– तिलक पौडेल
पृथ्वीको उत्पत्तिपछि जीवको सृष्टि भयो । जीवको अस्तित्व कायम राख्न आहाराको खोजी भयो । उपयुक्त आहाराको उपयोग गर्दै एककोशीय जीवबाट आरम्भित जीवन अष्ट्र्यालोपिथेकस, रामापिथेकस, क्रोम्याग्नन हुँदै होमोस्यापिन्स अन्तरगत हामी मानव लगायतको जीवनास्तित्व हाल यस धरामा कायम रहेको छ । आहाराको आधारमा वर्गीकरण गर्दा खास गरी मांसाहारी र शाकाहारी गरी दुई वर्गमा जीवहरुको विभाजन भएको पाइन्छ । नेपाली बृहद् शब्दकोशलाई सन्दर्भ ग्रन्थत्व सुम्पँदा :
शाकाहारी भन्नाले– वि.१– सागपात, फलफूल, दूधदही आदि सात्विक भोजन मात्र गर्ने,
२– माछामासु नखाने, भनेर अथ्र्याएको पाइन्छ भने,
मांसाहारी भन्नाले– वि.१– मासु खाने, मांसभोजी,
२– मासु खाएर जीवन निर्वाह गर्ने, मासुकै आहारा भएको,
३– हिंस्रक भनेर उल्लेख गरेको पाइन्छ ।
र पनि सर्सर्ति नियाल्दा मासुमात्र खाने (मांसहारी), मासुपनि खाने (उभयाहारी) र मासु नखाने (शाकाहारी) गरी ३ वर्गमा जीवहरुलाई वर्गीकरण गर्दा उपयुक्त हुने देखिन्छ । यस हिसाबमा हामी मानव जाति उभयाहारी जस्ता देखिन्छौं । वास्तवमा सृष्टिताका हामीलाई मासु खाने, मासुपनि खाने वा मासु नखानेमध्ये कुन वर्गभित्रै राखेर सृष्टि गरिएको होला ? विद्यमान अभ्यासका आधारमा उल्लिखित सम्बन्धमा संक्षिप्त विश्लेषण गर्ने हिसाबले यो आलेख तयार पारिएको हो । यसमा रहेका न्यूनताप्रति विज्ञजनबाट यथोचित सुझावको हार्दिक अपेक्षा गर्न चाहन्छु ।
खासगरी मांसाहारी प्राणीहरु बाघ, भालू, चितुवा, कुकुर, बिराला, स्याल, फ्याउरा आदिका शारीरिक अवयवहरु र लक्षणहरुलाई केलाउँदै हामी मानवहरुका लक्षणहरु र शारीरिक अङ्ग विकासको तुलना गर्दा निम्नानुसारको व्यहोरा स्पष्ट हुन आउँछ ।
मांसाहारी प्राणीहरुसँग दाह्रा हुन्छन् तर हामीसँग दाँत छन् । हाम्रा दाँतले राम्रोसँग नपाकेको छाला चपाउन पनि सक्दैनन् । फेरि हाम्रै चारकुनाका दाँतहरुलाई कुकुरदाँत (Canning Teeth) भनिन्छ जुन अरु दाँतभन्दा बलिया मानिनेमात्र हैन, सबै दाँत फुक्लीसक्दा पनि ती बाँकी रहेका हुन्छन् । शायद कुकुर–मांसाहारी प्राणी, का सबै दाँतहरु त्यस्तै हुने हुनाले उसले बाह्रवर्ष पुरानो नली हाड पाएपनि मजासँग चपाएर खान्छ भने हामी ब्वाइलर कुखुराको हाड पनि तरलगाउन सक्दैनौं । यसरी हेर्दा हाम्रा दाँतले मांसाहारी प्राणीमा हुने दाह«ाले जस्तो सबल कार्य सम्पादन गर्न नसक्ने देखिन्छ ।
