोल गर्दै खेललाई बराबरीमा पु¥याए । पहिलो हाफमा १÷१ को बराबरी रहेको खेलको दोस्रो हाफको ३७ औं मिनेटमा रुपबहादुर लामाको फ्रि–किक सदुपयोग गर्दै स्ट्राइकर युवराज खड्काले हेडमार्फत गोल गर्दै एपीएफलाई अग्रता दिलाए ।
खेल अवधिभर हिमालयन शेर्पाले बललाई आफ्नो पकडमा राख्न सफल भए पनि गोललाई पोष्टको दिशा दिन सकेन । खेलमा उत्कृष्ट प्रदर्शन गरेका विजेता टिमका खेलाडी श्याम नेपाली म्यान अफ द म्याच घोषित भएसंगै नगद ५ हजार प्राप्त गरेका छन्
।
मंगलबार हुने प्रतियोगिताको उपाधि विजेताले ३ लाख १ हजार र उपविजेताले १ लाख ५१ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउने आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले बताए ।
– रेजिना गौतम
प्रतिक्रिया