मन्त्रीको दबाबमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई मन्त्रालयमा तानियो

मन्त्रीको दबाबमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई मन्त्रालयमा तानियो


नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जिव गौतमलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तानिएको छ ।

स्रोतका अनुसार, उड्डयन मन्त्री जितेन्द्र नारायण देबको दबाबमा प्राधिकरण महानिर्देशक गौतमलाई आजदेखिनै लागु हुने गरी मन्त्रालयमा तनिएको हो ।

मन्त्री देवले गौतमलाई मन्त्रालय तान्दै एउटा कार्यादल बनाएर संयोजकको भूमिका दिएका छन् ।

गौतमको संयोजकत्वमा उपसचिव निराजन घिमिरे र प्राविधिक उपसचिव प्रमोद नेपाल रहेको कार्यदल बनाउँदै मन्त्री देवले कागजमा मन्त्रालय तानेको स्रोतले बतायो ।

गौतमको कार्यदललाई नेपाल सरकारको हवाई नीति ०६३ लाई पुनरावलोकन गरी नेपालको नागरिक उडडयन क्षेत्रलाई समग्र सुधार गर्न अवलम्बन गर्नु पर्ने नीतिहरु र गर्नु पर्ने कार्यहरु बारे सुझाव दिने जिम्मेवारी दिएको छ ।

यसैगरी दोस्रो अन्तराष्ट्रिय निजगढ बिमानस्थल निर्माणको लागि कोरियन कम्पनी एलएमडब्ल्युले तयार पारेको संभाव्यता अध्ययन प्रतिवेदनलाई अध्ययन गरी भुक्तानी तिर्नु पर्ने रकमको बिषयमा राय सुझाव दिन कार्यदललाई जिम्मा दिइएको छ ।

साथै दोस्रो अन्तराष्ट्रिय बिमानस्थल लगायतका सबै राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति उच्च नतिजामुखी बनाउन ठोस कार्ययोजनासहित सुझाव दिन जिम्मेवारी दिइएको छ ।

यसैगरी नागरिक उडडयन क्षेत्रलाई थप सुरक्षित बनाइ स्थायी रुपमा हवाई सुरक्षा जाँच व्यूरो स्थापना गर्ने सम्बन्धमा समेत राय सुझाव दिने गरी चार वटा कामको जिम्मेवारी गौतमको कार्यदललाई दिइएको छ ।

गौतमको सरुवासँगै बरिष्ठ उपमहानिर्देशक राजन पोखरेललाई निमित्त महानिर्देशकको जिम्मा दिएको छ ।