मांसाहारी प्राणीहरुसँग नङ्ग्रा हुन्छन् तर हामीसँग नङ छन् । हाम्रा नङले अलि बाक्लो छाला भएको प्राणीलाई चिथोर्न पनि सक्दैनन् । जबकि मांसाहारीका नङ्ग्रा भनेको अरु प्राणीहरुलाई झम्टेर मासुको चोक्टा निकाली आफ्नो आहारा बनाउन प्रकृतिले दिएको हतियार जस्ता लाग्दछन् । यसमानेमा पनि हाम्रा नङ्हरु मांसाहारी प्राणीका नङ्ग्राहरुको जस्तो कार्य सम्पादन गर्न नसक्ने देखिन्छन् ।

मांसाहारी प्राणीहरुको घ्राणशक्ति (सुँघ्ने खुवी) अरुको भन्दा बढी हुन्छ । त्यस्ता प्राणीसँग तुलना गर्दा हाम्रो गन्ध थाहा पाउने खुवी थोरै भएको प्रमाणित हुन्छ । उदाहरणार्थ ताजा मासु ल्याएर दराजभित्र राखियो भने सोको गन्ध कुकुर, बिरालाले थाहा पाइहाल्छन् र दराज खोल्ने चेष्टा गर्दछन् । तर हामीलाई त्यस्तो दराजभित्र राखिएको ताजा मासुको गन्ध थाहा हुँदैन । यदि खुलारुपमा मासु दृष्टिगोचर भएमामात्र गन्धको अड्कल हुन्छ । बरु त्यस्तो अदृश्य स्थानमा रहेको मासु सडुञ्जेल प्रयोग नभएमा ओहो कता कुनातिर मुसा मरेर कुहिएछ कि क्या हो ? सिनू गन्हाउँदा झैं गन्हायो भन्ने लख पो काट्दछौं त ! आज्जसो मारेर छाडेको कुनै प्राणीलाई यस्सोमात्र चलाइदियो भने पनि बाघले भोलिपल्ट छुनसम्म छुँदैन रे ! त्यसैले हाम्रा अग्रजहरुले आफ्नो लैनो भैंसीलाई बाघले झम्टेर मारेको देख्दा सहन नसकी त्यसैमा विष हालेर बाघ मारी रिस फेर्ने गर्दथे रे ! त्यसो गर्दा त्यो मरेको पशुलाई नछोइकन माथिबाटै विष छरिदिन्थे रे ! शायद मासु भनेको सजीवीय स्पर्शबाट पनि गन्ध परिवर्तन हुने चीज होला ।
त्यस्तै स्वादस्तर निर्धारण तन्तुको संवेदना पनि मांसाहारीमा हाम्रोभन्दा अधिक भएको पाइन्छ । हामीहरुको प्राकृतिक भोजनका बारेमा यो चम्सुरको, यो पालुङ्गोको, यो बेथेको साग अथवा भनौं यो पोखरेली मसिनु, यो जेठोबुढो, यो बासमति चामलको भात भनेर स्वादकै आधारमा अड्कल गर्न सक्दछौं, तर विभिन्न प्राणीहरुको फलमासुका टुक्राहरु एकै ठाउँमा मिसाई पकाएमा यो चाम्रो, यो कमलो, यो अलि हिल्याहा गन्धको शायद हाँसको पो हो कि ! भन्न सकिन्छ । सधैं मासु खाइरहने बानी भएकाहरुले पनि अरु अड्कल गर्न सक्दैनौं । बरु कुनै तरकारीमा प्याज फुराएर मीट मसला राख्यौं भने ओहो क्या मीठो मासु बसायो पो भन्छौं त ! जबकि बाघले कुकुरलाई घ्यूको गौवा भन्दछ रे ! यसरी हामीसँग मासुको पारख गर्ने खुवी नहुँनुले पनि हामीलाई मांसहारीका गुणहरुबाट भिन्न प्रमाणित गरेको पाइन्छ ।
