माछापुछ्रेको सेरोफेरो यसपालि-सुमलकुमार गुरुङ

माछापुछ्रेको सेरोफेरो यसपालि-सुमलकुमार गुरुङ


भारतको प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसाद राष्ट्रपति बनेपछि पहिलोचोटि नेपालको कुटनीतिक भ्रमणमा पोखरा आएका थिए । उनी विमानबाट पोखरामा ओर्लेपछि आफ्नै आँखा अघि माछापुछ्रेलाई देख्दा झण्डै दुई मिनटजति माछापुछ्रेको सौन्दर्यलाई आँखा नझिम्क्याई हेरेका थिए रे । उनी मन्त्रमुग्ध भएर कुमारी हिमालको त्यो सुन्दरतालाई निहारेपछि उनको मन पुलकित भएको थियो रे भन्छन् । दुईतिर अन्नपुर्ण हिमश्रृङ्खलाका भरिपूर्ण हिमरासले भरिएका मनमोहक हिम चुचूरोहरुका माझ माछाको पुच्छर आकारको माछापुछ्रे शिखर नीलो आकाशतिर ताक्दै उभिएको देखिन्छ । तर, पोखराको मध्यभागबाट देखिने माछापुछ्रेको यो दृष्य वरिपरिका अरु क्षेत्रहरुबाट विभिन्न कोणबाट भिन्नभिन्नै देखिन्छ । मेरो गाउँ चित्रे, पर्वतबाट माछापुछ्रेको चुचूरो अलि फरक देखिन्छ । त्यस्तै घान्द्रुकबाट हेर्दा नजिक देखिने यो हिम शिखरलाई झनै राम्रो देखिन्छ । चुचूरोमाथि बीचमा अलिकति खोपेर माछाको पुच्छर जस्तै आकार दुरुस्तै देखिन्छ । ती अन्नपूर्ण हिमश्रृङ्खलाका हिमालहरु मध्येका सबैभन्दा सुन्दर देखिने माछापुछ्रे हिमाललाई हिन्दू धर्ममा शिवको प्रतीक मानिने हुनाले यसलाई पवित्र मानिन्छ । अहिलेसम्म कुनै पनि पर्वताहरोहीले यस पर्वतको शिखरमाथि पाइला टेकेका छैनन् । ६९९३ मिटर अग्लो यस हिमाललाई प्रथम पटक सन् १९५७ सालमा दुई जना बेलायती पर्वतारोहीहरु, क्रमशः विलफ्राइड नोयस र एडीएम कक्सले माछापुछ्रे शिखरको ५० मिटर मुनिसम्म चढेका थिए । उनीहरुलाई शिखरमा चढ्ने अनुमति नदिएकाले उनीहरु शिखरमाथि चढेका थिएनन् । त्यसपछि कुनै पनि पर्वतारोही दललाई माछापुछ्रे हिमालमाथि आरोहण गर्ने अनुमति दिएको छैन । यसकारण यसलाई भर्जिन माउन्ट अर्थात कुमारी हिमालको संज्ञा पर्वतारोहीहरुले दिएका छन् ।

माछापुछ्रे हिमाल र वरिपरीका प्राकृतिक सौन्दर्य विश्वभरीमा मलाई सर्वश्रेष्ठ र सुन्दर लाग्दछ । यो हिमालबारे धेरै किंबदन्तिहरु सुनेको छु । आजभन्दा १८, १९ वर्षपहिले एक जना पोखरेली नेवार मित्रले माछापुछ्रेबारे एउटा रोचक कुरा भनेका थिए, त्यो कुरा आजसम्म मलाई सम्झना छ । उनका अनुसार उहिले महाभारत कालमा पाँच पाण्डवहरु गुप्तवासमा रहँदा यही हिमालय क्षेत्रका फेदीहरुमा पर्ने मनमोहक अरण्यमा आएका थिए । ती पाँच भाईमध्ये भिम अत्यन्त बलवान र शक्तिशाली थिए । उनले ठुलो चट्टान उठाएर ठेलो फाल्दा त्यो ढुङ्गा माछापुछ्रेको शिखरमा ठोक्किँदा त्यो ठाउँ खाल्डो परेर माछाको पुच्छर आकारको भएको थियो । मलाई त्यो कुराको पत्यार त लागेन किनभने यसबारे कतै उल्लेख भएको अझसम्म पढेको छैन तर महाभारत कालमा शिवजीको गाण्डिव धनुष प्राप्त गर्नका लागि त्यसकालको श्रेष्ठ धनुर्धर अर्जुन हिमालयको फेदीमा शिवलाई प्रसन्न पार्न तपस्या बसेको कुराचाँहि उल्लेख छ । भगवान शिव अर्जुनको तपस्यामा प्रसन्न भएर किराँतरुप धारणगरी प्रकट भएका थिए । कतिपय ईतिहासकारहरुले यस समयलाई ३००० वर्ष यिशूख्रिष्ट जन्मनुअघि रहेको आधार मानेका छन् । महाभारतकालमा उल्लेख गरेका किराँतहरु अहिलेका राई तथा लिम्बुहरु हुन् । भन्नाले पाँच हजार वर्षभन्दा अघि यी जनजातीमूलका भूमिपुत्रहरु त्यहाँका वासिन्द थिए भन्नेकुरा पुष्टि हुन्छ । आदिवासी जनजातिहरु अनादिकालदेखि नेपालको हिमशिखर वरिपरि बसोबास गर्दै आएका थिए भन्ने गतिलो प्रमाण यो हो । सायद यही हिमालयको सुन्दरताले गर्दा नै जनजातीका पूर्वजहरुले यसक्षेत्रलाई आफ्नो कर्मभूमी बनाएका होलान् भन्ने मलाई अनुभूति हुन्छ ।

