-डीपी त्रिपाठी
अहिले देवप्रकाश त्रिपाठी नामधारी मेरो जन्म, मेरो आफ्नै या अरू कसैको योजनाबद्ध कार्यक्रमअनुरूप भएको थिएन । एउटा सुनिश्चित आकस्मिकता मात्र थियो- मेरो अस्तित्व । मलाई जन्म दिने माता-पिता ब्राह्मण कुलको हुनुहुँदोरहेछ, आठ वर्षको उमेरमा मेरो ब्रतबन्ध गर्ने क्रममा मलाई यस महात्म्यको बोध गराइयो । ब्रतबन्धसँगै जीवनयापन क्रममा निर्वाह गर्नुपर्ने केही सूत्रहरू पालन गर्न मलाई पुरोहित र मेरा अभिभावकहरूबाट निर्देशन भयो । हरेक बिहान उठेर नुहाउनुपर्ने, नित्यकर्मका क्रममा जनै कानमा राखी मुख पूरा बन्द गर्नुपर्ने, नित्यकर्मपश्चात् सफा पानीले मुख कुल्ला गरेर मात्र कसैसँग बोल्नुपर्ने, खाना खानुअघि हरेक बिहान पूजा र पाठ गर्नुपर्ने, खानाको समयमा पनि नबोलीकन खानुपर्ने, अण्डा, खुकुरा, सुँगुर आदिलाई छुन नहुने, जहाँ पायो त्यहाँ जो-कसैले पकाएको खान नहुने, खान बसिसकेपछि जनै हातमा बेरेर गायन्त्री मन्त्र जप्नुपर्नेजस्ता कठोर निर्देशन मेरो बाल मस्तिष्कमा यसरी प्रक्षेपण गरियो कि यस्ता कर्म गरिएनन् भने पापको ठूलै भारी बोकेर नरकबास जानुपर्ने त्रास पनि देखाइयो । मेरो गाउँमा ब्राह्मण र क्षत्रीहरूको मात्र बसोबास भए पनि गैरब्राह्मण समुदायको बसोबास पनि धेरै टाढा थिएन । उनीहरूका छोराछोरीहरू जो मसँगै बढ्थे तिनीहरूको जीवन मेरोजस्तो कठोर आचारसंहिताबाट जेलिएको थिएन । जीवन बाँच्ने क्रममा मेराजस्ता कुनै पनि कठोर संहिताको घेरामा पारेर जीवनलाई जटिल तुल्याउने कार्य त्यहाँ भएको थिएन । तिनका पनि आफ्नै मौलिक परम्परा र संस्कार त थिए, सबै सहज र सरल तर रंगिन प्रकृतिका थिए । विद्यालयमा शिक्षकले पालन गर्न लगाउने अनुशासनको फेहरिस्त जुन सबैले अवलम्बन गर्नैपथ्र्यो, त्यो त्यति कठिन थिएन मेरा निम्ति, तर ब्राह्मण कुलमा जन्म भएकै कारण जे-जस्तो कठोर संहिताको घेरामा आफूलाई राखिएको थियो, त्यो मेरा निम्ति एकप्रकारको दण्ड-सजायसरह थियो । खानाको समयमा नुहाइसकेपछि कपडा बदलेर पञ्चायन पूजा गर्नैपर्ने अनिवार्य नियमबाट आजित मेरो भाइ जयप्रकाशले हिउँदको एक बिहान पञ्चायन देवताको रूपमा रहेको शालिग्राम(काला र बुट्टेदार पत्थर) लाई हातमा लिएर भन्दै थियो, ‘आज तिमीले मैले चढाएका प्रसाद खानैपर्छ, खाएनौ भने भोलिदेखि पूजा गर्दिनँ ।’ जाडोको समयमा नुहाएर अर्धनग्न भई पूजामा बस्नुपर्दा सायद उसलाई पनि मलाई जस्तै सास्तिबोध भएको हुँदो हो । आफ्नै उमेर-समूहका तर अन्य जातिका मानिस बिहान उठ्नेबित्तिकै हातमुख पनि नधोई खाना खान पाउँथे, खानेबित्तिकै विद्यालय जाने र विद्यालयबाट फर्किएपछि खेल्न निस्कनु उनीहरूको नियमित चर्या थियो । आफूलाई भने विद्यालयको पाठ सकिनेबित्तिकै रुद्री, चण्डी, गीता, रामायण, महाभारत र देवी भागवतका पुस्तकहरू पाठ गर्न लगाइन्थ्यो, भनिन्थ्यो- ‘ठूलो विद्वान् पण्डित हुनुपर्छ, पिता-पुर्खाको नाम-इज्जत राख्नुपर्छ, कहिल्यै कुनै गलत काम गर्नुहुँदैन ।’ अनि यो पनि बारम्बार भनियो कि पैसाभन्दा नाम, इज्जत धेरै ठूलो हो, ज्ञानी गुणी बनेपछि नाम, इज्जत आफैं आउँछ ।’
ब्राह्मण कुलमा जन्मिएका कारण जवानीको प्रारम्भिक कालसम्म यसप्रकारका ‘सास्ती’ खुब व्यहोरियो । प्रवेशिका उत्तीर्ण गरेर कलेज भर्ना भएपछि भने ‘कुलसंहिता’ द्रूत गतिमा तोड्न थालियो । बाल्यकालमा जुन जीवन पद्धति अपनाउन बाध्य पारिएको थियो, त्यो अत्यन्त सुन्दर तथा अनिवार्य पक्ष रहेछ भन्ने आत्मबोध हुँदासम्ममा मैले ब्राह्मण कुलमा जन्मेका कारण पालन गर्नुपर्ने सम्पूर्ण चिनो मेटिसकेको थिएँ । तर, जीवनको प्रारम्भिक कालखण्डमा ब्राह्मण भएकै कारण पाएको सास्ती मेरो मानसपटलमा अझै ताजा छ ।
अहिले जीवनको उत्तराखण्ड प्रवेशको पूर्वसन्ध्यामा आइपुग्दा ब्राह्मण कुलमै जन्मेका कारण अर्को पीडा सुरु भएको छ । विगतमा को-कसले देशको शासन गरे, ब्राह्मण-क्षत्री कुलका कसले कसरी सत्ताको केन्द्रबिन्दुमा रहने मौका पाए त्यसको समीक्षा नभईकन विगतका कमी-कमजोरीका निम्ति सम्पूर्ण रूपले ब्राह्मण-क्षत्रीहरू दोषी रहेको निष्कर्ष निकालिँदै छ र यिनलाई कसरी किनारा लगाउने भन्ने सोचका साथ अहिले व्यवहार गरिँदै छ । देशमा कैयन समुदाय विभिन्न कारणबस पछाडि परेका छन् र तिनलाई माथि उठाउनु हामी सबैको दायित्व हो । दक्षिण अफि्रकामा जस्तो छालाको रंगका आधारमा राज्यले ‘विधिवत्’ पृथक व्यवहार गरेको स्थिति यहाँ थिएन । अवसर प्राप्त गर्ने छुट हरेक जाति, धर्म, भाषिक र क्षेत्रीय समुदायकालाई थियो । तथापि दक्षिण अफि्रकाका गोराहरूलाईझैं यहाँ क्षत्री-ब्राह्मणलाई ‘दुश्मन’का रूपमा व्यवहार गर्ने प्रयास भइरहेको छ । ब्राह्मण-क्षत्री समुदायका कोही माथि पुगेका भए ती कति सङ्घर्ष गरेर आफूलाई स्थापित गर्न सफल भएका हुन् भन्नेतर्फ किञ्चित विचार-विमर्श नगरी ‘माथि’ पुग्नु नै गल्ती ठानिँदै छ । योग्यता र क्षमतालाई भन्दा जाति र क्षेत्रलाई प्राथमिकता दिने सोच-व्यवहारले ब्राह्मण-क्षत्रीलाई दरकिनार गर्ने प्रयास हुँदै छ । एउटा शाखा अधिकृत बन्न ब्राह्मण-क्षत्रीले हज्जारौँका बीच प्रतिस्पर्धा गर्नुपर्ने अन्य कतिले चाहिँ सोही अवसर प्राप्त गर्न खास प्रतिस्पर्धा गर्नै नपर्ने व्यवस्था गरिएको छ । त्यति मात्र होइन, एउटा शाखा अधिकृतलाई बढुवा हुन कम्तीमा पाँच वर्ष प्रतीक्षा गर्नुपर्ने