हो त नि ! मासंपारखको खुवी नहुँदा हामीहरु पकाएर तयार पारिएको मांस परिकारको दृश्य, स्वादबाट यो भक्षान्तरगतका जीवको हो वा अभक्ष्य, यो स्वस्थ पशुको हो वा रोगी चिलेग्रो, यो साजी हो वा बासी अझ भनौं यो मारेको पशुको हो वा मरेको भन्ने साङ्गोपाङ्गो लगाउन पनि सकिंदो रहेनछ । मेरो आफ्नै अनुभव – २०३४÷३५ सालतिर पोखराको तेर्सापट्टिको ठूलो पिपलको बोटनेर एकजना मासुपसलेले खसी काटेर मासु बेच्ने गर्दथ्यो । मैले महिनावारी खाना खाने होटेलवालाले त्यसैकहाँबाट मासु ठेक्का लिई मासिक खाना खानेहरुलाई हफ्तामा एकछाक मासु दिने गर्दथे । एकपटक त्यही मासुपसलेकहाँ १८ वटा कुकुरका टाउका भेटिए र उसलाई कानूनी कारवाही भएथ्यो । यसमानेमा मैले कुकुरको मासु पनि खाएँछु, तर मलाई हेक्का भएन । तसर्थ हाम्रा मासुको स्वादपारख गर्ने तन्तुहरु मांसाहारीका जस्ता देखिएनन् ।
फेरि जन्मताकाको एउटा पाटोले पनि हामीलाई मांसाहारी वर्गमा राखेको पाइँदैन । त्यो के भने, मांसाहारी प्राणीहरु जन्मने वित्तिकै आँखा खुलेका हुँदैनन् र १÷२ दिनपछि मात्र आँखा खुल्दछन् । तर हामीहरु भने जन्मने वित्तिकै आँखा उघारेका हुन्छौं । यो हिसाबले पनि हामीलाई मांसाहारीबाट अलग गराएको प्रतीत हुन्छ ।
अर्काे एउटा महत्वपूर्ण पक्ष, जन्तुजगतका सबै प्राणीहरुको शरीरमा करिब ७०–८०% पानी हुन्छ भनिन्छ । यसरी हेर्दा मांसाहारी जीवले मांसभोजन गर्दा कम्तीमा पनि ५०% पानीको मात्रा शरीरभित्र भित्र्याउँछन्, यदि जीव मार्दा रगतादि द्रवको क्षति करिब २०–३०% भयो भन्ने हो भनेपनि । फेरि मांसाहारी जीवहरुको शारीरिक संरचनात्मक अनुपात पनि उही ७०–८०% पानी हुने किसिमकै हुन्छ । यस अर्थमा मांसाहारी प्राणीहरुले सुकुटी÷सेकुवा जस्ता परिकार नखाई पानीको मात्रा अधिक रहेको (ज्थमचबतभम) मासु भोजन गर्ने हुँदा शारीरिक सुसञ्चालनका लागि पानीको आवश्यकता न्यून हुने भयो । तर जसरी शाकाहारी प्राणीहरुले सुकेको पराल, ढुटो, भुस, सेल्भेज जस्ता शुष्क आहाराको उपभोग गर्ने गर्दछन्, हामी मानवहरु पनि यस्ता शुष्क खानाहरु (म्चष्भम–भुटेका, तारेका चीजहरु, व्गलप–चाउचाउ, चीजबल आदि) खान्छौं, जसमा मुस्किलले ५–१०% पानी हुन्छ होला । यसमानेमा हामी जस्तालाई पानीको आवश्यकता पनि बढी हुने भयो । यिनै कारणहरुले गर्दा प्रकृतिले मांसाहारीलाई झोलबस्तु पिएर हैन चाटेरमात्र खान सक्ने बनाएको छ भने शाकाहारीलाई दुबै ओठ जोडेर झोल चीज पिउने खुबी दिएको पाइन्छ । अब हामीहरुले झोलबस्तुको आपूर्ति मांसाहारीले जस्तै चाटेरमात्र नगरी शाकाहारी प्राणीहरुले जस्तै पिउने हुँदा प्रकृतितः मांसाहारी नभएको देखिन आउँछ ।