पर्वत जिल्लाको भूकताङ्ले गाविसतिरका गुरुङहरु(तमूहरु)ले गुरुङ भाषामा यस हिमाललाई “कता सूँ” अर्थात काग वा चराको मुख भन्छन् । काग आकाशतिर फर्केर कराउँदा दुईवटा चुच्चो फैलिएजस्तो गरि देखिने हिमशिखर यस भेकबाट देखिन्छ । त्यसकारण यस हिमाललाई कता सूँ भनेको होकि भन्ने अन्दाज मलाई लाग्यो । गाउँघरमा आमाहरुले बुहारी, छोरा–छोरी र घरका सदस्यहरुलाई अबेरसम्म सुतिरहेका देखे… लौ हेर त कता सूँ माथि घाम चढी सक्यो, तिमीहरु उठदैनौ ? …. भन्ने गरेका मैले सानो छँदा सुन्ने गरेको थिएँ । वास्तवमा यो सुन्दर हिमाल माछापुछ्रेलाई मैले होश सम्हालेदेखि देख्दै आएको छु र त्यहाँका वासिन्दाहरुका जीवनसंग अमिट सम्बन्ध रहेको अनुभूति गर्दछु । बिहान सूर्यको पहिलो किरण हिमालमा परेदेखि बेलुकि घाम नअस्ताउन्जेल भूमिपुत्रहरु अन्न उत्पादनको लागि धर्तीमातासंग खेलिरहन्छन् । जब-जब नेपाल जान्छु म माछापुछ्रेलाई देख्दा मन त्यसै प्रफुल्लित हुन्छ । अनि मलाई आफ्नो बाल्यकालतिर डो-याँउँदै लान्छ । भावनाले मलाई स्वच्छ र सफा वातावरण भएको आफ्नो गाउँतर्फ हिमालको वर्णण गर्दै जाँदा तान्दै लग्यो । म पर्वत जिल्लावासी भएको कारणले गर्दा पनि आफ्नो गृहजिल्ला र गाउँको सम्झना आइरहन्छ । पर्वत जिल्लावासीको नाताले हिमाल र पर्वतको प्रसङ्गबारे भन्नुपर्दा पर्वत नेपालका जिल्लाहरुमा एकदमै सुन्दर जिल्लामध्येमा पर्दछ । पुराणमा उल्लेख गरेअनुसार शिवकी अर्धाङ्गिनी पार्वतीको जन्म पर्वतमा भएको किंबदन्ति छ । माछापुछ्रे बारे भन्दैजाँदा पर्वत र पार्वतीको प्रसङ्ग यहाँ राख्न पुगेछु । मेरो पुख्र्यौली घर चित्रेबाट पौने घण्टाको बाटो पैदल तल झरे डिमुवा–पाथीचौर आइपुग्छ । यस ठाउँमा देउपुर र थामरजुङको बीचमा बेथिनीहुँदै मोदीखोला समथल भएर बगेकी छिन् । अलि तल डिमुवालाई बायाँ पार्दै तिलहारको ठानागाउँको पहाडी भित्तालाई हान्दै यो नदी दोबिल्लातिर ओर्लन्छिन् । क्याङलेस्पारको बन हुँदै माथिबाट बग्दै आएकी पाथीखोला पाथीचौरको समथल खेतहरु दायाँ पारेर मोदीखोलामा विलय हुन्छिन् । त्यही पाथीचौरको खेतबाट माछापुछ्रेको माथि पट्टिको भाग मात्र देख्न सकिन्छ । वरिपरिका अरु हिमालहरु देखिन्नन् । त्यस ठाउँमा त्यसक्षेत्रका स्थानीय वासिन्दाहरुले एउटा मन्दिर निर्माण गर्नका लागि कोटीहोम यज्ञ केही वर्षअघि सम्पन्न गरेका थिए । त्यतिबेला म नेपालमा नै थिएँ । एकजना मित्रले मलाई त्यस ठाउँबाट माछापुछ्रेलाई एकटक लगाएर हेरे पार्वतीको स्वरुप देख्न सकिन्छ भनेका थिए । यसरी माछापुछ्रे धेरै कोणबाट धार्मिक सहिष्णुताले स्पर्श गरिएको पवित्र हिमालको रुपमा युगौदेखि उभिएको छ । यस कुरालाई धेरैले पुष्टि गरेको अहिले सम्झन्छु । गण्डकी अञ्चलवासीका धरोहर, साँच्चै नै भन्नुपर्दा अन्नपुर्ण हिमश्रृङ्खला जीवनको एउटा पर्याय हो । यही हिमश्रृङ्खलाबाट बगेका अमृत समान नदीहरु यहाँको धर्तीलाई सिँचने जिन्दगी हो । कसले भुल्न सक्छ र फेवातालमाँझ माछापुछ्रेको छवि लुकेको दृष्य ? के मनमस्तिष्कबाट त्यो छवि कहिल्यै हटेर जान सक्छ ? एकपटक नजरहरुले दृष्यपान गरेपछि माछापुछ्रेको सुन्दरता सदा स्मृतिमा रहिरहन्छ भन्ने मलाई लाग्छ । त्यसक्षेत्रका वातावरणलाई सन्तुलन राख्ने यो हिमाली श्रृङ्खलाको ठ्रलो महिमा रहेको म ठान्दछु ।

