‘प्रधानसेवक’ मोदीबाट नेतागणले सिक्ने कहिले ?

‘प्रधानसेवक’ मोदीबाट नेतागणले सिक्ने कहिले ?


– राजेन्द्रप्रसाद पाठक

कहिले सडकमा पेशेवर सफाई मजदुरले जस्तो कुचो लाउँदै गरेको तस्बिर देखिन्छ त कहिले रिक्सावालासँग भलाकुसारी गर्दै गरेका हुन्छन् ती पात्र । कहिलेकाहीँ सडक–बालबालिकासँग रमाई रहेका देखिन्छन् । दुःखी–दरिद्रका घर–घरमा गएर उनीहरूले नै पकाएको र उनीहरूकै भान्छामा भात–रोटी खाएको परिदृष्य त कति देखियो–देखियो यी आँखाले । तिनी कहिले मछुवारेहरूसँग जाल समाइरहेका भेटिन्छन् । भरिया र मजदुरसँग पनि मनका कुरा साटासाट गरिरहेका हुन्छन् । विभिन्न जातजातीको भेषभुषामा पनि आफूलाई सजाइरहेका भेटिने यी पात्रले वास्तविक रूपमा देश चिनेका छन् ।

यिनले आफू र आफ्ना अनुयायीहरूलाई समेत यथार्थमा देशसेवामा अभ्यस्त गराइरहेका छन् । किसान, तल्लो तहका जनतादेखि उच्च ब्यापारिक घरानीयाँहरूलाई समेत देशसुहाउँदो टिप्स दिइरहेका हुन्छन् उनी । गरीव दुःखी, ब्यापारी, ब्यवसायी, मजदुरलगायत समस्त देशवासी मात्र नभएर अन्तर्राष्ट्रिय ख्यातिप्राप्त देशका शासकहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रसियन राष्ट्रपति भ्लादीमीर पुटिन, जापानी प्रधानमन्त्री सेन्जो आवेलगायतका बहुप्रतिष्ठीत देशका उच्चपदस्थहरू पनि उनीसँगै हातेमालो गर्न लालायित देखिन्छन् । उनी अरू कोही नभएर मित्रराष्ट्र भारतलाई कुशल नेतृत्व प्रदान गरी वाहवाही लुटिरहेका नरेन्द्र दामोदर मोदी नै हुन् ।

जागी सन्यासीदेखि कला र गला भएका लब्धप्रतिष्ठीतहरूले समेत मोदीलाई साथ र सहयोग गरिरहनुमा कुनै विशिष्ट प्रकारको गुण वा योजना भएर नै त होला । विषेश प्रकारको गुण, क्षमता र योजनालाई नै यत्तिका समुदायले स्विकार गरिरहेका होलान् । अन्यथा उनी पीसी सरकार जस्ता जादुगर त पक्कै होइनन् । यदि जादुगरीमै यत्तिको महान विचार, भाव र योजना हुने भए उनै पीसी. सरकार मोदी बन्न सक्दथे होलान् । तर त्यसो होइन आ–आफ्ना एक–एक वटा विधामा सबैको आ–आफ्नै किसिमका दक्षता त होलान् । तर समग्र देशलाई उच्च श्रेणीमा पु¥याउने र जनतालाई समृद्धि प्रदान गराउने मामलामा मोदीजी अब्बल सावित हुँदैछन् । यस्ता विशाल योजना तर्जुमा गरेर सफलता प्रदान गराउन अग्रसर भएकै कारण उनलाई विभिन्न तह र तप्कामा रहने बस्नेहरूले पुर्ण सहयोग गरिरहेका छन् । देशमा भ्रष्ट्राचार उन्मुलन गर्नैका लागि भनेर चालिएको जोखिमपुर्ण कदम हजार र पाँच सय दरको नोटबन्दीमा समेत जनस्तरबाट पुर्ण रुपमा साथ सहयोग मोदीले पाउनु उनको चामत्कारिक प्रवाभी व्यक्तित्वकै करामत हो ।

आज विकाशोन्मुख देशको सबै भन्दा ठुलो समस्या भनेकै भ्रष्ट्राचार हो । यसको निर्मलीकरणविना आगामी विकाश सम्भव छैन भन्ने नै आजको पहिलो र अन्तिम निष्कर्ष हो । अझै दक्षिण एसियाका देशहरू अरु बढी नै भ्रष्ट्राचारबाट गाँजिएका छन् । त्यसैले मोदीजीको पहिलो कदम नै भ्रष्ट्राचारको बिरुद्धमा उठेको थियो भन्दा फरक नपर्ला । भारतले झण्डै सत्तरी वर्षको स्वतन्त्र जीवनकालमा गर्न र पाउन नसकेको उपलब्धि मोदीले दुई वर्षको छोटो कार्यावधिमै देश र जनतालाई प्रदान गर्न सफल भएका छन् । एसियाकै विकाशको महान उपलब्धि भनेको जापानी बुलेट ट्रेन थियो । सोही यातायातको महानम् उपलब्धिलाई जापानी सहयोगमा निकट भविष्यमा नै भारतले हासिल गर्दैछ ।