‘नीरु ! उसो त हाम्रा आदिशास्त्रहरुमा पनि–
तीक्ष्ण दन्त बक नखा, जिह्वाया जल पाइना,
जन्मैते मिलिताताक्षे, प्राणीनो मांसभोजिनः ।’ भनेर उल्लेख गरेको पाइन्छ । यसको अर्थ तीखा दाँत, बाङ्गा नङ्ग्रा, जिब्रोले पानी पिउने, जन्मने बेलामा आँखा नखुलेका प्राणीहरुलाई मांसाहारी भनेर जान्नु ।
यसरी उपर्युक्तानुसारका आनीबानीहरुको तुलना गरेर हेर्दा हामीहरुका अङ्गप्रत्यङ्गहरुको बनोट तथा अवलम्बन गरिने बानीबेहोराहरु मांसाहारी जीवहरुको भन्दा भिन्न देखिएकाले सृष्टिताका प्रकृतिले मानवरुपी जीवलाई शाकाहारी प्राणीका रुपमा अथवा मासु पनि खाने – उभयाहारी प्राणीका रुपमा सिर्जाएको प्रतीत हुन्छ । भला सृष्टिपश्चात् मानवीय चेतनास्तर उच्च हुँदा शरीर सञ्चालनका लागि पञ्चतत्व आवश्यक हुने, जसमध्ये प्रोटिनको आपूर्ति प्राणी प्रोटिनका रुपमा माछा–मासुबाट गर्दा वनस्पति प्रोटिन – गेडागुडीभन्दा सुपाच्य हुने, मानव सृष्टिको लगत्तै ढुङ्गेयुगमा आहाराको खोजीमा भौंतारिएका अग्रजहरुले यायावरी, शिकारी जीवन विताउँदा मासु खाएको आधारमा वर्तमानमा पनि मांसाहारलाई स्वीकारिनु जस्ता तर्कका आधारमा मांसभोजन किन नगरियोस् । तर मासु खाँदा यसमा हुने बोसो, खनिज लवणादिको कारणबाट मुटुको रोग, एडेमा जस्ता भयानक रोगग्रास हुनपर्ने व्यहोरो प्रमाणित भैसकेकोछ । आर्थिक पक्षलाई नियाल्ने हो भनेपनि एक दिनको मांसभोजनका लागि छुट््याइने बजेटले हफ्तैभरि वनस्पति प्रोटिनको आपूर्ति गर्न सकिने हुन्छ । यी कारणहरु नियाल्दा हामी मानवहरुका लागि मांसाहारभन्दा शाकाहार नै उपयुक्त देखिन्छ ।
फेरि अचेल त नि ! शाकाहारी पनि थरिथरिका परिभाषामा समेटिएका छन् । कोही माछा खानुलाई शाकाहारभित्रै राख्छन् । किनभने त्यसो गर्नु माछाहार हो मांसाहार होइन । कोही अण्डासम्म खानुलाई पनि शाकाहारमै राख्दछन् । किनभने अण्डामा प्राण हुँदैन रे ! कतिपय कट्टर शाकाहारीहरुले भने प्राणी उत्पादनलाई खानु मांसाहारी हुनुहो भन्ने मान्यताका आधारमा दूध पनि नखाने गरेको पाइन्छ । सारांशमा जो जे परिभाषा गरियोस् वा भइयोस्, प्रकृतितः हामी शाकाहारी अथवा उभयाहारी रहेछौं तर मांसाहारी होइन रहेछौं भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।
…सके सपारौं, नसके नबिगारौं…
प्रतिक्रिया