हुन्डीको कारोरबार रोक्न सरकार असफल

हुन्डीको कारोरबार रोक्न सरकार असफल


रोशन कार्की

विदेश वा स्वदेशबाट लामो समयदेखि चल्दै आएको हुण्डीबाट हुने कारोबारलाई रोक्न सरकारले जति नयाँ योजना ल्याएपनि नियन्त्रण गर्न भने असफल भएको छ । विदेशबाट नेपालीहरुका लागि छिटो र सजिलो तरिकाले पैसा पठाउने पहिलो माध्यम हुन्डीलाई बनाएपछि नेपालबाट आउने जानेले यस अबैध कार्यलाई व्यवसायनै बनाएर काम गरेकै कारण हुन्डी कारोबार नियन्त्रणभन्दा बाहिर गएको हो ।

रेमिटबाट पैसा पठाउँदा झेल्नुपर्ने झन्झटका कारणले नै हुन्डीलाई अधिकांश प्रवासी नेपालीहरुले प्रयोग गर्ने भएकाले नेपालमा रहेका केही व्यवसायीहरुले सो अबैध कामलाई बैद्य झै कारोबार नै गर्न थालेपछि पछिल्लो समयमा सो कार्यले झन तीव्रता लिएको छ ।

सरकारकै कारण सो अबैध कारोबार नियन्त्रण गर्न असफल समेत भएको छ । सरकारले हुन्डी कारोबार रोक्न सम्बन्धित निकायमा निर्देशन दिएको भएपनि पछिल्लो समयमा नेपाल हिमालय सिमापार व्यापार संघका पूर्वअध्यक्ष दुर्गाबहादुर श्रेष्ठ पक्राउ परे लगत्तै छुटेपछि सो कार्य निन्त्रणभन्दा बाहिर रहेको पृष्टी भएको छ ।

रेमिट्यान्स कम्पनीले सेवा सुरु भएको एक दशक पूरा हुँदा पनि हुन्डीको कारोबारले अझै बजार पाएपछि बैद्यानीक भन्दावपनि अबैधरुपमा पैसाको ओसार÷प्रसार कार्यमा सरकारी कर्मचारीदेखि सामान्य व्यवसायीसमेत संलग्न रहेको खुलासा भएको छ ।

कोरियामा हुन्डीमार्फत पैसा पठाउँदा कामदारहरु ठगिन थालेपछि कोरियास्थित नेपाली दूतावासले नेपालीहरुलाई वैधानिक तवरले नेपालबाट पैसा पठाउनकालागि आग्रहनै गरेर विज्ञप्ति सार्वजनिक गरेको थियो । कोरियामा विभिन्न व्यापार व्यवसायमा सञ्चालन गरेका व्यवसायीहरुले हुन्डीको कारोबारमा संलग्न रहेको पाइएपछि नेपाली राजदुताबासबाट विज्ञप्तिनै जारी गरिएको थियो ।

तत्कालिन समयमा दूतावासले विज्ञप्ति जारी गरेपनि सो देशबाट हुने हुन्डी कारोबार अझै नियन्त्रणमा आउन सकेको छैन् । दक्षिण कोरियामा प्रचलित हुन्डी कारोबारलाई नेपाल रेमिट संघकै पदाधिकारीहरुकै सहयोगमा हुन्डीको कारोबार हुने गरेको समेत आरोप लागेको छ । हाल कोरियामा ५० हजारभन्दा बढी नेपाली कामदारहरु रहेको अनुमान गरिएको छ । कोरियाबाट मात्र वार्षिक २५ अर्बभन्दाबढी नेपाली रुपैयाँ नेपाल भित्रिने गरेको अनुमान समेत गरिएको छ ।

वैधानिक तवर सो देशबाट १० प्रतिशत मात्र रेमिट्यान्स आउने गरेको रेमिट व्यवसायीहरु बताउँछन् । विशेष गरी दक्षिण कोरिया, बेलायत, हङकङ र अस्ट्रेलियाबाट आउने रकम हुन्डीमार्फत नेपाल भित्रिने गरेको छ । कानुनी जटिलताको कारण ती देशहरुमा हुन्डीको कारोबार फस्टाउदै आएको छ । अवैधानिक रुपले भित्रिएको रकमले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ ।

