आपनेतृ अतिशी बनिन् दिल्लीको मुख्यमन्त्री

आपनेतृ अतिशी बनिन् दिल्लीको मुख्यमन्त्री


भारतमा आम आदमी पार्टी (आप)की नेतृ आतिशी मार्लेना सिंहले शनिबार (५ असोज) राज निवासमा आयोजित समारोहबीच दिल्लीको मुख्यमन्त्रीका रुपमा सपथ लिएकी छन् ।

आपका नेताहरू सौरभ भारद्वाज, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र मुकेश अहलावतले पनि आतिशी नेतृत्वको दिल्ली सरकारमा मन्त्रीपरिषद्को सदस्यका रुपमा सपथ लिएका छन् ।

४३ वर्षीया आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बनेकी छन् । यसअघि भाजपाकी सुष्मा स्वराज र कांग्रेसकी शीला दीक्षित जस्ता महिला नेतृहरुले दिल्लीको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

आम आदमी पार्टीकी एक प्रमुख नेता रहेकी आतिशीले पूर्व शिक्षामन्त्री मनिष सिसोदियाको सल्लाहकारको रूपमा रहँदा दिल्लीका सरकारी विद्यालयहरूमा शिक्षा सुधार गर्न महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

शपथपछि नेतृत्व परिवर्तनबारे बोल्दै आतिशीले निवर्तमान मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिनुपरेकोमा दुःखी भएको तर आफूमाथि आप नेताले गरेको विश्वासबाट आफू खुसी भएको बताइन् । सञ्चारमाध्यमसँग कुरा गर्दै उनले आगामी विधानसभा चुनावपछि केजरीवाललाई नै मुख्यमन्त्रीको रूपमा फिर्ता ल्याउन आफूले कडा मेहनत गर्ने अभिव्यक्ति दिइन् । ‘सबैभन्दा पहिले म दिल्लीका लोकप्रिय मुख्यमन्त्री, आम आदमी पार्टीका राष्ट्रिय संयोजक र मेरा गुरु अरविन्द केजरीवाललाई धन्यवाद दिन चाहन्छु, उहाँले मलाई यति ठूलो जिम्मेवारी दिनुभयो र यसका लागि मलाई विश्वास गर्नुभयो, म सामान्य परिवारबाट आएको हुँ । यदि म अन्य कुनै पार्टीमा भएको भए सायद मलाई चुनावको टिकटसमेत दिइने थिएन’, उनले भनिन् ।