विकाशको प्रमुख पुर्वाधार भनेको यातायात पनि हो । त्यसमध्य पनि दु्रत गतिको यातायात सेवा विस्तारले त झनै समयको बचत पनि गराउँछ र बढ्दो शहरी बसोवासको चापलाई समेत घटाई ग्रामीण जीवनशैलीलाई अझ विकशित तुल्याउँदै लैजाने कार्यले शहरमा काम खोज्न आउने र त्यतै अब्यवस्थित बसोवास गर्ने प्रवृत्तिलाई निरुत्साहित बनाउँछ अनि ग्रामीण बसोवासलाई सदृढ बनाउँदै लैजान्छ ।

आज भारतले यातायात क्षेत्रमा नयाँ जीवन पाउँदैछ । यो सबै उपलब्धि भारतका प्रधानसेवक मोदीजीबाटै सम्भव भएको छ । अधिनायकवादी राजतन्त्रात्मक शासनशैलीको संस्कार विकशित भएर आएको दक्षीण एसियामा जस्तोसुकै लोकतन्त्र र गणतन्त्र भनिएता पनि यथार्थमा शासकहरू पुर्ण लोकतान्त्रिक बन्न सकेका छैनन् । तर पुर्ण लोकतन्त्रवादी शासन शैलीमा खरो रुपमा उत्रने पात्रका रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै अब्बल सावित भएका छन् । उनको एक मात्रै उद्देश्य भनेको भारतलाई समृद्धशाली लोकतन्त्र प्रदान गर्नु नै रहेको बुझिन्छ । ब्यक्तिगत समृद्धि र सम्पत्ति आर्जन गरेर सत्ता र शक्तिमा टिकीरहने सोच उनको छैन भन्दा पनि हुन्छ । बरु देश र जनतालाई नै संमृद्धशाली बनाउन सकियो भने मलेशियाका महाथीर र सिंङपुरका निर्माता लिक्वान जस्तै बन्ने सोचबाट प्रेरित भएका मोदी दक्षीण एसियाकै आइकन हुन् ।

महाराजा बनेर शासन गर्ने सोच उनीभित्र रत्तिभर छैन । सेवक बनेर जनमुखी शासन ब्यवस्था सम्हाल्ने सोचले नै उनलाई महान् बनाउँदै छ । हाम्रो देशमा भने ६ महिना, १० महिनामा मन्त्री–प्रधानमन्त्री बन्ने अवसर पाएका अधिकांश जनहरूमा आफुलाई शासन सत्ताको अविच्छिन्न उत्तराधिकारी वा सोसरह सम्झने र कार्यशैलीमा समेत त्यस्तै किसिमको भ्रम पैदा गर्ने प्रवृत्ति धेरैजसोले देखाउने गरेको पाइन्छ । ब्याक्तिगत समृद्धिमा लालायित भएका यस्ता नवशोषकहरूबाट देश र जनताको समृद्धि सम्भव छैन । चाँडै नै यस्ताहरूलाई चिनेर पाखा लगाउन सकिएको खण्डमा आगामी निर्वाचनद्वारा प्रधानसेवक र अन्य राष्ट्रसेवकहरू पाउने सम्भावना रहने थियो ।

सात्विक भोजन गर्ने, देशकै भेषभुषा रुचाउने, ब्याक्तिगत मोह नभएको, राष्ट्रहितका लागि अहोरात्र खट्ने, परिवारवादी सोच नभएको, अहंकारशुन्य भएका, पदीय शक्ति र श्रोतको प्रमाद नभएको, देश र जनताको हैसियत चिनेको, आफुलाईभन्दा देश र जनतालाई अधिक माया गर्ने, पूर्वीय धर्म र संस्कारमा विश्वास राख्ने, सुख–दुःखको भागेदार, प्रखर वक्ता र कर्ता समेत भएका, जिम्मेवार देशभक्त, क्षमता र योग्यताको पुर्ण कदर गर्ने, संधैजसो जनस्तरमा नै रमाउन चाहने, देश र जनताको सेवा नै आफ्नो धर्म ठान्ने आदि अति विशिष्ट गुणहरूले सम्पन्न भएकै कारण सम्माननीय भारतीय प्रधानमन्त्री श्री नरेन्द्र दामोदर दास मोदी आफुलाई राष्ट्रको प्रधानसेवक भन्न रुचाउँछन् ।

अन्तमा, यो लेख नरेन्द्र मोदीको प्रशंसाका लागि नभई उनको राष्ट्रप्रेमी, जनमुखी, त्यागी र आदर्श व्यवहारबाट हाम्रा नेतागणले प्रेरणा लिई देशलाई अघि बढाउन् भन्ने अभीष्टले मात्र मोदीजीको चर्चा गरिएको हो । मोदीलाई संसारले नै चिनेको परिवेशमा यो सानो लेखोटले के नै हुने हो र ? केवल नजिकको छिमेकमै मोदीजस्ता लोकप्रिय शासक पनि छन् है भनेर झस्काउने प्रयत्न मात्र गरिएको हो । अस्तु ।