नेपालमा सम्पत्ति शुद्धिकरण निवारण विरुद्धको ऐन कार्यान्वयनमा आइसकेपछि हुन्डीबाट आउने रकम पनि कालो धनको रुपमा मानिदै आएको छ । हुन्डीमार्फत आएको पैसालाई भने आन्तरिक राजश्व विभागले कालो धनअन्र्तगत राख्ने गरेको छ ।

नेपालमा हुन्डीको कारोबार विशेष गरी ट्राभल्स ऐजेन्सी, म्यानपावर कम्पनी र मनी ट्रान्सफरहरुले गर्दै आएका छन् । राजश्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा हुन्डीको कारोबारमा बढीमा मात्रामा ट्राभल्स, मनि ट्रान्सफर, लज र म्यानपावर कम्पनीहरु यसमा बढी संलग्न रहेको पाइएको थियो । विशेषगरी काठमाडौंमा न्युरोड र सुन्धारा तथा नयाँ बसपार्क क्षेत्रमा हुन्डीको कारोबार बढी हुने गरेको विभागको अनुसन्धानले पत्ता लगाएको थियो ।

विभाग सम्बन्ध स्रोतका अनुसार, सुन्धारा तथा नयाँ बसपार्क क्षेत्रका होटल तथा तथा लजहरुमा ठूलो गिरोह हुन्डीको कारोबारमा संलग्न छ । विभागका एक अधिकारीले नाम नछाप्ने सर्तमा भन्छन्, ‘यसको कारोबारमा नाम चलेका कतिपय व्यक्ति समावेश भएको पाइएको छ ।’ नेपालभित्र पैसा भित्राउनका लागि मात्र नभएर पैसाबाहिर पठाउनका लागि पनि हुन्डीको प्रयोग गरेको छ । खासगरी नेपालबाट गैरकानुनी रुपले विदेशमा रकम पठाउन हुन्डीको प्रयोग हुँदै आएको छ ।

अहिलेसम्म हुन्डीबाट कति रकमको कारोबार हुने गरेको छ, त्यसको तथ्यांक भने अझै छैन् । दुई वर्षअगाडी नेपाल राष्ट्र बैंकले गरेको अनौपचारिक अनुसन्धानमा २१ अर्ब हुन्डीमार्फत बाहिर गएको अनुमान गरिएको थियो । व्यवसायीहरुले अर्बांै रुपैयाँ हुन्डीमार्फत गर्ने गरेका छन् । विशेष गरी सुरुमा तिव्वतको स्वशासित क्षेत्र खासा र हङकङसम्म सामान लिनको लागि जाने व्यापारिहरुमार्फत रकम हुन्डीमार्फत लैजाने गरेका थिए । २०७२ सालको भुकम्प पछि बन्द भएको तातोपानी भन्सार नाका अझै सम्म नखुलेपछि खासाबाट हुदै आएको हुण्डी कारोबार केरुङ नाकाबाट हुन थालको छ ।

नेपालको कानुन अनुसार, तोकिएको रकमभन्दा बढी रकम विदेश लैजान पाइँदैन । विभिन्न किसिमका परियोजना लगायतका क्षेत्रमा लगानी गरेका विदेशीहरुले पनि रकम विदेश पठाउने गरेका छन् । कानुनी रुपले मुनाफाको रकम विदेश लैजान पाउने व्यवस्था भए पनि करछली गर्नका लागि उनीहरुले यसबाट प्राप्त मुनाफा हुन्डीमार्फत बाहिर लैजाने गरेको पाइएको हो ।

अवैध कल बाइपास (भिओआइपी) मा संलग्नले कमाएको रकम बाहिर पठाउन हुन्डीको प्रयोग गर्ने गरेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीका) ले केही महिना अगाडि भिओआइपी मेसिनसहित चारजनालाई प्रक्राउ गरेपछि अवैध रकम पठाउन हुन्डीको कारोबार हुने गरेको तथा हुन्डीमार्फत करोडौँ रुपैयाँ विदेश पठाइएको खुलासा भएको थियो ।

