रेमिट्यान्स आप्रवाहले ६९५ अर्ब नाघेको छ । राष्ट्र बैंकका अनुसार रेमिट्यान्स आप्रवाह ४.६ प्रतिशतले वृद्धि भई ६९५ अर्ब ४५ करोड पुगेको हो ।
अघिल्लो वर्ष विप्रेषण आप्रवाह ७.७ प्रतिशतले वृद्धि भएको थियो । विप्रेषण आप्रवाह कुल गार्हस्थ उत्पादन अनुपात अघिल्लो वर्ष २९.६ प्रतिशत रहेकोमा समीक्षा वर्षमा २६.८ प्रतिशत रहेको छ । समीक्षा वर्षमा खुद ट्रान्सफर आय ९.५ प्रतिशतले वृद्धि भई ८५१ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ९.६ प्रतिशतले बढेको थियो ।
दशैँका लागि खर्च गर्न भन्दै घर परिवारका लागि विदेशबाट ठूलो मात्रामा रकम भित्रिने भएकाले यो समयमा रेमिट्यान्स बढ्ने गरेको हो । केही बर्षयताको तथ्यांक अनुसार दशैँको बेलामा बढी रेमिट्यान्स भित्रिने गरेको राष्ट्र बैंकले जनाएको छ । खासगरि, भदौ, असोज र कात्तिक महिना रेमिट्यान्स आयमा वृद्धि हुने गरेको छ ।
रेमिट्यान्सको त्यो अतिरिक्त रकम दशैँको समयमा खर्च हुन्छ । दशैँको समयमा नयाँ लुगा लगाउने, मिठो खाने भएकाले पनि खर्च बढी हुने गरेको छ । यो प्रयोजनका लागि पनि विदेशवाटै ठूलो रकम आउने गरेको रेमिट कम्पनीको भनाइ छ ।
अहिले मुलुकको अर्थतन्त्रको २६.८ प्रतिशत हिस्सा रेमिट्यान्सले धानेको छ । मुलुकको अधिकांश जनसंख्या रेमिट्यान्समा आश्रित भइरहेको अवस्थामा दर्शैँको समय रेमिट्यान्स कम्पनीहरुका लागि मनग्गे नाफा कमाउने समय हो । असार मसान्तसम्मको तथ्यांक अनुसार, गत आर्थिक वर्षमा मात्रै झन्डै चार लाख नेपाली विदेशिएका छन् ।
प्रतिक्रिया