आठ बैंक तथा वित्तीय संस्था बिरुद्ध कारबाही गर्न बोर्डमा उजुरी

आठ बैंक तथा वित्तीय संस्था बिरुद्ध कारबाही गर्न बोर्डमा उजुरी


धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ ले गरेको व्यवस्थालाई उल्लंघन गरी लगानीकर्तालाई भ्रममा पारेको भन्दै ८ वटै संस्थालाई कार्वाहीको माग गर्दै धितोपत्र बोर्डमा उजुरी दायर गरिएको छ ।  पाँच जनाले संयुक्त रुपमा हकप्रद निष्काशनमा बोर्डलाई कम्पनीहरुले अटेरगरी आफुखुशी कार्य गरेको भन्दै कार्वाहीको माग सहित उजुरी दिएका छन् ।

प्रबिन्द्रध्वज कुँवर, भरतप्रसाद वस्ती, उपेन्द्र पराजुली, अच्युतराज देवकोटा तथा माधवप्रसाद लामिछानेले दर्ता गरेको उजुरीमा वाणिज्य बैंक समुहको कुमारी बैंकलाई सूचीको पहिलो स्थानमा कार्वाहीको माग गरिएको छ ।

त्यसैगरी, देव विकास बैंक, साझा विकास बैंक, जेविल्स फाइनान्स, पोखरा फाइनान्स, सिनर्जी फाइनान्स, सेती फाइनान्स र नागबेली लघुवित्तले हकप्रद निष्काशन गर्ने बहाना बनाएर धितोपत्र सम्बन्धि कानुनको उपहास गरेको आरोप उजुरीमा रहेको छ ।

साधारण सभाबाट हकप्रद निष्काशनको प्रस्ताव पारित गरेर लामो समयसम्म धितोपत्र बोर्डमा आवेदन नदिएको समेत उजरीमा रहेको छ । निर्देशिका २०७४ को परिच्छेद तीनको दफा १२ को उपदफा ९ र १० को अपहेलना गरिएको आरोप उजुरी दर्ता गर्नेले लगाएका छन् ।

निर्देशिकाको उल्लेखित उपदफामा कम्पनीहरुले हकप्रद सेयर निष्काशनको प्रस्ताव साधारण सभाबाट पारित भए पछि अनिवार्य रुपमा कार्वान्वायन गर्नु पर्ने उल्लेख छ । साथै साधारण सभाले हकप्रद पारित गरेको दुई महिना भित्रमा धितोपत्र बोर्डमा हकप्रद निष्काशनका लागि आवेदन गरिसक्नु पर्ने व्यवस्थालाई निर्देशिकाले अनिवार्य गरेको छ ।