म प्रायः सालमा एकपटक नेपाल आमाको चरण स्पर्श गर्न जाने गर्छु । मलाई गण्डकी क्षेत्रको पावन धर्तीमा प्रवेश गर्नसाथ एकप्रकारको आनन्द महशुस हुन्छ । यस पटक पनि म मंसिर महिनामा नेपाल गएको थिएँ । मौसम खासै राम्रो थिएन । घर पुगेपछि भोलिपल्ट बिहानपख उठेर बुहारीले बनाई दिएकी एक कप चिया लिएर म घरको छानामाथि गएँ । मलाई हिमालको त्यो मनमोहक दृष्यले लोभ्याइरहेको थियो । मौसम खासै राम्रो थिएन । बिहानीपख अलि घुर्मैलो दिन भएर होला हिमाल त्यति सफा देखिरहेको थिएन । तर, मलाई यसपालि हिउँदमा पनि हिउँको चमक माछापुछ्रेमा त्यति देखिनँ । यो कुरा मलाईमात्र नभई धेरैलाई केही वर्षदेखि चिमोटिरहेको हुनुपर्छ । म सानो छँदा माछापुछ्रेको ढुङ्गावाला कालोभागहरुमा हिउँ टम्म देखिन्थ्यो । यस मानेमा त्यो हिमाल अन्यन्त सुन्दर देखिन्थ्यो तर अहिले नाउँ मात्रको हिउँ माछापुछ्रेको जिउँमा देख्दा गहनाबिनाको नारी, यौवनकालमा नै बुढ्यौलीले छोएजस्तो, त्यो आकर्षनमा मोहकता कमिदैगएको लाग्यो मलाई । विश्व जलवायु परिवर्तनको असर प्रत्यक्ष माछापुछ्रेमा देखिन्छ । वरिपरिका हरियाली डाँडाकाँडाहरुका वनस्पति मासिँदै गएको अभास र माछापुछ्रेको रुप परिवर्तनको अहासले मलाई आघात पु-यायो । आजभन्दा चालीस पचास वर्ष पहिलेको माछापुछ्रेलाई सम्झदाँ र अहिलेको यो माछापुछ्रेलाई देख्दा के पछि यी पहाडहरु सबैं यसरी नै नाङ्गिएर कालो पत्थरको पहाड बन्न पुग्ने हो ? यस्तो अवस्थामा नेपालको के हालत होला भन्ने वातावरणीय सोंचले मलाई केहीबेर घोत्ल्यायो । यहाँका वासिन्दाहरुलाई वातावरणसम्बन्धी चेतना जागरण नगरे कुनै दिन नेपाल बन्जर मरुथल बन्न के बेर जस्तो लाग्यो मलाई । एउटा कारण बढ्दो विश्व तापक्रमले गर्दा जलवायु परिवर्तनको सङ्केत पनि हुन सक्छ, तर, माछापुछ्रे र अन्नपूर्ण हिमाल सेरोफेरो बस्ने वासिन्दाहरुले बनजंगल संरक्षण नगरे यी सुन्दर हिमालहरुका आयु धेरै लामो नहोला भन्ने मेरो अड्कल छ ।