हुन्छ, तर कतिपयले चार वर्षमै उक्त अवसर प्राप्त गर्न सक्नेछन् । यसो गर्दा एउटा योग्य मानिसभन्दा पहिले अर्कै बाटोबाट आएका मानिस हाकिम बन्न पुग्ने निश्चितप्रायः छ । अर्थात् एउटा योग्य मानिसले कम प्रतिस्पर्धाबाट अगाडि आएका मानिसको अन्तर्गतमा रहेर काम गर्नुपर्ने अवस्था सिर्जना गरिँदै छ । समाजमा पछौटेपन रहँदासम्म पिछडिएको समुदायका मानिसलाई निश्चित कालसम्म आरक्षण दिएर भए पनि माथि उठाउन खोजिनु स्वाभाविक हुन्छ । तर, खास जातीय समुदायको भएकै कारण कसैलाई अनन्तकालसम्म त्यस किसिमको अवसर उपलब्ध गराइने सोच राखिनुलाई चाहिँ स्वाभाविक र प्राकृतिक ठान्नु किमार्थ न्यायोचित हुन सक्दैन । यहाँ आरक्षणलाई जन्मसिद्ध र स्थायी अधिकारका रूपमा प्रयोग गर्ने चेष्टा हुँदै छ । त्यति मात्र होइन एकात्मक राज्यलाई जातीय आधारमा विभाजन गरी निश्चित जातिलाई शासन सञ्चालनमा अग्राधिकार दिइनेसम्मका ज्यादतिपूर्ण अवधारणा अघि सारिएका छन् । अवसरहरूबाट अप्राकृतिक किसिमले निश्चित जातलाई वञ्चित गर्न भइरहेका प्रयासहरूले न्यूनतम मानवअधिकार र लोकतन्त्रका आधारभूत मूल्य-मान्यतालाई समेत खिल्ली उडाइरहेको छ । मौका मिल्नेबित्तिकै क्षत्री-ब्राह्मणलाई प्रहार गर्ने, हरेक अवसरबाट तिनलाई वञ्चित गर्ने प्रपञ्च यसैगरी चलिरहने हो भने यो मुलुक योग्यता र क्षमतामा विश्वास गर्नेहरूका निम्ति क्रमशः परायभूमि बन्न सक्ने जुन खतराका सङ्केतहरू देखिएका छन् । यसले भविष्यमा दक्ष जनशक्ति यहाँबाट पलायन गराउने सम्भावना बढाएको छ ।
ब्राह्मण-क्षत्रीलगायत कतिपय राष्ट्रवादी समुदाय र व्यक्ति यो मुलुक खण्डित भएको अवस्था व्यहोर्न चाहँदैनन् । नेपाली हुनुको गौरव कायम राख्दै समग्र मुलुकको समृद्धिका निम्ति क्रियाशील रहनु नै गल्ती हो भने त्यस्तो गल्ती ब्राह्मण-क्षत्रीले अवश्य गरिरहेका छन् र यसप्रकारको गल्ती दोहोर्याई-तेहेर्याई बारम्बार यिनले गरिरहने पनि छन् । आफ्नो समुदायको हितका पक्षमा मात्र आन्दोलित हुने हो भने त्यसप्रकारको आन्दोलन सुरु हुने सम्भावना पनि जीवित छ । तर, क्षत्री-ब्राह्मणले समेत देशको कुरा गर्न छोडेर आफ्नै हितमा मात्र केन्द्रित हुन थालेमा यो मुलुकको अस्तित्व र भविष्य कसरी जोगिन सक्ला – चिन्ता थपिएको छ । देशलाई सुडान, नाइजेरिया, बुरुण्डी या इथियोपिया बन्न नदिन निश्चित समुदायले निर्वाह गरिरहेको भूमिका कमजोर हुँदा देशको समग्र रक्षा हुने विश्वास गर्न सकिँदैन, जीवनको उत्तराखण्ड प्रवेशको पूर्वसन्ध्यामा ब्राह्मण कुलमा जन्म हुनुको पीडा थपिएको छ, अब यसप्रकारको पीडाबाट कसरी उन्मुक्ति प्राप्त गर्न सकिएला ?
प्रतिक्रिया