सिआइबीका अनुसार, हुन्डीमार्फत बाहिर रकम पठाउनका लागि हङकङमा रकम पठाइने गरेको खुलासा भएको छ । पैसा पठाउन चाहने व्यक्तिले हुन्डी गर्ने ठाउँमा पैसा बुझाएपछि त्यहाँबाट इमेल वा एसएमएस गरेर पैसा पठाउनेको नाम र कोड नम्बरसहित रकम पैसा पठाइदिने ठाउँमा हुन्डीको कारोबारीले पठाइदिएका हुन्छन् । पैसा पाउने ठाउँमा रहेको स्थानीय एजेन्टले त्यो रकम घरैसम्म पनि पु¥याइदिने व्यवस्था गरेको हुन्छ । यसरी पैसा लगिदिए बापद एक लाख रुपैयाँ नेपालमा पठाउनु परेमा हुन्डीवालाहरुले १० हजार रुपैयाँ कमिसन लिने गरेका छन् ।

हुन्डी व्यवसायमा संलग्नहरु ठगीदा वा लुटिदा यसको उजुरी प्रहरीमा गरेका छैनन् । तत्कालिन समयमा काठमाडौंमा व्यवसायी पवन सारियाको ७५ लाख रुपैयाँ लुटिएको थियो तर उनले त्यसको उजुरी प्रहरीमा नगरेपछि हुण्डी कारोबार गर्नेबाटै सो रकम लुटीएको उनी निकट व्यक्तिहरु बताएका छन् ।
ट्राभल्स र मनि ट्रान्सफरको बोर्ड झुन्ड्याएर अवैध हुन्डीको कारोबार गर्नेहरुलाई राजश्व अनुसन्धान विभागले केही महिनाअगाडि छापा मारेको थियो । सुन्धारामा रहेका केही ट्राभल्स ऐजेन्सी र मनि ट्रान्सफरमा छापा मारे पनि विभागले अहिले भने अनुसन्धानलाई निरन्तरता दिइरहेको बताएपनि कारबाही भने गर्न सकेको छैन् । अनुसन्धानमा अपेक्षा गरे अनुसारको सफलता हासिल गर्न नसकेपछि अनुसन्धान प्रक्रिया अहिलेलाई स्थगित भएको छ ।

अन्य व्यवसायको नाममा राजधानीको विभिन्न स्थानमा स्थापना गरेको कार्यालयबाट लामो समयदेखि हुन्डीको कारोबार गर्नेहरुमा प्रदीप सरिया, गोविन्द सरिया, शोभा खरेल, मोहन अग्रवाल, पवन सरिया, दुर्गाबहादुर श्रेष्ठ (रुद्र), नारायण पौडेल, बच्चु पौडेल, राजेन्द्रकुमार श्रेष्ठ, हरि चिरानिया, राजु मालु, मदन केसी, कृष्ण ज्ञावाली, शिवरत्न पोछार, दिनेश श्रेष्ठ, अशोक श्रेष्ठ, नेत्रविक्रम पौडेललगायत रहेको अनुसन्धानबाट खुलेको छ ।

ट्राभल एन्ड टुरको कार्यालय स्थापना गरी तेस्रो मुलुक र भारत चीनमा हुन्डीको कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको समेत सिआइबीले जनाएको छ । ट्राभल्सको कारोबार गर्ने भन्दै खुलेका ट्राभल्स ऐजेन्सीहरु सिंगापुर इन्टरप्राइजेज सुन्धारा, धाख्वा विलिङ, मनकामना ट्राभल्स दरबारमार्गको इमिरेट्स ट्राभल्स सुन्धाराको युनिक ट्राभल्स एन्ड टुर्स एडभान्स मनी ट्रान्सफर र पशुपति मनी ट्रान्सफरबाट भारत चीन अस्ट्रेलिया दक्षिण कोरिया र खाडी मुलुकमा बढी मात्रामा हुन्डीमार्फत कारोबार हुने गरेका छन् । चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट पनि हुण्डीको कारोबार हुने अनुसन्धाबाट खुलेको छ । सो सहकारीबाट ५ करोड ९० लाख रुपैयाँ लिएर सहकारीमै काम गर्ने आफन्तमार्फत चाइनामा हुन्डीमार्फत पठाएको पाईएको आरोप समेत रहेको छ ।