रुसको कजानमा आयोजना हुने १४औं विश्व उसु च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले सहभागिता जनाउने भएका छन् । सेप्टेम्बर २६ देखि अक्टोबर ४ तारिखसम्म हुने च्याम्पियनसिपको महिलामा निमा घर्ती मगर तथा पुरुषमा दीपक हमालले प्रतिस्पर्धा गर्नेछन् । दुवैले थाउलोको नान् छ्वान अलराउन्ड स्पर्धामा भाग लिने छन् ।
निमाले ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै स्वर्ण जितेकी थिइन् । निमाले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेकी थिइन् । विश्व च्याम्पियनसिप निमाको दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । दीपकको भने यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जनले खेलाडीलाई आर्थिक सहयोग र ट्रयाकसुट प्रदान गरी सोमबार बिदाइ गरे । खेलाडीलाई प्रोत्साहन स्वरुप जनही १३ हजार रुपैयाँ प्रदान गरिएको थियो । कार्यक्रमा खेलाडीद्वय निमा र दीपकले उत्कृष्ट प्रदर्शन दावी गरेका थिए ।

प्रतिक्रिया